सडक नबन्दा मेची पुल सञ्चालन भएन

  प्रकाशित मिति
९ कार्तिक २०७५, शुक्रबार १७:०५


भद्रपुर (रासस) । नेपालको पुरानो सहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुल निर्माण भएको बर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

हुलाकी राजमार्ग निर्माण परियोजनाले रु. ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाई र ११ मिटर चौडाई भएको पक्की पुलको निर्माण एक वर्ष अघि नै सम्पन्न गरेको छ ।
तर, पुलसम्म जानका लागि वारि र पारि दुबैपट्टि सडक निर्माण नभएको कारण मेची पुल सञ्चालनमा आउन नसकेको हो ।

वारि र पारि दुबैपट्टि पक्की सडकले जोडेर मेची पुललाई छिटो सञ्चालनमा ल्याउनु पर्ने दुबै देशका बासिन्दाको माग छ ।

हुलाकी राजमार्ग परियोजनाले जनाए अनुसार नवनिर्मित पुललाई हुलाकी राजमार्गको प्रस्थान विन्दु झापाचोकमा जोड्नका लागि नेपालतिर एक हजार ३०० मिटर सडक बनाउनु पर्ने भएको छ ।
भद्रपुर नगरपालिकाको वडा नं. ५ मा बनेको सो पुलको मेची नदी पूर्व र पश्चिम दुबैतिरको पुरै भाग नेपाली भूमिमा पर्ने भएको हुँदा पुल र सडक बनाउने जिम्मेवारी समेत नेपालकै हो ।
भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की नेपाल सरकारले पश्चिमतिरको अब बन्ने सडक क्षेत्रमा रहेका घर तथा जग्गाहरुको मुआब्जा दिन ढिलाईं गरिरहेको कारण पुल र हुलाकी मार्ग जोड्ने सडक निर्माणमा बिलम्ब भइरहेको बताउँछन् ।

नवनिर्मित पुलबाट २९० मिटरभित्र परेका भद्रपुर भन्सार कार्यालयसहित ४२ घर तथा जग्गाको मुआब्जा भने सरकारले दिइसकेको बताइएको छ । भन्सारको मुख्य भवन र अन्य निजी घरहरु अब बन्ने सडक सीमाभित्र पर्ने भएकाले ती संरचनाहरु भत्काउन थालिएको छ ।

तर २९० मिटरभन्दा पश्चिमतिरका ३६ परिवारका जग्गा तथा घरहरुलाई भने सरकारले मुआब्जा अझैसम्म नदिएको मुआब्जाका लागि गठन भएको सङ्घर्ष समितिका अध्यक्ष इन्द्रकान्त झा बताउँछन् ।

मेची पुलको पूर्वी किनारमै नेपाल–भारत सीमाको नजिकै १०१ नम्बर स्तम्भ रहेको छ । भारततिर करीव ५०० मिटरसम्म सडकको कुनै ट्रयाक समेत कोरिएको छैन ।
पुलको पूर्वी भाग नेपाल र भारतको सीमा क्षेत्रमा मात्र नभएर भारतकै पश्चिम बङ्गाल र विहार प्रान्तको समेत सीमा क्षेत्र भएकाले पुललाई बिहार कि बङ्गाल कसको सडकसँग जोड्ने भन्ने विवादको अझैसम्म टुङ्गो लाग्न सकेको छैन ।

पूर्वी भागमा १०० मिटर सडक नेपालले बनाउने र अरु सडक भारतको सीमाभित्र भएकाले उतैबाट निर्माण हुनु पर्ने प्रदेश सांसद बसन्त बानियाँ बताउँछन् ।
‘नेपालतिर बनाउनु पर्ने सडकको मुआब्जा विवाद समाधान नजिक पुगिसकेको छ’, प्रदेश सांसद बानियाँ भन्छन्–‘भारततिर बिहार वा बङ्गाल जता जोडे पनि पुलबाट सडक सीधारेखामा हुनु पर्छ भन्ने हाम्रो भनाई हो ।’

बिहारतिर सडक लैजाँदा दशगजा क्षेत्रबाट ५०० मिटर जति दक्षिण भादगाउँ घुमाउनु पर्ने हुन्छ भने भादगाउँबाट गलगलिया पुग्न कार मात्र गुड्न सक्ने साँघुरो पक्की सडक अहिले पनि छ ।
तर पुलको मुखबाटै सडकलाई घुमाउँदा लामो र ठूला सवारीको आवागमनमा कठिनाइ हुन सक्ने आशङ्का भएकाले सीधा भादगाउँ जोड्दा उपयुक्त हुने सुझाव भारतीय पक्षलाई आफुहरुले दिएको प्रदेश सांसद बानियाँले बताए ।

सीधा पूर्वतर्फ सडक लैजाने हो भने पश्चिम बङ्गालको धेरै भूभागबाट विहार जोड्ने सडक निर्माण गर्नु पर्ने हुन्छ ।

भन्सार, रेल्वे, बस टर्मिनल, बजार लगायतका सुविधा विहारको गलगलियामा रहेको कारण पुल जोड्ने सडकलाई बङ्गाल हुँदै लैजान विहारका बासिन्दा इच्छुक नरहेको गलगलियाका व्यवसायी रामकिशन यादव बताउँछन् ।

पुलको पूर्वी भागबाट करीव सय मिटरमा रहेको भारतीय सशस्त्र सीमा वल पश्चिम बङ्गालका सहायक उपनिरीक्षक कैलाश सिंह पटियालले बिहार, पश्चिम बङ्गाल र नेपालको त्रिकोणात्मक विन्दु नजिकै पुल बनेको जनाउँदै सडक कताबाट लैजाने भन्ने जानकारी आफुहरुलाई नभएको बताए ।

सडक विहार वा पश्चिम बङ्गाल जताबाट लगे पनि छिटो पुल सञ्चालनमा आउनु पर्ने पुलकै छेउमा दोकान थापेर व्यवसाय गर्दै आउनु भएको बिहार चुडली बेसरपट्टि ग्राम पञ्चायतका ६० वर्षीय मोहम्मद मजरुल हक बताउँछन् ।

मेची पुल निर्माणका लागि भद्रपुरबासीले ६ दशक लामो कसरत गरेको हुँदा अब छिटै पुल सञ्चालनमा ल्याएर व्यापारिक गतिविधि बढेको हेर्न भद्रपुरबासी आतुर रहेको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ बताउँछन् ।

उनले पुलको पूर्वी किनारबाट झापाचोकसम्म जोड्ने हुलाकी सडक निर्माणका लागि सडकक्षेत्रमा परेका सबै जग्गा र भौतिक संरचनाको मुआब्जा दिलाउन नगरको बोर्ड बैठकले निर्णय गरी नेपाल सरकारसमक्ष माग पुर्याइसकेको जानकारी दिए ।

पुल बने लगत्तै व्यापारिक गतिविधि बढ्ने भएकाले सरकारले भद्रपुरको छोटी भन्सारलाई स्तरोन्नति गरी गत साउनदेखि छुट्टै भन्सार कार्यालयको मान्यता समेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: