विर्तामोड । झापाका अनिस लुइँटेल सगरमाथाको सफल आरोहण गरेर काठमाडौँ फर्किएका छन् । ८ हजार ८ सय ४८ मिटर अग्लो संसारकै चुचुरो सगरमाथाको आरोहण गर्ने उनी पहिलो झापाली हुन् ।
उनले सगरमाथामा नेपालको संविधानसहित नेपाल स्काउट, नेपाल जेसीज, जिल्ला सहकारी सङ्घ झापा, जिल्ला बन उपभोक्ता महासङ्घ झापा, चन्द्रगढी सामुदायिक बन उपभोक्ता समिति, नेपाल चिया उत्पादक सङ्घ, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन लगायतका विभिन्न संस्थाका झण्डा पुर्याएका छन् ।
सगरमाथामा ‘नेपालको संविधान २०७२’ पुर्याउने उनी पहिलो व्यक्ति हुन् । आरोहण पछि सोलुखुम्बुबाट मङ्गलवार फर्किदा उनलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । स्काउट, जेसीज तथा राजनीतिककर्मीहरूले उनलाई त्रिभुवन एयरपोर्टमा अविर जात्रा गरी स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा झापाली युवा नेता विश्वप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो । नेपाल स्काउटले उनलाई एक समारोहविच स्वागत तथा सम्मान गरेको थियो ।
अनिस छिटै झापा फर्किने भएका छन् । उनलाई झापामा समेत भव्य अभिनन्दन तथा स्वागत गरिने भएको छ ।