सताक्षी गोल्डकपमा झापा ११ नखेल्ने

  प्रकाशित मिति
२९ माघ २०७६, बुधबार २१:०५


शिवसताक्षी । यही फागुन ३ गतेदेखि हुने भनिएको तेश्रो संस्करणको ‘सताक्षी गोल्डकप २०७६’ एक दिनपछि धकेलिएको छ ।

एन्फाले जारी लिगको कारण देखाउँदै फागुन ४ गतेबाट सुरु गर्न आयोजकलाई भनेको छ । फागुन ३ गते लिगको अन्तिम खेल हुँदैछ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

झापा झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता फागुन ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

भारतको एकसहित आठवटा टिम सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।

आयोजकले खेल मैदान सम्याउने र जस्ताको घेराबारा लगाउने काम सम्पन्न गरेको छ ।

अघिल्ला संस्करणभन्दा उत्कृष्ट र भव्य बनाउन दर्शक प्याराफिट पनि मजबुद र स्तरीय बनाइएको आयोजकले दाबी गरेको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको हो ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही ११ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जीलिङको एमएफसीले सहभागिता जनाउने तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।

प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

शिवसताक्षी नगरपालिकाको संयोजनमा हुने तेश्रो संस्करणको प्रतियोगिताका लागि नगरपालिकाले १० लाख प्रदान गरेको छ ।

नगर प्रमुख चन्द्रकुमार शेर्माले बोर्ड बैठकबाट बहुमतले निर्णय गर्दै सताक्षी गोल्डकपका लागि १० लाख भुक्तानी दिने निर्णय भएको बताए ।

प्रतियोगितामा झापा ११ समावेश नभएको विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । आयोजकले झापा ११ टिमका पहिलो रोजाइका खेलाडी ‘ए’ डिभिजनका टिममा अनुबन्ध भएकाले खेलाडी तेश्रो संस्करणको प्रतियोगितामा अन्य टिमबाट खेल्ने समितिका उपाध्यक्ष तामाङले बताए ।

झापा ११ प्रतिष्ठित टिम भएपनि पहिलो रोजाइका अधिकांश खेलाडी काठमाडौंका ‘ए’ डिभिजनका टिममा समावेश भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: