अनिश भद्रपुर नगरको पहिलो सल्लाहकार

  प्रकाशित मिति
१३ जेष्ठ २०७५, आईतवार १७:५७


भद्रपुर । सर्वोच्च शिखर सगरमाथाका सफल आरोही झापा भद्रपुर निवासी अनिश लुइँटेललाई भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले सल्लाहकार मनोनित गरेका छन् ।

दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेर केही दिनअघि मात्र फर्किएका अनिशलाई आइतबार भद्रपुर नगरपालिकामा उल्लासपूर्वक स्वागत गर्दै नगर प्रमुख श्रेष्ठले नगरसभाको सल्लाहकारको रुपमा मनोनित गरेको घोषणा गरे । उनलाई विषविज्ञ सल्लाहकार मनोनित गरिएको नगरप्रमुख श्रेष्ठले बताए । नगरपालिकाको कामकारवाही अघि बढाउनेक्रममा सहजीकरणका लागि नगर प्रमुखले सल्लाहकार समिति गठन गर्नसक्ने संवैधानिक प्रावधान अनुसार सो समितिको पहिलो सल्लाहकारका रुपमा अनिशलाई मनोनित गरेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

‘नगर प्रमुखले सल्लाहकार मनोनित गर्न पाउने अधिकार प्रयोग गर्दै भाइ अनिश लुइँटेललाई उउटा विषयविज्ञको रुपमा नगर प्रमुखको सल्लाहकार मनोनित गरेको छु’, नगर प्रमुख श्रेष्ठले नगरपालिका सभाहलमा आयोजित संक्षिप्त समारोहमा सफल आरोही अनिशलाई बधाइ दिँदै भने– ‘तपाईंजत्तिको साहसी, शिक्षित, स्वयम्सेवी, विषयविज्ञ अनि राष्ट्रकै गौरव युवा व्यक्तित्वलाई भद्रपुर नगरपालिकाको सल्लाहकार बनाउन पाउँदा म पनि निकै हर्षित भएको छु ।’

नगरपालिकाको सामाजिक विकास शाखाका राजन न्यौपानेले सञ्चालन गरेको संक्षिप्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, उपस्थित दशवटै वडाका जनप्रतिनिधि, स्काउटकर्मी, नगरपालिकाका कर्मचारी एवम् नगरवासीले अनिशलाई फूल–माला, अबिर लगाएर सर्वोच्च शिखर सगरमाथा दोस्रोपटक सफल आरोहण गरेकोमा बधाइ दिए ।

अनिशले सगरमाथा आरोहणका लागि जाने सिलसिलामा भद्रपुर नगरपालिकाले स्वागतसहित सफल आरोहणका लागि शुभकामना दिनेक्रममा प्रदान गरेको राष्ट्रिय झण्डा सगरमाथाको चुचुरोमा फहराउको जानकारी दिए ।

‘चीनतर्फ निकै चुनौतीपूर्ण’
नेपालतर्फको दक्षिणी मोहडाभन्दा चीनतर्फको उत्तरी मोहडाबाट सगरमाथा आरोहण गनृ सजिलो हुने कुरा कसैको मुखबाट सुनेपछि अनिशले यसपटक उत्तरी मोहडाबाट नै सगरमाथा आरोहण गरेका थिए । तर, उत्तरी मोहोडा उनले सुनेजस्तो सजिलो रहेनछ । आफूलाई नेपालतर्फको भन्दा चीनतर्फको आरोहण चुनौतीपूर्ण लागेको अनिशले बताए । भद्रपुर नगरपालिकाले आफूलाई बधाइ दिन आयोजना गरेको समारोहमा उनले यसपटकको सगरमाथा आरोहणको यात्राक्रम सुनाउँदै भने– ‘नेपालतर्फको भन्दा चीनतर्फको बाटो र हावापानी निकै कठिन र चुनौतीपूर्ण रहेको मैले अनुभव गरेँ ।’ उनले नेपालतर्फबाट आरोहण गर्दा आफूले दुईवटा शव देखेको तर चीनतर्फबाट आरोहणका क्रममा ६ वटा शव देखेको बताउँदै भने– ‘उत्तरतर्फकै बाटो चुनौतीपूर्ण छ भन्ने कुरालाई यसले पनि पुष्टि गर्छजस्तो लाग्छ मलाई ।’

उनले आफूलाई सल्लाहकारमा मनोनित गरेकोमा तथा सगरमाथा आरोहणका लागि जानेक्रममा पनि र आउँदा पनि आफूलाई दर्शाएको सम्मान र मायाप्रति भद्रपुर नगर प्रमुख श्रेष्ठलगायत नगरपालिका परिवारलाई धन्यवाद दिए । ‘तपाईंहरुको हौसला र मायाले मलाई सगरमाथा चढ्न आत्मबल बढाएको थियो’, उनले भावुक हुँदै भने– ‘फेरि, तपाईंहरुको यो अपार माया र सम्मानले मलाई हामीजस्ते युवाका लागि केही अनुकरणीय काम गर्न प्ररित गरेको छ ।’ यद्यपि, उनले अझै पनि युवालाई देशमै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्न राज्य असफल भइरहेको उनको गुनासो थियो । उनले आफू स्काउटको तर्फबाट एक वर्षका लागि वेलायत जाने बताउँदै फर्किएपछि भद्रपुरमै बसेर राष्ट्रलाई योगदान पुर्याउने आफ्नो चाहना रहेको बताए ।

भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविका प्रधानाध्यापक शिवराम लुइँटेल र कमला पौडेल लुइँटेलका सुपुत्र साहसी युवा अनिशले बेसक्याम्बाट आरोहण शुरु गरेको ६ दिनमा पूरा गरेका थिए । ‘बैशाख १० गते आधरा शिविरबाट हिँडेको थिएँ, १४ गते चुचुरोमा पुगेँ । १६ गते फर्किएँ’, अनिशले भने– ‘चढ्न चार दिन लाग्यो, ओर्लिन दुई दिन ।’

यसअघि पहिलोपटक ०७२ बैशाखमा सगरमाथा आरोहणका लागि त्यसतर्फ गएका अनिश बैशाख १२ गते नेपालमा ठूलै भूकम्प गएपछि बेसक्याम्पबाटै फर्किएका थिए भने ०७३ जेठमा दोस्रोपटक आरोहणमा सफल भएका थिए । जेठ ८ गते वेसक्याम्पबाट आरोहण शुरु गरेका उनी सगरमाथाको चुचुरोमा पुगेर १० गते वेसक्याम्पमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: