भद्रपुर, ३० कात्तिक (रासस) ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिबन्धित विप्लब समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन् ।
झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभाको उद्घाटन सत्रमा आज बोल्दै उनले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लब समूह समेत लागेको स्मरण गराउँदै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताए ।
‘मैले यस अघि नाम उच्चारण नगरी भन्थे, आज नामै उच्चारण गर्दै भन्छु,’, संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेम्वाङले भने, ‘आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनुहोस् ।’
हतियार र हिंसाको राजनीति त्यागेर संसद्मा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने अवसरको उपयोग गर्न आग्रह गर्दै उनले भने ‘व्यक्ति मन परेन व्यक्ति फेर्नुहोस्, अहिलेका पार्टी काम लाग्दैनन् भने नयाँ पार्टी खोल्नुहोस्, तर सडकबाट हुँदैन, संसद्मा आउनुहोस् ।’–––