सबैको ध्यान प्रदेशसभातिर, भिडन्तको सम्भावनाले मर्यादापालक बढाइयो

  प्रकाशित मिति
७ माघ २०७७, बुधबार १३:३१


विराटनगर, ७ माघ । आज प्रदेश नं. १ को संसद्को सातौं अधिवेशन सुरु हुँदैछ । नेकपा विवादको सोझो प्रभाव बैठकको उद्घाटनमै पर्ने सम्भावनाका कारण सबैको ध्यान आज बैठकस्थलतिर सोझिएको छ ।

बैठकको सुरुमै नेकपाको ओली र प्रचण्ड–माधव पक्ष एकअर्काविरुद्ध उत्रिने सम्भावना देखिएको छ । प्रदेशसभाको अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।
यही अधिवेसनबाट मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको समेत छिनोफानो हुनु पर्ने छ ।

ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई निलम्बन गरेको र प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री राईलाई हटाएको घोषणा गरी उनका ठाउँमा भीम आचार्यलाई दलका नेता तोकेको कारण बैठक कसरी सुरु होला भन्ने अनुमान लगाउन गाह्रो छ ।

ओली समूहले निलम्बित सांसद्लाई बैठकस्थलमा प्रवेश नदिइनु पर्ने बताएको छ भने दलको नेताको रुपमा भीम आचार्यले सम्बोधन गर्न पाउनु पर्ने प्रचण्ड नेपाल समूहको माग छ ।
नेकपा प्रमुख सचेतक एवम् ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्य बैठक कक्षमा प्रवेश गरे बैठक सञ्चालन हुन नसक्ने बताएका छन् ।

‘बहुमत सदस्यले मुख्यमन्त्रीलाई दलको नेताबाट हटाएकाले दलको नेताको हैसियतमा प्रदेशसभामा सम्बोधन गर्न मिल्दैन,’ प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले भन्छन्, ‘दलको नेताको हैसियतमा भीम आचार्यले बोल्नुहुन्छ, मुख्यमन्त्रीलाई बहुमत सदस्यले दलको नेताबाट हटाइसक्यौं ।’

ओली समूहले भीम आचार्य, इन्द्रबहादुर आङ्बोसहित १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । निलम्बनमा परेका प्रदेशसभा सदस्य बैठकमा प्रवेश गरे बैठक सञ्चालन गर्न नमिल्ने ओली समूहका राजभण्डारीले दाबी गरेका छन् ।

यो स्थितिले प्रदेशसभामा मुठभेडको स्थिति निम्ताउन सक्ने आँकलन गरिएको छ । यसैबीच, नेकपा विभाजनले प्रदेशसभामा प्रवेश पाउने भएपछि संसद सचिवालयले मर्यादा पालकको संख्या थप गरेको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार १० जना मर्यादा पालक थपिएका हुन् । यो सँगै संसद सुरक्षामा खटिने मर्यादा पालकको संख्या ५७ पुगेको छ ।

प्रदेशसभा सञ्चालनका लागि सचिवालयले बैठक कक्षको कुर्सी उचाल्न नमिल्ने गरी वेल्डिङ समेत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद अवरुद्ध गर्न नमिल्ने बताएको छ ।

‘सरकारले संसद अवरुद्ध गर्न मिल्छ र ?’ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भन्छन्, ‘सरकार आफैंले अधिवेशन बोलाएर अवरोध गर्न मिल्दैन ।’

निलम्बनका परेका सांसद् र दलका नेताका बारेमा सभामुख प्रदीपकुमार भण्डारीले आज निधो दिनु पर्ने छ । त्यसले नेकपाको विवादलाई अझ बढाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: