सक्षम र साझा पात्र चाहिन्छ

  प्रकाशित मिति
१० जेष्ठ २०७४, बुधबार १०:२९


chudamani sir

सार्वभौमसत्ता सम्पन्न जनतामा–जनताले, जनताद्वारा, जनताकै लागि गरिने शासन पद्धति नै प्रजातन्त्र (लोकतन्त्र) हो । शक्तिशाली जनतालाई गरिने शासन व्यवस्थामा जनतालाई सुख, सुविधा दिन र देश निर्माण एवम् समृद्ध बनाउनका लागि एउटा सशक्त माध्यम भनेको आवधिक निर्वाचन नै हो । यसै क्रममा निर्वाचन पद्धति र संसदीय शासन व्यवस्था प्रति पनि नेपालमा समय समयमा असन्तुष्टि प्रकट हुँदै आएको छ  । जसको फलस्वरुप नेपालमा पहिलो पटक २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । तर त्यसले आफ्नो कार्यभार पूरा गर्न सकेन र पुनः २०७० मा दोस्रो पटक संविधानसभाको निर्वाचन सम्पन्न भयो ।

लामो छलफल, वहस, अध्ययन र सुझाव सङ्कलन गरी नेपाली काङ्ग्रेसका सुशिल कोइरालाको नेतृत्वको सरकारले नेपालको संविधान घोषणा गर्यो । घोषणा त भयो, तर सँगसँगै केही मत मतान्तरको स्वरहरु उर्लिन थाले । जसका कारण देशमा अशान्ति र अमनचयनमा खलल पुग्ने गरी गतिविधि भए । त्यसमा धेरै जनता र राष्टूसेवकहरुले सहादत प्राप्त गरे । तथापि, सरकारले अविचलित हुँदै मत मतान्तरलाई सम्बोधन गर्न संविधान संशोधन गर्दै जाने र संविधानको कार्यान्वयन पनि गर्दै जाने मनसायले वर्तमानको नेपाली काङ्ग्रेसको समर्थनमा बनेको माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले कठिन चुनौतिका बाबजुद निर्वाचन घोषणा गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ, यसका निमित्त यो सरकार धन्यवादको पात्र छ ।

आसन्न जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनलाई दृष्टिगत गर्दा पहिलो चरणको निर्वाचनले दिएको जनताको मत पणिामले(जनता के चाहन्छन् ? उनीहरुको आवश्यकता के हो ? भन्ने जस्ता कुरा जनताले प्रष्ट रुपमा बुझेका रहेछन् भन्ने थाहा हुन्छ । यसैका आधारमा आसन्न निर्वाचनलाई प्रभाव पर्छ भन्ने कुरा यहाँ विचारणीय छ । जनताको मतको कदर गर्नु, राजनीतिक गठजोड गर्नु जस्ता कुरालाई पनि राजनीतिक दलहरुले समयमै नबुझी राम्रा मान्छेको सट्टा हाम्रा मानिसलाई छानेर उम्मेद्वारी दिँदा त्यसका परिणाम घातक पनि हुन सक्छ । त्यसैले समयमै विचार पुर्याउन उपयुक्त ठहर्छ ।

२०५९ सालमा राजा ज्ञानेन्द्रले गरेको शाही निर्वाचनको ढोंग पश्चात जनताले करीव डेढ दशकसम्म लामो समयसम्म आफ्नो अमूल्य मतको प्रयोग गर्न नपाएका जनता निर्वाचनका लागि अत्यन्त लालायित छन् । विकसित मुलुकमा राजनीतिक दल थोरै सङ्ख्यामा र धेरै जनता स्वतन्त्र र तटस्थ हुन्छन् । त्यसैले त्यहाँ बनिएको सरकारले आफ्नो निर्वाचित समयमा भए गरेका कार्यहरुको मूल्याङ्कन गरी सोही आधारमा जनताले मत दिन्छन् र सरका निर्माण हुन्छ । त्यहाँका राजनीतिक दलहरु जनताप्रति जवाफदेही हुन्छन् । आफुले गरेका कामका आधारमा पद त्याग्नु परे पनि नैतिकता र राजनीतिक धर्मिता ठान्दछन् । तर नेपाल जस्तो विकासोन्मुख देशमा ठिक विपरीत अवस्था छ । राजनीतिक दल बग्रेल्ती छन् र जनता स्वतन्त्रको सट्टा बढी भन्दा बढी राजनीतिक दलमा आवद्ध छन् । यहाँ राजनीतिक धर्मिता र निष्ठा गौण बनेको छ, अनि राजनीति पेशा र व्यवसाय जस्तै बनेको छ । सुरु हुन्छ तेरो र मेरो खेल, राजनीतिक विचलन, बेइमानी र धोकाधडी । फलस्वरुप देश अप्ठेरोमा पर्दछ, जनताका इच्छा र आकांक्षामा कुठाराघात हुन्छ ।

जनताका माझमा ठूला ठुला कुरा गर्नु भन्दा, यो र त्यो गर्छु भन्नु भन्दा नेपाललाई सिङ्गापुर बनाइ दिन्छु भन्नु भन्दा, रेल कुदाइदिन्छु र चुल्हा चुल्हामा ग्यास पाइप पुर्याइदिन्छु भन्नु भन्दा(तिम्रा गाउँमा खानेपानीको ट्युवेल र इनार खनिदिन्छु, गाउँमा सार्वजनिक शौचालय बनाइदिन्छु, बिजुलीको व्यवस्था गरिदिन्छु, हिँड्ने बाटो मर्मत गरिदिन्छु, विद्यालयको उचित व्यवस्था गरिदिन्छु, सिञ्चाइ नहरको व्यवस्था गराइदिन्छु भन्नु नि । निःशुल्क वितरण हुने स्वास्थ्य चौकीको औषधिको मात्रा बढाइदिन्छु, तिम्रो छोरा विदेश नजाओस्, सानो नै भए पनि गाउँमा उद्योग खोल्न पहल गर्छु जस्ता सक्ने र हुने काम गर्छु भन्नु नि ।

यस्तै कुराहरु घोषणापत्रहरुमा उल्लेख गर्नु र त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्ने सक्षम, योग्य, इमान्दार र समाजमा तटस्थ छवि बनाएको व्यक्तिलाई उम्मेद्वारी दिने हो भने त्यो दलको विजय निश्चित हुन्छ । स्थानीय तहको चुनावमा आस्थाको आधारमा मात्र प्रतिबद्ध व्यक्तिलाई उम्मेद्वारी दिइयो भने भोलि शासन सुव्यवस्थामा, न्यायोचित वितरण प्रणालीमा भेद हुन सक्छ । एकलौटी शासन प्रणालीको विकास र विकास निर्माणमा खाडल पर्ने छ । तसर्थ, हाम्रोभन्दा राम्रो र साझा व्यक्तित्व नै सर्वस्वीकृत बन्न सक्दछ । आसेपासे र धुपौरेले स्वार्थ सिद्धि र राजनीतिलाई धरापमा पार्दछन् । सबै दलले स्थानीयतालाई ध्यानमा राखी त्यहाँको आवश्यकतालाई पहिचान गरी कार्ययोजना निर्माण गरी व्यवहारमा लागू गर्न सक्ने इमान्दार, सक्षम र साझा पात्रको चयन गर्नु बुद्धिमानी हुने छ ।

हाल १५÷१६ बवर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकाय निकै स्वच्छन्द र स्वेच्छाचारी बनेको सबैमा छर्लङ्ग छ । विकास निर्माणका कुरामा भनसुन र एकलौटी संस्कारको विकास भएको, जनताका काममा वेवास्ता र डिलासुस्ती जस्ता चरित्रको विकास भएको, आफ्ना मान्छेलाई सहुलियत र अर्कोलाई वेवास्ता गर्ने, झुलाउने, दुःख दिने जस्ता चरित्र हावी भएको, मलाई आशिर्वाद छ भनी राजनीतिक खोल ओढेका, ठालू चरित्रदेखि जनता वाक्क भएको कटु यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । यस्तो संस्कारले भविष्यमा आफुलाई धोका हुने र साजनीतिक दललाई समेत घाटा हुने निश्चित छ । जनताको करमा रजाई गर्नु देश र जनताप्रति बेइमानी हो । अबको निर्वाचित स्थानीय सरकारले यस्ता अनियमितता र हाजिर गरेर जागिर पकाउने मानसिकतालाई बदल्नु र अनुशासित बनाउनु एउटा चुनौतिपूर्ण कुरा हो ।

स्थानीय तहको कर्मचारी व्यवस्थापनमा सक्षम, योग्य, इमान्दार व्यक्तिको छनौट पनि प्रमुख चुनौति हो । अझ गाउँ र नगरका उपप्रमुखको संयोजकत्वमा क्रमशः २ जना र ४ जनाको नगर सभासद्बाट न्याय गरी निर्माण हुने ३ सदस्यीय गाउँ न्यायिक परिषद् र ५ जनाको नगर न्याय परिषद गठन हुने हुँदा प्राज्ञिक व्यक्तित्वको छनौट पनि चुनौतिपूर्ण कार्य हो । सबै गाउँपालिका र नगरपालिकाहरुका प्रमुख र उपप्रमुखको एउटा जिल्ला समन्वय रहने छ । सो मध्ये ९ सदस्यीय (१ प्रमुख र १ उपप्रमुख )रहने गरी जिल्ला समन्वय समिति समेत गठन हुने छ ।

यस्तै यस्तै थुप्रै कार्य गर्ने गरी स्थानीय तहमा संविधानले २२ वटा कानूनको कार्यान्वयन गर्ने अधिकार सम्पन्न स्थानीय तहका निर्वाचित व्यक्ति पढेलेखेको, योग्य, सक्षम र इमान्दार हुनु पर्ने भएकोले उम्मेद्वारी चयनकै बेला राजनीतिक दलहरुले विशेष ख्याल गर्नु वाञ्छनीय हुन्छ ।

भन्ने गरिन्छ, जनता जनार्दन हुन् । यदि यस्तै हो भने जनतालाई सर्वोपरि ठानेर जनताका काम छिटो, छरितो र सर्वसुलभ तरिकाले गर्नुको सट्टा आस्था र निष्ठाको बिल्ला भिराएर, राजनीतिक चश्माले हेरेर एक पाखे काम राजनीतिक दल र तिनका समर्थकहरुले गरे भने सँधै झैँ जनता आज यतिजना यो पार्टीमा आए र यतिजना त्यो पार्टीमा गए भन्ने दल बदलको पहलु परम्परा र पार्टी फुट्ने र विलय हुने नियति सबै दलले भविष्यमा भोग्नु पर्ने छ । यदि यस्तो प्रथालाई रोक्ने वा न्यूनीकरण गर्ने हो भने सबै जनतालाई समान दृष्टिकोणका साथ प्रशासनिक कार्य र विकास निर्माणका कार्य न्यायोचित वितरण प्रणाली अवलम्बन गर्दा जनताको मन र मत जित्न बेर लाग्दैन । यसैले राजनीतिक दलको उत्थान र पतनको दिशा निर्देश गर्र्ने छ ।
(लेखक काँकरभिट्टा उमाविका निवृत्त प्राचार्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: