धुलावारी । मेचीनगर–९ खुट्टीडाँगीकी सङ्गीता थापा सामाजिक क्षेत्रमा सक्रिय नाम हो । दर्जनभन्दा धेरै सामाजिक सङ्घसंस्थामा आबद्ध उनी ६ वटा संस्थामा अध्यक्षमा रहेर काम गरिरहेकी छिन् । ती सबै संस्थाहरु उत्तिकै क्रियाशील छन् । जसको सहज नेतृत्व थापाले गरेकी छिन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय सदस्य थापा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति, समाज सुधार महिला समूहकी अध्यक्ष, बुहारी जागृति समूहकी अध्यक्ष, समुदायमा आधारित वन सहजकर्ता सञ्जाल झापा अध्यक्ष, उपभोक्ता महिला कृषि सहकारीकी अध्यक्ष हुन् ।
उनी हरेक संस्थामा रहेर सक्रिय रुपमा काम गरिरहेकी छिन् । थापा सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएकी थिइन् । वि.स २०३९ फागुन ५ गते बुबा रोहितकुमार ढुङ्गाना र आमा लक्ष्मी ढुङ्गानाकी छोरी सङ्गीताको २०५५ सालमा खुट्टीडाँगीका गोविन्द थापासँग विवाह गरेकी थिइन् । उनकी १ छोरी १ छोरा छन् । धुलावारी माविबाट एसएलसी उत्तीर्ण गरेकी थापाले आइएसम्मको अध्ययन गरेकी छिन् ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरणका माध्यमबाट झापामा लामो समयसम्म विवादमा रहेका सरकारी जग्गा र स्थानीय उपभोक्ता बीचको समस्या समाधानका लागि उनको महत्वपूर्ण योगदान रहेको छ । जल, जङ्गल र जमिनका विवादलाई सहज रुपमा मिलाउनु उनको दैनिकी नै बनेको छ । उनी बिहानदेखि साँझसम्म सामाजिक क्षेत्रमै क्रियाशील रहन्छिन् । जसका लागि माकुरा समूह नै गठन गरेर स्थानीय स्तरमा भएका समस्यालाई निरन्तर लागि परेर समाधान गर्दै आएकी छिन् । जसमा १५ वटा विवाद रुपान्तरण भएका छन् । त्यसमध्ये केही मुद्दा कार्यान्वयनका लागि मन्त्रालयमा पुगेका छन् ।
वनको क्षेत्रमा लामो समयदेखि काम गरेकी थापालाई झापाका २५ वटा भन्दा धेरै सामुदायिक वनले सम्मान गरिसकेका छन् । यसैगरी, धुलाबारी जेसीजले प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कारबाट हालै मात्र सम्मान गरिएको थियो ।
‘यो सफलतामा मेरो घर परिवारको महत्वपूर्ण भूमिका छ,’ थापाले भनिन्, ‘सामाजिक काम गर्नका लागि घरको सहयोग हुनुपर्छ त्यसमा मेरो परिवारले ठूलो साथ र सहयोग गर्नु भएको छ । महिलालाई घरबाट काम गर्ने अवसर मिल्यो भने यो समाजका लागि केही गर्न सक्छन् । अवसर पाउनुपर्छ । त्यसमा आफु पनि लाग्नुपर्छ ।’
………