सन् २०१७मा नहुने भो खुल्ला दिसामुक्त

  प्रकाशित मिति
१६ भाद्र २०७४, शुक्रबार १६:३०


बिर्तामोड । सन् २०१७ भित्र झापालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना असफल हुने भएको छ ।

सरसफाइ प्रवर्धनका लागि राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ अन्तर्गत झापामा सञ्चालित अभियान तोकिएको समयमा सफल हुन नसक्ने भएको हो ।
सन् २०१७ सकिन अब चार महिनामात्र बाँकी छ । झापाका कतिपय गाउँपालिकाहरुमा ४० प्रतिशत परिवारले मात्र मापदण्ड पुगेको शौचालय प्रयोग गर्ने गरेका छन् । तीनवर्ष अघिदेखि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान सुरु गरिएको भएपनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन ।

राष्ट्रिय अभियानको रुपमा रहेको खुल्ला दिसामुक्त अभियानले विहीवार बिर्तामोडमा पत्रकारसँग अन्तरक्रिया गरी झापामा ८१ प्रतिसत मात्र खुल्ला दिसामुक्त भएको जनाएको छ ।

ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रम÷यूएन ह्याविट्याटको सहयोगमा चारवटा साझेदार संस्थाले साविक २१ गाविस र चारवटा नगरपालिकामा खुल्ला दिसामुक्त अभियानको सहजीकरणको थालनी गरेका छन् ।

सहारा नेपाल, सगरमाथा सामुदायिक विकास केन्द्र, विराट अध्ययन केन्द्र र मानव विकास केन्द्रले जिल्लाका दक्षिणी भेग तथा भद्रपुर नगरपालिका र अर्जुनधारा नगरपालिकाले आफ्नै नगरपालिकामा अभियानको सहजीकरण गर्दै आएको जनाइएको छ ।

झापाको दक्षिणी भेगमा भने अभियानलाई प्रभावकारी बनाउनु पर्ने बाध्यता रहेको डि–वास सीसीका फोकल पर्सन रुद्रप्रसाद न्यौपानेले बताए । उनले अभियानको निरन्तर अनुगमन भइरहेको बताए । ‘स्थानीय तहको निर्वाचनले पनि अभियानलाई असर गर्यो,’ फोकल पर्सन न्यौपानेले भने–‘बाढीले गर्दा झन् यो अभियान प्रभावित भएको छ ।’

हालको जिल्लाको संरचना अनुसार रहेका १५ स्थानीय तहमध्ये बुद्धशान्ति गाउँपालिका पूर्णरुपले खुल्ला दिसामुक्त घोषणा भएको खुल्ला दिसामुक्त अभियान झापाले जनाएको छ ।

अभियानका अनुसार अन्य स्थानीय तहमध्ये तीनवटामा ९० प्रतिसतभन्दा बढी, छ वटामा ८० प्रतिसत भन्दाबढी, एउटामा ७० प्रतिसतभन्दा बढी र एउटामा ६० प्रतिसत भन्दा बढी रहेको छ ।

झापा गाउँपालिका ४८ दशमलव ६४, कचनकवल गाउँपालिका ४० दशमलव ३० र गौरीगञ्ज गाउँपालिका ४१ दशमलव ४९ प्रतिसत मात्र खुल्ला दिसामुक्त भएको अभियानले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ८० प्रतिसत घरधुरीमा सरसफाइ र ८५ प्रतिसतमा खानेपानीको पहुँच पुगेको उल्लेख छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले उद्योग, कलकारखानामा काम गर्ने कामदारका लागि शौचालयको व्यवस्था नगरेमा त्यस्ता उद्योगधन्दाले पाउने सेवासुविधाबाट बन्चित गर्नुपर्ने बताएका छन् ।

स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारको तर्फबाट अभियानका संयोजक भीम नेम्वाङ, नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरी, अग्रज पत्रकार गोपाल गिरी, सहारा नेपालका कार्यक्रम संयोजक किसन गौतम लगायतले बोलको थिए ।
कार्यक्रममा सहारा नेपालका सहसचिव एलबी गिरी, बिराट सामुदायिक अध्ययन केन्द्रका रुद्र सिटौला, पत्रकार माधव विद्रोहीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: