सपनाको मेयर

  प्रकाशित मिति
२२ जेष्ठ २०७४, सोमबार ०९:४८


12
मस्त निद्रामा थिएँ, फोन आयो ‘तपाईलाई बधाई छ मेयर साहेब’ । त्यसपछि एकोहोरो फोन आइरह्यो र बधाई पनि उस्तै । घर परिवारमा राति नै देखि खुशीको लहर छायो । उज्यालो नहुँदै कार्यकर्ताले फूल माला र अविरले मलाई घेरिसकेका थिए । गाउँघर छिमेकमा पनि उस्तै उत्साह । मेचीनगरको परिणाम आइसकेको थियो । विपक्षी दलका प्रतिस्पर्धी पनि खादा लिएर आइरहेका थिए । उनीहरु बधाईसँगै अब गर्नुपर्ने नगरको विकासमा सहयात्री बन्ने प्रतिवद्धता जनाइरहेका थिए । विहानको ७ बज्न लागिसकेको थियो । झाँकीसहितको विजय जुलुस तयार थियो । मेचीनगरभर विजय उत्सव मनाउनु थियो ।

घाँटीभरि माला, खादा र अविरसहित विजयी उपमेयरसहितका साथीहरुसँग विजयीको हात हल्लाउँदै विजय जुलुस सुरु भयो । खुट्टेडाँगी हुँदै धुलाबारी मोड आइसक्दा साथी भाइ र शुभचिन्तकले पहिराइदिएको मालाले म भरिएकी थिएँ । नगरलाई समृद्ध, स्वच्छ र जिल्लाकै नमूना बनाउने उद्देश्यले मेरो मेयरमा उम्मेद्वारी थियो । मलाई जनताले विश्वास गरेर जिताएका थिए । मैले उनीहरुको भावनामा ठेस नपुर्याई उनीहरुले चाहेजस्तो जनप्रतिनिधि बनेर आगामी दिनमा महिलाको नेतृत्व सफल र सक्षम हुन्छ भन्ने नजिर बसाउनु थियो ।

केही दिन विजय उत्सवमा रुमलिए पनि मेरो मन एकतमासले नगरको समस्यामा केन्द्रित थियो । किनभने ठूला दलका बर्षौदेखि राजनीतिमा खप्पिस नेतालाई छाडेर म सानी फुच्चीलाई आशा र भरोसाले जनताले मत दिएर जिताएका थिए ।

पहिलो, मेरो घर परिवारले ५ बर्षका लागि व्यावहारिक जिम्मेवारीबाट मलाई मुक्ति दियो । अनि भ्रष्टाचारमुक्त समाज र विकासप्रेमी नेताको छवि बनाउने आर्शिवाद दिँदै पूर्ण दृढ सङ्कल्प गरेर नगरविकासमा लाग्न आँट र जोश जाँगर थप्यो । म केही समय रनभुलमा परेँ । कताबाट काम सुरु गरौं भनेर । मैले सबै नगरपरिषद्का साथीहरुलाई मिटिङमा बोलाए । उनीहरु सबैको वडाका समस्या बुझेँ । केही विषय विज्ञहरुको राय सल्लाह लिएँ अनि सुरु गरेँ काम । मेरो पहिलो तार्गेट शिक्षामा रह्यो । नगरका सबै सरकारी विद्यालयमा पढाईका स्तर बढाउनका लागि विभिन्न नीति बनाइयो । निजीस्तरमा सञ्चालित स्कूलमा सबैको पहुँच पुग्ने खालको शुल्क तय गरियो । सुरुमा थुप्रै व्यवधान आए । अन्ततः नीति र नियमभित्र रहेर शैक्षिक क्षेत्र चल्न थालेपछि तिन महिनैमा परिवर्तन देखिन थाल्यो ।

दोस्रो, युवा र महिलाहरुलाई विशेष स्वरोजगार बनाउनका लागि विभिन्न सिपमूलक तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भए । उनीहरुलाई सहुलियतमा नगर क्षेत्रबाट ऋण प्रदान गर्ने नीति बनाइयो । त्यसै अनुरुप काम हुन थालेपछि एकबर्षमा बेरोजगार मुक्त समाज निर्माणको सुरु भयो । नगरभित्रका सडकको बेहाल थिए । सबै सडकहरु कालोपत्रेयुक्त बनाइयो । धेरै मानिसहरु नागरिकता नपाएर बृद्धभत्ताबाट बञ्चित थिए उनीहरुलाई सहजमा रुपमा नागरिकता र भत्ताको पहुँच पुर्याइयो । त्यतिमात्र होइन बृद्ध आमा बुबाहरुलाई घरघरै कर्मचारी खटाएर बृद्धभत्ता पुर्याउने व्यवस्था बनाइयो ।

हेर्दा हेदै नगर समृद्ध बन्न थाल्यो । सबैले हामीले चाहेको प्रतिनिधि पायौं, महिला भनेर हुँदो रहेनछ, काम गर्ने क्षमता त पुरुषमा भन्दा अथाह र व्यवस्थित हुँदोरहेछ भनेर प्रशंसा सुरु भयो । दलहरुमा पनि महिलाकै नेतृत्व स्थापित गराउन पहलकदमी हुन थाल्यो । मेरो लागि यो गौरवको कुरा थियो । तर मैले मख्ख परिहाल्ने स्थिति थिएन । किनभने मेचीनगरभित्र ६÷७ वटा सामुदायिक बनहरु दिए । तिनीहरुको पर्यटक प्रवर्धनका लागि थुपै्र काम भए पनि जनताले चाहे अनुरुप भएको थिएन ।

बाहुनडाँगीमा बर्षैदेखिको हात्ती समस्याको समाधान गर्नु थियो । ग्रामीण क्षेत्रका महिलाहरुलाई न्यायमा पुहँच पुर्याउनु थियो । त्यही भएर नगरदेखि वडाहरु सबैमा हेल्प डेक्स निर्माण गर्न थालिएको थियो । सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । प्रत्येक वडाहरुमा जनताको सहज पहुँच पुग्ने गरी स्वास्थ्य केन्द्रका व्यवस्था गरिएको थियो भने नगरमा एक सय बेडको सघन उपचार कक्षसहितको अस्पतालमा सञ्चालनमा ल्याइएको थियो ।

मेयर भएको समय ४ बर्ष वितिसकेछ । मुलुक सङ्घीयतामा गएपछि पहिलो नगर प्रमुखको दायित्व निक्कै ठूलो हुँदोरहेछ । सधैका लागि जनताको मुटुमा बस्न सक्ने कामहरु त धेरै भए । खानेपानी, वत्ती र टेलिफोन इन्टरनेटको पहुँच मेरो नगरमा सबैको पुगिसकेको थियो । कहिँ कतैबाट कहिल्यै विरोध भएन । सधैं नगरवासी विकासका लागि सहयात्री बनिरहेँ । जसले गर्दा महिलाले चलाएका सामुदायिक वन, सङ्घसंस्था जसरी विगतमा पुरस्कृत भइरहन्थे, त्यसैगरी जिल्लामै एक्लो महिला नेतृत्व भएको नगरको समृद्धि देखेर पितृसत्तात्मक सोचमा परिवर्तन आउन थालेको थियो ।

दलहरुमा ५ बर्षपछि हुन लागेको चुनावमा सकेसम्म महिलालाई अघि सार्ने रणनीति तय गर्न थालेका थिए । म आफैंमा दङ्ग थिए । त्यति नै बेलामा नातिनीले ‘आमा उठ्नुस् न’ भन्दै कानमै कराएपछि मेरो निद्रा भङ्ग भयो । व्युँझिदा म त ‘सपनाको मेयर’ पो भएको रहेछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: