सडकमा ढल बग्दा डेढ बर्षदेखि मुक्तिचोक दुर्गन्धित

  प्रकाशित मिति
२९ फाल्गुन २०७६, बिहीबार ०८:३२


अम्बिका भण्डारी
भद्रपुर (रासस) । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोड नगरपालिकाको मुक्तिचोक डेढवर्षदेखि फोहोरको ढल सडकमा बगेर दुर्गन्धित भएको छ । तर सरसफाई गर्नेतर्फ कसैको ध्यान पुगेको छैन ।

दिनहुँ हजारौं यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने विर्तामोडको मुक्तिचोक महेन्द्र राजमार्ग र भद्रपुर तथा अर्जुनधारा जोड्ने सडकको चौबाटो हो । चोकबाट दक्षिणतिर भद्रपुर जाने सडकको मुखैमा दुर्गन्धित ढल सडकमा बग्ने गरेको छ । जहाँ गाडी र पैदलयात्री त्यहीँ ढलबाट निस्किएको पानी छिचोल्दै आउजाउ गर्न बाध्य छन् ।

गाडीले ढलको पानी छ्याप्दै हिँड्ने गरेकाले आफुहरुले नाक थुनेर बस्नु परेको मुक्तिचोक दक्षिणतिरका व्यापारीहरुको गुनासो छ । ‘छि भन्दै ग्राहकहरु तर्किने गर्छन्,’ स्थानीय कपडा पसले युवराज ओली भन्छन्–‘नगरपालिका, खानेपानी र वाणिज्य संघ सबैलाई भनिसक्यौं, कसैले समस्या सुनेनन् ।’

विर्तामोड –४ स्थित सबैभन्दा ठूलो व्यापारिक भवन हनुमान सेन्ट्रल, थापा मार्केटलगायत इलाका प्रहरी कार्यालय पश्चिमका दर्जनौं घर तथा व्यापारिक प्रतिष्ठानबाट निस्कने फोहोरमिश्रित पानी ढलमा जाम भएर म्ुक्तिचोकको सडकमा बगेको हो । होटल, बेकरी लगायतबाट निस्कने सडेगलेको खाद्यबस्तु नालीमा जाम भएर सडकमा निस्कदा दिसापिसाबजन्य फोहोरझैं दुर्गन्ध फैलिने गरेको छ ।

डेढ वर्ष अघि विर्तामोडको भद्रपुररोडमा पुनर्निमाणका लागि डोजर चलाउँदा ढलको निकास अवरुद्ध भएको थियो । त्यसपछि अवरुद्ध ढलको दुर्गन्धित फोहोरपानी ओभरफ्लो भएर मुक्तिचोकमै बग्न थालेको विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डे स्वीकार गर्नुहुन्छ ।

ढल अवरुद्ध भएर मु्क्तिचोक गन्हाएको बारेमा जानकार नगरपालिका समेत यति लामो अवधिसम्म रमिते बनेकोमा स्थानीयवासी आक्रोशित छन् । सोही दुर्गन्धित सडक पार गरेर नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतरा, प्रवक्ता अग्नी पाण्डेलगायतका जनप्रतिनिधि दिनहुँ नगरपालिका कार्यालय ओहोरदोहोर गर्छन् ।

स्थानीय व्यवसायी युवराज ओलीले हनुमान सेन्ट्रलले सेफ्टी ट्याङ्कीबाट ओभरफ्लो भएको दुर्गन्धित फोहोर ढलमा मिसाएको र त्यसले मुक्तिचोकमा समस्या निम्त्याएको आरोप लगाए । पीडित व्यवसायीहरु यो समस्याको समाधानका लागि हनुमान सेन्ट्रलको व्यवस्थापन, वडा कार्यालय र नगरपालिका कार्यालय पुगिसकेका छन् । ढल निकासको उचित व्यवस्था नगरिए दुर्गन्धका कारण रोगव्याध फैलिने त्रासमा छन् स्थानीय ।

हनुमान सेन्ट्रलका व्यवस्थापक प्रेम मैनाली आफ्नो व्यापारिक प्रतिष्ठानको बेकरी, होटल, हातधुने ठाउँ लगायतबाट निस्कने पानी सडकको ढलमा मिसाइएको स्वीकार गरे तापनि शौचालयको फोहोर मिसाइएको आरोप भने गलत भएको बताए ।

‘हाम्रो बिल्डिङको अन्डरग्राउन्ड सेफ्टी ट्याङ्कीबाट दुई दुई महिनामा लेदोजन्य फोहोर निकालेर अन्यत्रै बिसर्जन गरिदै आएको छ,’ उनी भन्छन्–‘नालीमा कुहिएका खाद्यवस्तुले दुर्गन्ध निम्त्याएको हो, ट्वाइलेटको ओभरफ्लो मिसाउने गैरजिम्मेवार कामको कल्पना समेत गर्न सकिदैन ।’ जतिसक्दो चाँडो ढलको निकास दिने कार्य अघि बढाउँदा समस्याको समाधान हुने जनाउँदै त्यस्तो कार्यमा हनुमान सेन्ट्रल सघाउन तयार रहेको सेन्ट्रलका व्यवस्थापक मैनाली बताए ।

विर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव मेघराज बाँस्तोलाले आफ्नो समितिले पानी र त्यससँग जोडिएको सरसफाई हेर्ने बताउनुभयो । ढलको निकास समितिको कार्यक्षेत्रभित्र नपर्ने उनको भनाई छ । मुक्तिचोकको सडकमा बगिरहेको ढलको फोहोरमा खानेपानीको पाइप नमिसिएको उनले जानकारी दिए ।

विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले आगामी असार महिना लाग्नुभन्दा अघि नै ढल निकासको व्यवस्था गरेर मुक्तिचोकको दुर्गन्ध हटाउने नगरपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: