सडक खुल्यो, पहिरो खस्ने जोखिम उस्तै

  प्रकाशित मिति
५ श्रावण २०७६, आईतवार २२:०८


फिदिम । पहिरो झरेपछि अवरुद्ध बनेको मेची राजमार्गको राँके–फिदिम खण्ड आइतवारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. ३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरुद्ध बनेको मेची राजमार्ग बल्ल आंशिक रुपमा खुलेको हो ।

प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रुपमा सडक खुलेको हो । यद्यपि सडकभन्दा माथि अझै ठूलो परिमाणमा पहिरो रहेकाले विशेष सतर्कताका साथ सवारी आवत–जावतको व्यवस्था मिलाइएको प्रजिअ वस्तीले बताए ।

पाङ्ग्रेभिरमा सडकबाट स्काभेटरले भेटेसम्म पहिरो हटाउने कार्य सकिएसँगै आइतवार करीब पाँच दर्जन सवारीले पहिरो पार गरेका थिए । पहिरोको वारिपारि रोकिएका पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कृषि उपज बोकेका सवारी साधन पार गराइएको प्रजिअ वस्तीले जानकारी दिए ।

‘सडकमाथि ठूलो परिमाणमा पहिरो अडिएको छ । कतिबेला झर्छ भन्ने टुङ्गो हुँदैन’, प्रजिअ वस्तीले भने–‘झरेको पहिरो पन्छाउँदै सवारी आवागमन सञ्चालन गर्ने प्रयत्न भइरहेको छ ।’

पहिरो जुनसुकै बेला झर्न सक्ने भएकाले दुई वटा स्काभेटर तयार अवस्थामा राखिएको छ भने आवश्यक सतर्कताका लागि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सडकलाई दिउँसो मात्रै सञ्चालन गर्ने तयारी गरिएको छ । ‘पहिरो झरिसक्न कैयौँ दिन लाग्ने देखिन्छ । ठूलो वर्षा भए अझै पहिरो खस्न सक्छ’, प्रजिअ वस्तीले भने–‘रातको समयमा सडक सञ्चालन गर्न तत्काल सम्भव छैन ।’

जिल्ला विपत व्यवस्थापन समिति पाँचथरले पाँचथर र इलाममा उपलब्ध सम्पूर्ण स्रोत र साधनको उपयोग गरेर सडक सञ्चालन गर्ने प्रयत्न गरिरहेको उनको भनाइ छ ।

यस्तै पहिरोबाट सडक लामो समय अवरुद्ध हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै यहाँ नौ किलोमिटर लामो वैकल्पिक सडक स्तरोन्नतिको कार्य शनिबारदेखि शुरु भएको छ ।

मेची राजमार्गको गुम्बाडाँडाबाट निवु खोला हुँदै राँके बजार जोड्ने उक्त सडकको स्तरोन्नतिको कार्य अघि बढाइएको प्रजिअ वस्तीले जानकारी दिए ।
उक्त सडकको ४÷५ किलोमिटरमा साना सवारीका साधन निर्बाध सञ्चालन भए पनि बाँकी खण्डमा वर्षाका कारण समस्या भएकाले ढुङ्गा सोलिङ थालिएको छ । उक्त सडक सोमबारसम्ममा सञ्चालनमा आउने प्रजिअ वस्तीको भनाइ छ ।

पाङ्ग्रेभिरमा बुधबार राति पहिरो झरेपछि बिहीवार, शुक्रबार र शनिबार सवारी आवागमन ठप्प भएको थियो । यात्रुहरुले करीब ३० मिनेट पैदल यात्रा गरेर करीब एक किलोमिटर मुनिबाट पहिरो पार गर्दै आएका थिए ।

पहिरोको दुवैतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुुर्याइरहेका थिए । पहिराका कारण पाँचथर, ताप्लेजुङ र पूर्वी तेह्रथुममा उत्पादित कृषि उपज सवारीका साधनमै कुहिने अवस्था आएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: