सपार्ने कि बिगार्ने ?

  प्रकाशित मिति
२० श्रावण २०७५, आईतवार ११:३२


विश्वकै सुन्दर फूलबारीको बगैँचाले परिचित हाम्रो देश नेपाल दुई ढुङ्गाको चेपको तरुल भनेझैँ उत्तरतिर विशाल चीन र दक्षिणतिर विशाल भारतको बीचमा रहेको सुन्दर एवम् सुगन्धित छ । देशमा लोकतान्त्रिक गणतन्त्र आएपश्चात देशलाई सातवटा प्रदेशमा विभाजन गरियो तर हाल प्रदेशको नामाकरण गर्ने सन्दर्भमा बाँकी नै रहेका भूभाग हो १ नं प्रदेश ।
जस्तो नाम उस्तै काम भनेझैँ वास्तवमै सबै कुराले भरिपूर्ण रहेको १ नं प्रदेश स्वर्ग एवम् सुन्दर छ । पश्चिममा लिखु खोला साक्षीका रुपमा सिमाना रहेको छ भने पूर्वमा मेची नदीले सिमानाको साथ दिइरहेको छ । र, उत्तरमा विशाल देश चीन रहेको छ भने दक्षिणमा सोही अनुरुप भारत रहेको छ । यी चार किल्लाको बीचमा रहेको हाम्रो १ नं प्रदेश सात प्रदेश मध्ये सबैभन्दा सम्पन्न र धनी प्रदेशको रुपमा रहेको छ ।
सम्पन्न र धनी यस अर्थमा छ, पश्चिमबाट यसको बयान गर्न शुरु गरौँ । प्रदेशको पश्चिम उत्तरमा रहेको सोलुखुम्बु जिल्ला जहाँ विश्वको सबैभन्दा अग्लो सगरमाथा शिखर हिमालले बास गरेको छ र हेर्दै सुन्दर लाग्ने चाँदी झैँ टल्किएर स्वर्गकी अप्सरा सिँगारिए झैँ विश्वका देश विदेशका पर्यटकहरुलाई स्वागत गरिरहेकी छन् । उक्त स्वागतलाई स्वीकार्दै देश विदेशका पर्यटकहरु तछाड मछाड गर्दै सगरमाथा हिमालको चुचुरोलाई चुम्नका लागि होडवाजी नै चल्ने गर्दछ । चुचुरो चुम्नका लागि धेरै देशी विदेशी पर्यटकहरुले यात्राको क्रममा आफ्नो अमूल्य जीवन समेत गुमाउने गर्छन् ।
विभिन्न देशका पर्यटकहरुको भ्रमणले यस प्रदेशलाई सबैभन्दा राम्रो आम्दानीको स्रोत बन्न पुगेको छ । र, यसै जिल्लासँग नाता गाँस्दै रहेको छिमेकी जिल्ला हो ओखलढुङ्गा जहाँ युगकवि सिद्धिचरण श्रेष्ठ र व्याकुल माइला जस्ता महान कवि लेखक साहित्यकार व्यक्तिको जन्म भयो । त्यही सुन्दर जिल्लामा रहेका नदी नाला, पहाड पर्वत, हरियालीलाई खुराकी बनाउँदै विभिन्न लेख रचनाहरुको सृजना गर्दै ओखलढुङ्गा जिल्लालाई इतिहास सामु चिनाउन सफल हुनुभयो । अर्का महान व्यक्तिले जो नयाँ नेपालको राष्ट्रिय गानको रचनाकार व्याकुल माइला जस्ता व्यक्तिहरु समेतको जन्मभूमि पनि यही हो ।
ओखलढुङ्गाबाट अघि बढ्ने क्रममा त्यही पेरिफेरि भएर बग्ने तामाकोशी, सुनकोशी र छङ्छङ् बग्ने दूधजस्तै सेतो दूधकोशी अनि भोटेकोशी बीचमा आएर मितेरी लगाउँदै मिसिन पुग्छन् र खोटाङ जिल्लाको आगमन हुन्छ । जहाँ धार्मिक स्थल हलेसी महादेवको तपोभूमि रहेको छ । यसको दर्शन गर्नका लागि लाखौँ तीर्थयात्री भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । र, सोही हलेसी महादेवको वासस्थान रहेकाले खोटाङ जिल्ला परिचित हुनपुग्छ । त्यसको ठिक दक्षिणतिर उदयपुर जिल्ला रहेको छ जो २ नं प्रदेशसँग मित लगाई छिमेकी हुन पुगेको छ । त्यसपछि उत्तर तर्फ लागौँ । रमाइलो जिल्ला भोजपुरको आगमन हुन्छ । त्यस जिल्लामा रहेका डाँडापाखा हरियाली एवम् सुन्दरताले छाएको पहाडी जिल्ला हो । जहाँ नाम चलेका टेम्के लेक, धार्मिक स्थल दिङ्लाका विभिन्न मठ–मन्दिर अनि वालगुरु षडानन्दले स्थापना गरेको बालगुरु षडानन्द मावि पनि यही जिल्लामा रहेको छ ।
दिङलामा रहेको मन्दिरहरुको दर्शन गर्नका लागि बालाचतुर्दशीमा मेला भर्न विभिन्न गाउँबाट भक्तजनको घुइँचो लाग्ने गर्छ । त्यसको तलबाट बग्ने अरुण नदी जो सङ्खुवासभा जिल्ला छुट्याउने सिमानाको रुपमा रहेको छ । चीन तर्फबाट बग्ने अरुण र बरुण नदीहरु उत्तरबाट दक्षिण तर्फ बग्ने गर्छन् । यिनै अरुण नदीले सातवटा नदीको नेतृत्व गर्दै विशाल सप्तकोसी हुन पुग्छ जो नेपालको सवैभन्दा ठूलो विशाल नदीले चिनिन्छ ।
यही अरुण नदीबाट विकास निर्माणका क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको कार्य सञ्चालन भइरहेको छ । अरुणपूर्वमा रहेको सङ्खुवासभा जिल्ला पर्दछ । त्यसको फेदीमा रहेको अरुण उपत्यका तुम्लिङटार जहाँ हवाई मार्ग सेवाको विकास गरिएको छ । हवाई विमान स्थलबाट हवाई यात्रा गर्न समेत सुविधा बनेको छ । त्यहाँबाट करिब २ घण्टा उकालो चढेपछि सङ्खुवासभा जिल्लाको खाँदवारी बजार आउँछ । सोही जिल्लामा पूर्वेली लोक गायक नवीन खड्का, पुस्तका खड्का, कमल खत्री, खेम गुरुङ लगायत धेरै लोकप्रिय गायकहरुको उदय भएको छ र सङ्खुवासभा जिल्लालाई चिनाउन सफल भएको छ । र, सोही जिल्लाको चीनसँग जोड्ने १ नं प्रदेशको किमाथाङ्का नाका पर्दछ । त्यस क्षेत्रका बासिन्दाहरु एक आपसमा बन्दव्यापार गरी जीविकोपार्जन समेत गर्ने गर्छन् र त्यस क्षेत्रको जडिबुटी अहिले पनि तराईका भूभाग झापा, मोरङ, सुनसरी जिल्लाहरुमा यत्रतत्र त्यहाँका शेर्पा जातिहरुले बिक्री गरी जीविकोपार्जन गर्ने गर्छन् ।
वास्तवमा सङ्खुवासभा जिल्ला मेरो जन्मभूमि समेत भएको हुँदा त्यहाँको प्रशंसा गरेर कहिल्यै सकिदैन । किनभने म सङ्खुवासभाको माम्लिङ गाउँमा जन्म भई त्यहाँका खोलानाला, हरियाली अनि भज्याङ अनि चौतारीहरुसँग सुशेली हाल्दै मेरो बाल्यकाल त्यसरी नै त्यही जिल्लामा बित्यो र सोही जिल्लाको एक छिमेकी जिल्ला हो धनकुटा । उहिले राजा र रजौटाहरुको पालामा पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चलको सदरमुकाम नै धनकुटामा थियो र अहिले पनि त्यतिबेलाका राजाका दरवारहरु यदाकदा देख्न सकिन्छ ।
प्रदेशले मात्र होइन देशले सम्मान गरेकी साहित्यकार झमककुमारी घिमिरेको जन्म पनि सोही जिल्लामा भएको हो र धनकुटा जिल्लालाई चिनाउन ठूलो योगदान छ । बीचमा रहेको तेह्रथुम जिल्ला त्यो पनि अब त सवै तौर तरिकाले सुगम जिल्लामा रुपान्तरण भइसकेको छ । जहाँ सङ्गमस्थल बसन्तपुर मिल्के तीनजुरे क्षेत्रमा ३८ प्रजातिका लालीगुराँसहरु फूल्ने गर्छन् । त्यसकारण त्यसलाई लालीगुराँसको राजधानी पनि भन्न सकिन्छ ।
अब आयो मेची अञ्चलको उत्तरमा रहेको ताप्लेजुङ जिल्ला जहाँ कञ्चनजङ्गा हिमाल बेहुली झैँ सिँगारिएर पर्यटकहरुलाई स्वागत गरेर बसेको छ । त्यही जिल्लामा पवित्र धार्मिक स्थल पाथिभरा देवी माताले बास गरेकी छन् । र, तीर्थालु भक्तजनहरुलाई आगमनका लागि स्वागत गर्दै पर्खिबसेकी छन् । त्यसैले चिनाउँछ ताप्लेजुङ जिल्लालाई । अब आयो पाँचथर जिल्ला । जो मेची अञ्चलको सबैभन्दा रमाइलो प्राकृतिक सम्पदाले भरिभराउ भएको जिल्लाले परिचित छ । त्यहाँ विभिन्न जातिका मानिसहरु बसोबास रहेको छ र ऐतिहासिक जोरपोखरी, हाँसपोखरी जस्ता पर्यटकीय स्थल पनि त्यही जिल्लामा पर्छ ।
नभन्दै यात्रा गर्ने क्रममा इलाम जिल्ला पो आइपुगिएछ । सो जिल्लामा पनि अति नै रमाइलो उक्त जिल्लामा पाँचवटा (अ) ले चिनिन्छ । त्यो हो अलैँची, अदुवा, अम्लिसो, ओलन, अकबरे खुर्सानी । उत्पादन हुने भूमिले पनि चिनिन्छ । ती प्रत्येक पहाडका डाँडाबाट हेर्दा तराईको झापा, मोरङ, सुनसरी जिल्लाको रमरणीय दृश्य देख्न सकिन्छ । जहाँ कात्तिक, मङ्सिरतिर हे¥यो भने सुन झैँ झुलेका धानका बालाहरु धपक्कै बलेको देख्न सकिन्छ । यो भनेको देशकै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्रको रुपमा चिनिन्छ ।
झापा जिल्लामा रहेको पूर्वीद्वार काँकरभिट्टा रहेको क्षेत्रमा विभिन्न देश विदेशबाट पाल्नु हुने हाम्रा अमूल्य पाहुना पर्यटकहरुको मुख्यद्वारको रुपमा चिनिन्छ । त्यसैगरी मोरङ जिल्लाको विराटनगर जोगमनी नाका पनि आयश्रोतका लागि उत्तिकै सान्दर्भिक छ । यी सबै मूल्याङ्कन गर्दा यो प्रदेश सबैभन्दा सम्पन्न र धनी प्रदेशको रुपमा चिनिन्छ भनी गर्वका साथ भन्न सकिन्छ । सबै प्रदेशभन्दा धनी र सम्पन्न हामी कति भाग्यमानी छौँ ? यदि यहाँ गरीव छौँ भने त्यो हो हाम्रो सोचाइ, लगनशीलता, मिहिनेत र हामीमा भएका विचार ।
त्यसैले यस प्रदेशमा रहने प्रदेशवासी प्रत्येक नेपालीदेखि नेतागणसम्मले स्वार्थभन्दा माथि उठेर काम गर्ने हो भने यही ५ बर्षमा विश्वको सवैभन्दा धनी एवम् सफल नागरिक बन्न सक्छौँ, होइन भने पूर्खाहरुले गरेको उखान झैँ बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा हालेपनि उस्ताको उस्तै हुनेछ । त्यसैले बेलैमा विचार गरौँ है १ नं प्रदेशवासी आम जनता हो । त्यसैले हाम्रो प्रदेश बिगार्ने र सपार्ने पनि हाम्रै काँधमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: