मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचार अभियान यतिवेला तीब्र छ । राजनीतिक दल र तीनका उम्मेद्वार मतदातालाई आफ्नो पक्षमा पार्न दैनिक करीब १८ घण्टा चुनावी अभियानमा नै व्यस्त देखिन्छन् । झापामा पनि चुनावी अभियानमा दलहरु कम्मर कसेर लागेका छन् । नयाँ संविधानले गरेको व्यवस्था अन्तर्गत प्रादेशिक संरचना पछिको पहिलो निर्वाचन भएकाले पनि यसले निक्कै महत्व बोकेको छ । निर्वाचनकै सेरोफेरोमा हेर्दा पाँचवटा क्षेत्रमध्ये झापाको निर्वाचन क्षेत्र नं. १ को विगतलाई फर्केर हेर्न मन लाग्यो । खासगरी यो क्षेत्रमा विगतमा उम्मेद्वार भएर जितेका र हारेका नेताहरुको अहिलेको अवस्था कस्तो छ भनेर एकपल्ट विगत र वर्तमानलाई जोड्न मन लाग्यो । २०४८ सालको आम निर्वाचनमा झापाको अहिलेको निर्वाचन क्षेत्र नम्वर १ त्यो बेलाको तीन नम्वर क्षेत्र थियो । एमालेबाट राधाकृष्ण मैनाली उम्मेद्वार हुनुहुन्थ्यो, काँग्रेसबाट चक्र बाँस्तोला । अन्य राजनीतिक दलका उम्मेद्वारका बारेमा मलाई स्मरण छैन । सायद चर्चा यी नै दुईको धेरै थियो होला त्यस बेला । त्यसताका कक्षा ७ मा पढ्दै गरेको मेरा लागि मत हाल्न नपाए पनि चुनाव नौलो विषय थियो ।
त्यसबेला राधाकृष्ण मैनालीको अलि बढी चर्चा भएको मेरो सम्झनामा छ । त्यो बेला अहिलेको जस्तो राजनीतिक हार्दिकता थिएन । न त चुनावका बेला सामाजिक हार्दिकता नै थियो । एमाले सम्बद्धहरु नाङ्लो र गाग्रीमा सूर्य बनाएर नारा जुलुस गरेको देखिन्थ्यो भने काँग्रेसजनहरु रुखका सेउला हातमा लिएर हिँडेको देखेको थिएँ ।
चुनावपछि मत परिणाममा राधाकृष्ण मैनालीले अत्याधिक मतले जित हासिल गर्नुभयो । राधाकृष्ण मैनालीले चुनाव जितेपछि कार्यकाल सकिन नपाउँदै क्षेत्रलाई माया मारे । त्यसपछिका निर्वाचनमा मैनालीलाई कहिले देख्न पाइएन । राधाकृष्णलाई चिन्ने जान्नेहरुका अनुसार राधाकृष्णलाई क्षेत्र फर्केर नजानुमा कुनै पश्चताप छैन । अहिले उहाँ काठमाडौँको सितापाइलास्थित आफ्नै घरमा कुण्ठाग्रस्त जिन्दगी बिताइरहनु भएको छ । त्यसपछि २०५४ को निर्वाचनमा अर्का पात्र आउनु भयो देवी ओझा । राधाकृष्णकै हाराहारीमा उहाँको चर्चा गरियो त्यसताका निर्वाचन अवधिभर । चुनाव जितेर पार्टीको प्रमुख सचेतक समेत हुनु भएका ओझाले आफूले जितेको क्षेत्रमा भने माखो मारेनन् । राजनीतिक जीवनबाट लगभग अस्ताउनु भएका उहाँ न त एमालेमा नै हुनुहुन्छ, न त यस क्षेत्रमा आउने हिम्मत नै गर्नुहुन्छ । राधाकृष्ण र देवी ओझा दुवैले केही गरेनन् किनभने उनीहरु यो जिल्लाका थिए । तर, यस क्षेत्रका थिएनन् । उहाँहरु अहिलेको चलनचल्तीमा भन्दा पाहुना (टुरिस्ट) नेता थिए । जित्ने त क्षेत्रमा आएनन् आएनन्, हार्नेहरु पनि आएनन् । यस क्षेत्रबाट विगतका निर्वाचनमा काँग्रेसका चक्र वाँस्तोला, गोपाल बस्नेत र तत्कालीन मालेवाट पुष्प पोखरेल उम्मेद्वार बनेर हारे, तर उनीहरु त्यसपछि कहिले पनि क्षेत्रमा आएनन् । किनभने उहाँहरु पनि पाहुना नै हुनुहुन्थ्यो । बरु क्षेत्र नम्वर १ कै स्थायी बासिन्दा भएर ०५६ को आम निर्वाचनमा सासंदको निर्वाचनमा पराजय व्यहोर्नु भएका तथा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मेचीनगर प्रमुखमा चुनाव हार्नु भएका एमालेका बिष्णु प्रसाई अझै पनि यही क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ । त्यसपछि यो क्षेत्रवाट ०५६ मा काँग्रेसका नरेन्द्रविक्रम नेम्वाङ, ०६४ मा माओवादीका धर्म घिमिरे र ०७० मा एमालेका रवीन कोइरालाले चुनाव जित्नुभयो । ०६४ सालको निर्वाचनमा माओवादीको पक्षमा देश व्यापी आँधी जसरी आएको निर्वाचन परिणाममा सांसद बन्नु भएका धर्म घिमिरे आज आँधी जसरी नै बिलाउनु भएको छ । घिमिरे कहाँ हुनुहुन्छ सायद माओवादीलाई नै थाहा छैन । पूर्व सांसद घिमिरेले राजनीतिबाटै सन्यास लिइसकेको हो या होइन यस क्षेत्रका जनता बेखबर छन् र उहाँले के–के गर्नुभयो त्यसको सम्झनासम्म पनि स्थानीयलाई छैन ।
अव बाँकी रहे, काँग्रेसका नरेन्द्रबिक्रम नेम्बाङ र एमालेका रवीन कोइराला । नेम्बाङ र कोइरालाले स्थानीय नागरिकका लागि विकासका केही प्रयास शुरु गरेकै हो । तर, उहाँहरु निरन्तर क्षेत्रका उम्मेद्वार बन्न नसकेपछि उहाँहरुले शुरु गर्नु भएका असल प्रयासहरुको निरन्तरता नहुने खतरा पैदा भएको छ । तर ठूलो कुरा के हो भने चाहे जितून् या हारुन् नेम्वाङ र कोइराला क्षेत्र नम्वर १ बाट भागेका छैनन् । धुलावारी पुगे नरेन्द्र नेम्वाङ भेटिनुहुन्छ भने अलि पूर्व काँकरभिट्टा पुगे रविन कोइरालासँग चिया गफ गर्न सकिन्छ । किनभने उहाँहरु पाहुना होइनन् । गाली खाए पनि क्षेत्रमै खानुहुन्छ, तारिफ पाए पनि क्षेत्रमै पाउनु हुन्छ । क्षेत्र नम्वर १ का जनताको जन्तीमा होस् या मलामीमा होस्, नेम्वाङ र कोइराला आज पनि भेटिनु हुन्छ । २०७०को दोस्रो संविधान सभा निर्वाचनमा एमालेबाट रविन कोइराला र काँग्रेसबाट विश्वप्रकाश शर्मा उम्मेद्वार बन्नुभयो । कोइराला मेची किनारका हुनुहुन्थ्यो भने शर्मा निन्दा किनारका । या भनौँ दुवैले झापा क्षेत्र नंं १ कै पानी खानु भएको थियो । त्यो बेला यसले जित्नु पर्छ या यसले हार्नुपर्छ भन्ने विषयले चर्चा पाएन । किनभने उहाँहरु दुवैजना यसै क्षेत्रका स्थानीय नै हुनुहुन्थ्यो । बरु घर, श्रीमती, छोराछोरी र दाजुभाई सबै धुलाबारीमा नै भएका विश्वप्रकाशले अलि बढी काठमाडौँ बसेकै भरमा त्यसबेला सुरुका दिनमा टुरिस्ट उम्मेद्वारको उपमा पाउनु भयो ।
अहिले यो क्षेत्रमा काँग्रेसवाट उनै विश्वप्रकाश शर्मा मैदानमा हुँदा बाम गठबन्धनले उठाएको छ माओबादी केन्द्रका नेता सुरेन्द्र कार्कीलाई । ओखलढुङ्गामा जन्मेर सिन्धुलीलाई कर्मथलो बनाउनु भएका, २०६४ को पहिलो संविधान सभा निर्वाचनमा ताप्लेजुङबाट काँग्रेसकै सूर्यमान गुरुङसँग चुनाव हार्नु भएका, त्यसपछि ताप्लेजुङ फर्केर नगई ०७० सालको निर्वाचनमा ओखलढुङ्गाबाट समानुपातिक उम्मेद्वार बन्नु भएका उनै सुरेन्द्र कार्की वा राम कार्की वा पार्थ बाम गठबन्धनका उम्मेद्वार भएर आउनु भएको छ । ०६४ को निर्वाचनमा देशैभर माओवादीको जितको लहर चलेको बेला कार्कीले ताप्लेजुङबाट चुनाव हार्नुभयो ।
अहिले झापा क्षेत्र नम्वर १ मा कार्कीलाई ल्याएपछि उहाँ यस्तो, उस्तो, अति राम्रो, साह्रै राम्रो भन्न थालिएको छ । सुरेन्द्र कार्की बाम गठवन्धन बनाउन सक्रिय रहनुभयो होला । अध्ययनशील नेतामा चिनिनु हुन्छ, विचारक हुनुहोला, त्यो सबै ठिक छ । तर, झापाको क्षेत्र नम्वर १ का लागि कार्कीको कुनै योगदान छैन र भविष्यमा पनि दिन सक्ने आधार अहिलेसम्म देखिएको छैन । कार्की निकटवर्तीहरुका अनुसार उहाँ समयलाई व्यवस्थापन नगर्ने र छिटो छिटो बिर्सने गर्नुहुन्छ ।
झापा क्षेत्र नम्बर १ को विकासको अवस्थालाई नियालेर हेर्ने हो भने चित्त बुझाउन सकिदैन । त्यसको एउटै कारण हो यो क्षेत्रले आफ्नो स्थायी प्रतिनिधि कहिल्यै पाएन । पटकपटक पाहुना नेताहरुले जितेर जाने अनि स्थानीयले जिते पनि अर्को चुनाव आउँदासम्म फेरि नयाँ मान्छे उम्मेद्वार बनेर आउने अवस्थामा पनि यो क्षेत्रका जनताले पटक–पटक मतदान गर्नु पर्यो । स्थायी प्रतिनिधि भएकै कारण आज झापा क्षेत्र नं. ५ मा केपी शर्मा ओलीले अरबौँको लगानी भित्र्याउनु भएको छ । त्यस्तै देशका अन्य भू–भागलाई हेर्ने हो भने पनि स्थायी प्रनिनिधिका रुपमा निर्वाचन जितेका नेताहरुले आफ्नो क्षेत्रको विकास राम्रै गरेको देख्न पाइन्छ ।
अघिल्लो सरकारमा सुरेन्द्र कार्कीले सञ्चार मन्त्री हँुदा बुझाएको सम्पत्ति विवरणमा भक्तपुरमा १९ आना जग्गा, ओखलढुङ्गामा चार रोपनी जग्गा, १० तोला सुन र १४ लाख रुपैयाँ बैङ्क व्यालेन्स उल्लेख गरिएको छ । झापा क्षेत्र नम्वर १ वाट उम्मेद्वारी दिएपछि बुधवारेमा जग्गा छ भनेर जनतालाई ढाँटे पनि सम्पत्ति विवरणमा त्यो उल्लेख गरिएको छैन । सम्पत्ति विवरणमा कार्कीले भारतको दार्जीलिङमा दुईवटा घर भएको उल्लेख गर्नु भएको थियो । त्यसकै कारण मन्त्री हुँदा एमालेको युवा संगठन युवा संघ नेपालको व्यापक आलोचना खेप्नु भएका कार्की भारतीय भएको भनेर एमाले कार्यकर्ताले नै धेरै प्रचार गरेका थिए । सुरेन्द्र कार्कीको सम्पत्तिका अगाडि बरु विश्वप्रकाश सर्वहारा देखिनुहुन्छ । राजनीतिमा लागेर विश्वप्रकाशले सम्पत्ति जोड्ने होइन, बरु भएको पुर्खौली सम्पत्ति बेचेर जीवन चलाइरहनु भएको छ ।
सुरेन्द्र कार्कीले माओवादी द्वन्द्वको समयमा मेची अञ्चलमा काम गरेको भनेर प्रचार गरिएको छ त्यो सत्य पनि हो । तर, उहाँलाई नजिकबाट चिन्नेहरु उहाँ त्यो समय धेरै सिक्किममा बस्नु हुन्थ्यो भन्छन् । कार्कीकी श्रीमती भारतको सिक्किम राज्य सरकारको उच्च अधिकारी रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँगको सम्बन्धका कारण कार्कीको सम्बन्ध नयाँ दिल्लीसम्म पनि छ । तर, संसदीय सुनुवाइको क्रममा भारतीय कम्युनिस्टसँग सम्बन्ध विस्तार गर्छु भनेपछि हातमा आइसकेको भारतका लागि नेपाली राजदूत पदबाट कार्कीले हात धुनु परेको थियो । एमाले अध्यक्ष ओलीले डटेर भारतको नाकाबन्दीको प्रतिवाद गरेको बेला कार्कीले चीनसँगको नाका खोल्नै हुँदैन, पर्यावरण बिग्रन्छ भनेर ठाउँ–ठाउँमा बोल्न भ्याउनु भएको थियो । त्यो बेला कार्कीको बोलीको चर्को विरोध गर्नेहरु युवा संघ नेपालका कार्यकर्ता थिए ।
त्यसैले पनि झापा क्षेत्र नं. १ विगतदेखि नै पाहुना उम्मेद्वारबाट पीडित बनेको छ । पिल्सिएको छ । भन्नलाई राष्ट्रिय नेताको देश नै आफ्नो क्षेत्र हो भनेर प्रचार गरिए पनि आखिर घर त घर नै हुन्छ । मिल्ने साथीको घरलाई आफ्नो घर भन्न सकिदैन र नजिककै पाहुना आए भन्दैमा आफ्नो राखन धरन भएको दराजको ताला चाबी जिम्मा लगाउन सकिदैन । सुरेन्द्र कार्की व्यक्तिगत रुपमा मेरो पनि नेता हो । किनकि उहाँ देशको नेता हो तर यो क्षेत्रको बासिन्दा भएकाले मलाई भ्रम छैन कि उहाँ मंसिर २१ पछि पनि निरन्तर यसरी नै यो क्षेत्रका घरदैलो घुम्नु हुन्छ । तर, २०७० को निर्वाचन हारे पनि विश्वप्रकाश यही क्षेत्रको धुलोमाटोसँगै रहे र यहीँको विकासमा क्रियाशील बनिरहे । त्यसैले पाहुना उम्मेद्वारलाई गरिएको देवत्वकरणबाट पिल्सिएको झापा क्षेत्र नम्वर १ ले चाहे जुनसुकै राजनीतिक दलको भए पनि आफ्नै क्षेत्रको स्थानीय उम्मेद्वार जिताएर देखाउनुपर्छ । नत्र पुरानै रोग बल्झिन्छ, अनि यो क्षेत्रका लागि अर्को दुर्भाग्य दोहोरिन्छ ।