मेचीनगर, २२ वैशाख । झापाका ८ जना सडकबासी असहाय महिलालाई प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा आज उद्धार गरी विराटनगर लगिएको छ ।
कोरोना संक्रमणको उच्च जोखिम र लकडाउन भएका बेला सडकमा असुरक्षित रुपमा बस्दै र सुत्दै आएका उनीहरुलाई उपचार तथा आश्रय प्रदान गर्नका लागि उद्धार गरिएको राज्यमन्त्री गजमेरले बताएकी छन् । अधिकांश उनीहरु मानसिक सन्तुलन गुमाएको अवस्थामा छन् ।
विर्तामोडबाट २ जना, मेचीनगरबाट ५ जना र अर्जुनधाराबाट एक जनालाई सडकबाट उद्धार गरी स्थानीय तहको एम्बुलेन्समार्फत विराटनगर लगिएको हो ।
उनीहरुको कोरोना परीक्षण गरिने र त्यसपछि संक्रमण भए उपचारमा लगिने र रोग नभए वृद्धा आश्रममा राखिने बताइएको छ ।
उद्धार गरिएकाहरुमा विर्तामोडकी देविका थारु, कुन्ती खतिवडा र अर्जुनधारा–५ मा बस्दै आएकी सन्तोषी दनुवार रहेका छन् भने मेचीनगर क्षेत्रबाट ५ जना महिलाको उद्दार गरिएको हो ।
सडकमा असुरक्षित रुपमा बस्दै आएका ती महिलाहरुलाई लकडाउनमा सामाजिक अभियन्ता तथा प्रहरीहरुले खानाको व्यवस्था मिलाउँदै आएका थिए ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरका यो अभियानमा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई र मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीसले साथ दिएका छन् । मेचीनगरका पत्रकार खगेन्द्र घिमिरेले समेत उद्धारमा सघाएको राज्यमन्त्री गजमेरले बताइन् ।
उद्धार गरिएका महिलालाई विराटनगरस्थित मानव सेवा आश्रममा लगिएको एवीसी नेपालका झापा संयोजक कञ्चना ढकालले जानकारी दिएकी छन् ।
उनीहरुको कोरोना परीक्षणका लागि सोमवार नै स्वाब संकलन गरिएको छ ।