सडक सुरक्षामा हाम्रो दायित्व

  प्रकाशित मिति
२० माघ २०७४, शनिबार १५:२४


मानव सभ्यताको विकासको सन्दर्भमा सडक अर्थात् बाटोको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पृथ्वीको उत्पत्ति र जीवनको सुरुआती चरणदेखि हालसम्मको क्रममा हिँड्डुल, आवतजावतका लागि बनाइएका मानव निर्मित गोरेटा, घोरेटा, मार्ग, पथ र राजमार्गहरु विकासका बाहक हुन् । सामान्यतयाः सडक बाटोको समुन्नत र स्तरीय रुप हो । सडक भन्नाले तोकिएको मापदण्ड पुगेको स्तरीय पक्की कालोपत्रे मार्गलाई जनाउँछ ।
सुरक्षा शब्दले आफ्नै रक्षा वा टिकाउपनलाई सङ्केत गरेको छ । सडक सुरक्षाले सामान्य अर्थमा हेर्दा अवस्था र आयुको सङ्केत गर्दछ भने व्यापक अर्थमा सडक सुरक्षाले भौतिक सम्पत्तिको हानी नोक्सानीबिनै सडकको उचित प्रयोग बुझाउँछ । हुनत सडकको प्रयोग मानव सभ्यताको सुरुआतदेखि हालसम्म निरन्तर रुपमा भइरहेको छ ।

अझै पनि सडक प्रयोगकर्ताहरु सभ्य सुसंस्कृत तरिकाले सडक प्रयोग गर्न अभ्यस्त भइनसकेको अवस्था विद्यमान छ । सभ्यताको विकास क्रममा स्थापित जल र आकाश मार्गहरुको तुलनामा सडक मार्ग व्यापक र विस्तृत रहेको कुरा समेत यहाँनेर स्मरणीय छ ।

हाम्रो जस्त भूपरिवेष्ठित राष्टूको लागि भने सडक यातायातलाई नै समग्र विकासको मेरुदण्डको रुपमा लिनुपर्ने बाध्यता रहेको छ । अतः सडक प्रयोगकर्ताको ज्ञानको तहको अभिवृद्धि गरी सडक सुरक्षाको वर्तमान स्थितिमा व्यापक परिवर्तन ल्याउन सम्भव छ । यो सम्भावनाको बाहक हामी बिद्यार्थीहरु नै हौँ । यसको कुनै विकल्प छैन । सुधारको विकल्प अझ बढी सुधार मात्रै हो ।

विकासका पूर्वाधार चेतनाको सम्वाहकका रुपमा रहेका सडक विकासका सन्दर्भमा थुप्रै चुनौती र सम्भावनाहरु देखिन्छन् । सडकले विकास त ल्यायो तर दुर्घटना र सन्त्रास पनि निम्त्यायो । अतः सडक सुरक्षामा हामी विद्यार्थीहरु सचेत रहनु आवश्यक छ ।

सुरक्षाका उपायहरु
सडक प्रयोगकर्ताहरुमा सचेतना
टूाफिक नियमको जानकारी तथा पालना ।
समय सापेक्ष मर्मत, सुरक्षा र स्तरोन्नति ।
पशु चौपायहरुको नियन्त्रण ।
सवारी साधन र सडक प्रयोगकर्ताहरुमा अनुशासन र नियमको पालना ।
सडक पेटी र नालीको प्रबन्ध र सडक बत्ती आदिको व्यवस्था ।
नागरिक समाज र गाउँपालिका र नगरपालिकाको प्रत्यक्ष संलग्नता ।
फोहोर व्यवस्थापन ।
सवारी साधन रोक्ने र चढाउने ।
यात्रु बिसौनी र बाटो काट्ने जेब्रा क्रस आदिको व्यवस्था आदि ।
रोगी, अशक्त, असहाय, फरक क्षमता भएका मानिसका लागि विशेष बाटो काट्ने स्थान हुन आवश्यक छ ।
सवारी चालकहरुमा उच्च सीपयुक्त क्षमता हुनुपर्छ ।
सवारी साधनहरु पनि आधुनिक प्रविधियुक्त र मापदण्ड पूरा गरेका हुनुपर्छ ।

विद्यार्थीले के गर्ने ?

आजको विद्यार्थी भोलिको देश हाँक्ने नेता, कार्यकर्ता हो । असल नागरिक निर्माणमा ऊ आफै अगुवा हुने भएकाले हामी विद्यालय उमेर समूहका विद्यार्थी र कलेज, विश्वविद्यालयका उमेर समूहका विद्यार्थीले सडक सुरक्षाप्रति आवश्यक चासो लिन जरुरी छ ।
हरेक घरमा सानाठूला विद्यार्थी एक÷एक जना हुन्छन् । अतः उसैले सडक सुरक्षाको नेतृत्व गर्न सकेमा राज्यभर आफै स्वचालित सञ्जाल निर्माण हुन्छ । विद्यार्थीले सामाजिक रुपमा सञ्चार प्रविधिको उपयोग गरेर सडक उपयोग गर्दा आफै उचित अनुचित छुट्याई सम्यक प्रयोगकर्ता बनेर अगाडि आउनुपर्छ ।

समाज परिवर्तनका लागि चाहिने क्रियाशील उमेर समूहका हामी विद्यार्थीले प्रचलित नियम कानुन र सडक सुरक्षाका उपायलाई हस्तक्षेपकारी प्रयासका माध्यमले अघि बढाउन चाहेमा सक्छौँ र सडक सुरक्षामा अभिबृद्धि भई सडक बरदान हो, अभिसाप होइन भन्ने वास्तविकतालाई उजागर गर्न सकिनेछ । यसका लागि हामी सबै विद्यार्थीले अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने सोचेर अघि बढ्न जरुरी छ ।
सडकको प्रयोगमा सरकारी निकायहरुमा समन्वयको जरुरी देखिन्छ । खानेपानी कार्यालयले पाइप बिछ्याउन जथाभावी सडक खन्ने, नेपाल टेलिकम र विद्युतले सडक किनारामा जथाभावी पोल खडा गर्ने र तार बिछ्याउने, चोक बाटाहरुमा स्थायी संरचनाहरु बनाउने जस्ता कार्यहरुमा सुधार गरी एक अर्का निकायका बीचमा समन्वय गर्नु जरुरी छ ।

ढल निर्माण र स्तरोन्नति जस्ता कार्यमा अभिबृद्धि गर्न सडक विभागले सडकको निर्माण, मर्मत, सुधार र स्तरोन्नति गर्दा तोकिएका मापदण्ड पूरा गर्न अधिकतम् प्रयत्न जरुरी छ ।

हामीमा रहेका सङ्कुचित विचार वा संस्कारका कारणले हामी हाम्रो घरको कोठा सफा गरेर आँगनमा र आँगन सफा गरेर सडकमा फोहोर फाल्छौँ, अनि आफूलाई सभ्य र ठालु ठान्छौँ । हामीमा रहेको यो भावना जरैदेखि उन्मूलन गर्न जरुरी छ ।

घरभित्रबाट निस्केको फोहोर सडकपेटीमा फाल्ने हाम्रो खराब आदतलाई समेत परिवर्तन गर्न जरुरी छ । यो कामको अगुवाई पनि हामी विद्यार्थीले नै गर्न सक्छौँ । यसका अलवा बजार वा पसल जाँदा स्थायी प्रकारको झोला बोक्ने, प्लास्टिकजन्य वस्तुको प्रयोग नगर्ने बानी हामीले नै विकास गरेको खण्डमा सडक सुरक्षामा अभिवृद्धि गर्न सकिने छ ।

सामान्य मानवीय उत्सर्जन क्रिया निर्लज्ज ढङ्गले सडक पेटीमा गर्ने, थुक, सिगान, खकार फाल्ने जस्ता हेर्दा र सुन्दा सामान्य लाग्ने कार्यहरु मात्रै रोक्न सकेमा पनि यस कार्यमा सफलता प्राप्त हुनेछ । व्यस्त चोक बजारमा निर्माण कार्य गर्दा निर्माण सामाग्री र मेसिन औजारहरुलाई जथाभावी राखी प्रयोग गर्ने हाम्रो मनमौजी स्वभावलाई पनि बदल्नु जरुरी छ । सडक नै छेक्नेगरी राखिने ठूलाठुला सूचनामूलक सङ्केत पाटी (होर्डिङ बोर्ड) ले दूरदृष्टि छेक्ने हुँदा यस्ता कुरामा समेत पर्याप्त ध्यान पुर्याउन जरुरी छ ।

सडक, घुम्ती, कुइनेटाहरुमा राखिने सडक सङ्केत तथा चिन्हहरुको यथोचित प्रयोग गर्ने, पुराना सवारी साधनहरु प्रदूषण मापन गरेर मात्र उपयोग गर्ने जस्ता कार्यमा समेत विचार पुर्याउन जरुरी छ ।

अन्त्यमा, म एक्लैले गरेर के हुन्छ र ? भन्ने हीन भावना नराखी एक थुकी सुकी हजार थुकी नदी भनेझैँ एक÷एक गरी सबल बने अवश्य नै सुधार गर्न सकिन्छ । सडक सुरक्षा हाम्रो दैनिक जीवनको अपरिहार्य आवश्यकता भएको हँुदा यसतर्फ हामी विद्यार्थीले नै चनाखो बनेमा चेतनाको दियो बाल्न सकिन्छ । नेल्शन मण्डेलाले भनेझैँ सबै कुराको परिवर्तन गर्ने साधन शिक्षा हो । शिक्षाको प्रयोग उचित ढङ्गले गर्न सकियो भने असम्भव कुरालाई पनि सम्भव तुल्याउन सकिन्छ ।

(रेग्मी बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा कक्षा–१२ मा पढ्छिन् । )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: