धुलाबारी । सञ्जीवनी महिला बिकास संस्था मेचीनगर–९, को आयोजनामा गरिएको दश दिने नेतृत्व बिकास तालिम शनिवार सम्पन्न भएको छ ।
महिला तथा वालवालिका कार्यालय झापाको सहयोगमा सञ्चालित तालिममा महिलाहरुका लागि कानूनी शिक्षा, माईन्युट लेखन, उद्घोषण, भाषण कला, समूहको महत्वलगायतका बिषयमा सहजीकरण गरिएको संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् ।
मेचीनगर साकोसको सभाहलमा सम्पन्न तालिमको कार्यक्रममा बक्ताहरुले महिलाको क्षमता बिकास गर्न सकिए मात्र समाज समृद्ध बन्ने बताएका थिए । सञ्जीवनी महिला बिकास संस्थाकी अध्यक्ष डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कानून ब्यवशायी चन्द्रा श्रेष्ठ, दिपक भण्डारी, ठाकुर प्रसाद शिवाकोटी, ज्ञानेन्द्र निरौला, लिला अनमोल, सिता पोखरेल, अस्मिता खरेललगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
मेचीनगर क्षेत्रका ७० भन्दा बढी महिलाहरुको सभागिता रहेको तालिम अवधि भर मेचीनगर नगरपालिका कार्यालयका सामुदायिक अधिकृत अनन्तप्रकाश वस्ती, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, रेडियो बिराटका प्रबन्ध निर्देशक लिला अनमोल, ठाकुर शिवाकोटी, दिपक भण्डारी र चन्द्रा श्रेष्ठले सहजीकरण गरेको संस्थाकी सचिब निर्मला काफ्लेले जानकारी बताइन् । तालिम चैत ११ गतेदेखि शुरु भएको थियो ।