।। अम्बिका भण्डारी ।।
झापा, २९ असार (रासस) । चारआली– केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको भानुभक्तको शालिक सडकमै हराएको छ ।
मिल मर्चेन्ट एशोसिएसन नामक संस्थाले वि.सं. २०२४ मा स्थापना गरेको शालिकको अस्तित्व सडकका कारण हराएको हो । तत्कालीन समयमा सो संस्थाले सडकमा भानुको स्मारक राखेपछि ठाउँको नाम नै भानुनगर नामकरण गरिएको थियो ।
शालिकको अनावरण नाट्य सम्राट बालकृष्ण समले गरेको बरिष्ठ पत्रकार गोपाल गिरीले जानकारी दिए । उनले भानु स्मारकलाई विगतमा फलामे घेराबारा लगाउने र रंगरोगनको कार्य भद्रपुर नगरपालिकाले गरेको बताए । सडकको स्तरोन्नतिसँगै बीच सडकमा बनाइएको शालिक हाल सडकभन्दा पनि तीन फुट गहिरो स्थानमा रहन पुगेको छ ।
भानु स्मारकको संरक्षण देवकोटा स्मृति भवनले गर्दै आएको भवनका अध्यक्ष राजेन्द्र चापागाईले बताए । “सडकको स्त्तरोन्नतिसँगै स्मारक पुरिदै गएको छ”, उनले भने “तत्काल अग्लो स्मारक बनाएर त्यही शालिक राख्नुको विकल्प छैन । स्थानीय पालिकासँग कुरा भइरहेको छ ।”
अध्यक्ष चापागाईले भानु स्मारक भद्रपुरको इतिहास भएकाले यसलाई अयन्त्र सार्ने वा यसको अस्तित्व मेट्ने काम गर्न र नगराउन सबैसँग आग्रह गरे । उनका अनुसार विगतदेखि नै भद्रपुर नगरपालिका भरिका साहित्यानुरागीहरु, बृद्धिजीवी र स्थानीयवासीले असार २९ गते भानुभक्तको जन्मजयन्तीको अवसर पारेर शालिकमा माल्यार्पण गर्ने, भानुभक्तको गुणगान गाउँदै कविता बाचन गर्दै आएको बताए । उनले यसपाली पनि भव्य कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
उनले चालु आर्थिक बर्ष २०७८÷०७९ मै भानुको शालिकलाई अग्लो स्मारक बनाएर राख्नका लागि पहल सुरु गरेको बताए । उनले शालिक बनाउँदा सो सडकको नाम मेचीराजमार्ग रहेको र सडकको आकार पनि सानो रहेको जानकारी दिए । अध्यक्ष चापागाई भन्छन्, “तत्कालीन समयमा सडक भन्दा अग्लो भानुको शालिकसहितको स्मारक बनाइएको थियो ।”
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भाषा, कला साथै साहित्यका धरोहरहरुको पुरानो इतिहासलाई मेटिन नदिने, त्यसको संरक्षण र सम्बद्र्धनमा नगरपालिकाले पहल गर्ने बताए । उनले दबिएको भानुको स्मारकलाई बजेट व्यवस्थापन गरेर अग्ल्याउने काममा पालिका लागि पर्ने बताए । “सबैसँगै छलफल गरेर यसको व्यवस्थापन हुन्छ”, उनले भने ।
शालिकलाई बीच सडकमा भन्दा पनि उपयुक्त ठाउँको व्यवस्थापन गरेर स्थानतरण गर्नु उपयुक्त हुने हुलाकी सडक डिभिजन कार्यालयका इन्जिनियर प्रमोद खतिवडाको भनाई छ । उनले बीच सडकमा भएको शालिकका कारण दुर्घटनामा धेरैले ज्यान गुमाइरहेको उदाहरण दिँदै स्थानीय तहले अन्यत्रै व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
“कुनै बेला सडकमा देशका महान व्यक्तिहरुको शालिक बनाउने चलन थियो, सवारी साधानको भीडभाड हुँदैन थियो”, उनले भने “अहिले जनसंख्याको बृद्धिसँगै सडकमा सवारी साधानको बृद्धि भएको छ । सडकहरु फराकिला बनाइदैछ तर पनि बीच सडकमा शालिकलाई राख्नु भन्दा निश्चित स्थानमा पार्क बनाएर राख्दा राम्रो हुन्छ ।”