सन्थाल समुदायकै एक मात्र लेखापाल

  प्रकाशित मिति
४ कार्तिक २०७३, बिहीबार १२:०८


sunita-5-1दुहागढी । ‘शिक्षा आर्जन गर्न सकेकै कारण आज म यो अवस्थामा आइपुगेकी छु’–दुहागढी गाउँ विकास समितिकी लेखापाल सुनिता सोरेनको भनाइ हो यो ।
दुहागढी गाविसको कार्यालय पुग्नेहरूले सुनितालाई गाविसको कम्प्युटरमा आम्दानी र खर्चको हिसाव राख्न व्यस्त भइरहेको भेट्ने छन् । किनकि, उनी कार्यालयको आर्थिक पाटोको जिम्मेवारी वहन गर्ने मुख्य कर्मचारी हुन् । बिर्सनै नहुने तथ्य के छ भने उनी आदिवासी सन्थाल समुदायबाट सरकारी निकायमा नियुक्त भएकी औँलामा गन्न सकिने उच्च तहकी राष्ट्रसेवक पनि हुन् ।
देशभरमा स्थानीय निकायमा दुई जना मात्र कर्मचारी कार्यरत छन् । जसमध्ये उनी एक हुन् भने अर्का व्यक्ति उनकै पति जिसु मुर्मु । जिसु कनकाई नगरपालिकामा खरिदार पदमा कार्यरत छन् ।

अति गरीव र राज्यको हरेक निकायमा अति कम प्रतिनिधित्व गर्ने समुदायमा सन्थाल पहिलो लहरमै आउँछ । शिक्षाको अवसर नपाउँदा सिङ्गो समुदाय नै वहिष्करणमा परेको लेखापाल सुनिताको ठम्याई छ । त्यसैले त उनी आफ्ना बारेमा जान्न चाहनेलाई भन्ने गर्छिन्–‘आज म जुन ठाउँमा छु, त्यसको एउटै कारण शिक्षा हो ।’

नेपाली, अङ्ग्रेजी, हिन्दी र सन्थाल भाषामा लेख्न र पढ्न सक्ने क्षमता भएकी सुनिता दुहागढी–२ को त्यस्तो सन्थाल परिवारमा जन्मिन्, जुन परिवारै शिक्षित थियो । सुनिताका वुवा मातल सोरेनले एसएलसी पास गरेका छन् भने आमा उमा सोरेनले पनि कक्षा ८ पास गरेकी छन् ।

आम सन्थालहरूमा शिक्षा र चेतनाको अभाव छ । विपन्नता र विभेदको पहाडले सिङ्गो समुदाय थिचिएको छ । तथापि, सुनिताले सानैदेखि पढ्ने कुरामा प्रोत्साहन पाइन् र त्यसै अनुरुप पढाइमा सफलता पाउँदै गइन् । उनको मावलका हजुरवुवा रामचन्द्र मर्डी त पुहाँतु जनज्योति माविमा शिक्षण समेत गर्थे ।
एसएलसीसम्मको शिक्षा पुहाँतु जनज्योति माविबाट पूरा गरेपछि सहिद दशरथ उमावि चारआलीबाट उनले कक्षा ११ र १२ पास गरिन् । अहिले उनी त्रिदेव क्याम्पस चारआलीबाट स्नातक छिचोल्दैछिन् ।

शिक्षक, सेना, प्रहरी जस्ता अन्य क्षेत्रमा थुपै्र सन्थालले रोजगारीको अवसर पाएका छन् । शिक्षक बन्न एसएलसी पास शैक्षिक योग्यता चाहिए पनि सुरक्षा निकायमा त्यति धेरै योग्यता आवश्यक पर्दैन । निजामती सेवा भने हालसम्म समुदायबाट विश्वदीप बेस्राले मात्र अधिकृतको रुपमा काठमाडौँमा जागिर गरिरहेका छन् । राजनीतिमा भने माओबादीका मोहन टुडु पहिलो सांसद रहेका छन् ।

समुदायकै उदाहरणीय महिलाको रुपमा चिनिएकी सुनिता शिक्षामा जोड दिन समस्त सन्थाल समुदायलाई आग्रह गर्छिन् । उनी जागिरबाट फुर्सद निस्कनासाथ गाउँ पसेर आफ्नो समुदायका नानीहरूलाई पढ्न हौसला थप्ने गर्छिन् ।
पढ्दै जाने क्रममा सुनिताले शिक्षक बनेर राष्ट्र र समुदायको सेवा गर्ने सोचाइ बनाएकी थिइन् । भन्छिन्–‘ठिकै छ जागिर खोज्दै जाँदा पहिलैचोटीमा लेखापाल मिल्यो, यसैमा म रमाएकी छु ।’

राजगढ–५ घर भएका उनका पति जिसु रेडियोकर्मी पनि हुन् । उनले धुलावारीको रेडियो सरगममा समाचार सम्पादकको जिम्मेवारी सम्हालेका थिए । हाल सन्थाल समुदायकै सञ्चारकर्मी तलु बास्के विर्तामोडको आरम्भ रेडियोमा कार्यरत छिन् ।
सुनिता र जिसु दम्पतिको एक छोरा छ । सुनिताका एक वहिनी र २ जना भाइले पनि एसएलसी पास गरिसकेका छन् ।

सुनिता अति मेहेनती र कर्तव्यपरायण भएको दुहागढी गाविसका सचिव कविन्द्रविक्रम नेम्वाङ बताउँछन् ।

‘उहाँको मिलनसार र इमान्दार स्वभावले गाविसबासी पनि खुशी छन्’, सचिव नेम्वाङ भन्छन्–‘सुनिताजी सन्थाल समुदायको मात्र नभएर समस्त महिलाकै उदाहरण हो ।’

मिलनसार, परिश्रमी र संस्कृतिप्रेमी सन्थाल समुदाय झापाको भूमिपुत्र मानिन्छन् । जतिबेला अहिलेको आवादी क्षेत्र पटेर जङ्गल थियो, जताततै मलेरियाले सताउँथ्यो–त्यसबेला सन्थालहरू झापाली समथर भूमिमा खनीखोस्री अन्न फलाउँथे । शिक्षा र आर्थिक रुपमा पछाडि परे पछि त्यो समुदाय लोपोन्मूख अवस्थामै पुग्यो । खनीखोस्री गरेको जमिन अर्कैले नम्वरी बनाएको समेत पत्तो नपाएका कयौ सन्थाल पलायन भएर पुख्र्यौली थलो भारतको डुम्कातिर भासिए । त्यस्तो कहालिलाग्दो विगत भोगेर आएका उनीहरू अहिले विस्तारै शिक्षा र अर्थोपार्जनको क्षेत्रमा अघि बढ्न थालेका छन् ।

उज्यालो भविष्यतर्फ समुदायलाई डोहोर्याउने रोलमोडलको रुपमा सुनिता पनि एक हुन् । उनी सन्थाल समुदायको प्रेरणाकी मुहान हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: