सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

  प्रकाशित मिति
२३ मंसिर २०७७, मंगलवार १६:४९


झापा, २३ मंसिर । नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरेका छन् ।

नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ । चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताउँदै आएको थियो, जुन उस्का अनुसार चट्टानको उचाइ थियो ।

नेपाल र चीनले मङ्गलवार संयुक्त रुपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन् ।

नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रुपमा प्रशोधन गरी अन्तिम रुप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो ।

नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो । सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान–चीन सिमामा पर्दछ ।

सगरमाथाको उचाइ नाप्न नापी प्राविधिक पहिलो पटक पुग्दैछन् टुप्पैसम्म बेइजिङ र काठमाडौँमा एकसाथ कार्यक्रम गरेर उचाइ सार्वजनिक गरिएको हो ।

नेपालका तर्फबाट उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, परराष्ट्र मन्त्रालय तथा नापी विभागका उच्च अधिकारीहरु सहभागी थिए ।

बेइजिङमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहित त्यहाँको नापी हेर्ने निकायका उच्च अधिकारीहरु समारोहमा उपस्थित थिए ।

उक्त विशेष समारोहमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपीङले सफलतापूर्वक उचाइ मापन गरिएको भन्दै बधाइ सन्देश साटासाट गरेको कुरा उक्त समारोहमा जानकारी गराइएको थियो ।

राष्ट्रपति भण्डारी सन्देश वाचन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको हिउँ सहितको नयाँ उचाइ सार्वजनिक गरेका थिए । भण्डारीले यसलाई ऐतिहासिक उपलब्धि भन्दै चीन र नेपाल दुवै सरकारलाई बधाई दिएकी थिइन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले दुइ देशको सगरमाथा नेपाल र चीनबीचको दीर्घकालीन मित्रताको संकेत भएको भन्दै विश्वको सर्वोच्च शिखरले दुई देशको सीमाको भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गरेका थिए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले नेपालले अपनाएको उचाइ मापन र सर्वेक्षण विधिबारे कार्यक्रममा प्रस्तुति दिएका थिए ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: