सबैको बनोस् स्वास्थ्य महोत्सव

  प्रकाशित मिति
१६ पुष २०७३, शनिबार १३:००


15781439_126994501131889_2501652358484110387_n

भनिन्छ समाज र आम नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने काम जो कोहीले गरे पनि त्यसको समर्थन गर्नु सान्दर्भिक हुन्छ । त्यसमा पनि जनताकै सेवा गर्छौँ भनेर स्थापना भएका राजनीतिक दलका तर्फबाट नियमित भन्दा फरक कार्यक्रम मार्फत् जनसेवाको भाव प्रकट हुन्छ भने त्यो त झन् स्वागतयोग्य नै हुन्छ र हुनु पर्छ ।

प्रसङ्ग मेचीनगरमा सञ्चालन हुन गइरहेको मुलुककै पहिलो स्वास्थ्य महोत्सवको हो । नेपाली काङ्ग्रेसको आयोजनामा आगामी माघ ८ गतेदेखि १४ गतेसम्म साताव्यापी रुपमा स्वास्थ उपचारसहित जनस्वास्थ्यका बारेमा विविध गतिविधि र विषय विज्ञहरुसँगको छलफल समेत हुने गरी सञ्चालन हुन लागिरहेको स्वास्थ्य महोत्सव एउटा फरक कार्यक्रमका रुपमा लिन सकिन्छ । खासगरी राजनीतिक दलहरुले राजनीतिक नारा बोकेर चुनावी कार्यक्रम मात्र गरिरहँदा आम मानिसलाई दलका कार्यक्रममा सहभागी हुन झर्को नै लाग्ने गरेको वर्तमानको अवस्थामा स्वास्थ्य महोत्सवले फेरि एकपटक राजनीतिक दल र आम नागरिकबिच सु–सम्बन्ध स्थापना गर्न सहयोगी बन्ने विश्वास गर्न सकिन्छ । दलका कार्यक्रम अनि पट्यार लाग्दा भाषण सायद सुन्नु पर्ने छैन स्वास्थ्य महोत्सवमा । सायद दलका ढर्रायुक्त आशन ग्रहणको शिकार बन्नु पर्ने छैन स्वास्थ्य महोत्सवमा ।

महोत्सव भन्ने बित्तिकै रोटेपिङ र केही जुवातासका अखडा अनि केही व्यापारिक स्टलका साथमा कलाकारको प्रस्तुति खालका परम्परागत सोचमा हुर्किएका हामीलाई स्वास्थ्य महोत्सव आयोजकले त्यो भन्दा फरक खुराक पस्कने कुरामा विश्वस्त पार्न सक्नु आयोजकका लागि चुनौती छ । त्यति मात्र होइन, नयाँ काम गर्दै गर्दा आम जनमानसमा विश्वास दिलाउन सकिएन भने त्यो कार्य पूर्णत असफल भएका उदाहरण पनि प्रसस्तै भेटिएका छन् । त्यसैले स्वास्थ्य महोत्सवका बारेमा महोत्सव अगावै सबै कुरा बाहिर आउनु जरुरी छ ।

हाम्रो समाज दलगत सोच र विचारबाट ग्रसित छ । एउटा राजनीतिक दलले सकारात्मक काम गर्दा पनि त्यसको व्याख्या नकारात्मक ढङ्गबाट फैलाउन अर्को राजनीतिक दल र तिनका कार्यकर्ता तल्लीन हुन्छन् । त्यसो नहुनका लागि पनि स्वास्थ्य महोत्सव आयोजक भनिएको दलले सबै राजनीतिक दल र सङ्घसंस्थाहरुको सहयोग लिन जरुरी छ । आयोजना कुनै पक्षले गर्न सक्छ । तर, त्यसको फाइदा सबै दलमा आस्था बोकेका आम नागरिकले नै लिने हो ।

हाम्रो जस्तो तहगत संरचना भएको समाजमा आज पनि एउटा वर्ग गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढै रहेको छ । अहिले पनि हाम्रा गाउँहरुमा धामी झाँक्रीहरु आफ्नो प्रभावमा स्वास्थ्य उपचारका नाममा ड्याङ्ग्रो बजाइरहेका छन् । खोप नलगाएका कारण कैयन बालवालिकाले अकालमा ज्यान गुमाएको उदाहरण पनि हाम्रो समाजमा व्याप्त छ । बाहिरबाट हेर्दा सहज स्वास्थ्य सेवाको पहुँच भएको जिल्लाका रुपमा झापा जिल्लाको नाम उच्चाहरण गरिने भए पनि यही जिल्लामा सर्पको डसाइबाट मात्र पनि वार्षिक सयौँ मानिसले ज्यान गुमाइरहेका छन् । पाठेघरको मुखको क्यान्सरबाट पीडित महिलाको सङ्ख्या बर्षेनि बढिरहेको सरकारी तथ्याङ्कले देखाउँछ । मिर्गाैला रोगीको सङ्ख्यालाई हेर्ने हो भने त झन् झापा जिल्ला उद्गम स्थल नै हो कि भन्ने भान पर्न थालेको छ । यस्तो अवस्थामा एउटा राजनीतिक दलकोतर्फबाट आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवासहित मानव स्वास्थ्यका लागि जनचेतनामूलक प्रस्तुतिसहितको विषय विज्ञहरुसँगको छलफल कार्यव्रmम साताव्यापी रुपमा स्थानीय स्तरमा नै सञ्चालन हुनु यस भेगका जनताका लागि पनि सुखद पक्ष हो । स्वास्थ्य महोत्सव आयोजना कसले गरिरहेको छ भन्दा पनि महोत्सवबाट हाम्रा गाउँघरका मानिसलाई फाइदा पु¥याउन सकिन्छ भने सबै राजनीतिक दल, नागरिक समाज र विभिन्न समाजसेवी संस्थाहरुको ध्यान केन्द्रित हुन जरुरी छ । यदि प्रतिस्पर्धाकै भावना ल्याउने हो भने पनि अर्को यस्तै आम नागरिकसँग जोडिने कार्य अर्को राजनीतिक दलले आयोजना गरेर प्रतिस्पर्धा गर्नु उत्तम हुनेछ । राजनीतिक दलबिच चुनावी मैदानमा मात्र होइन, मतदान गर्ने मतदाताको स्वास्थ्य र आर्थिक सम्बृद्धिका लागि पनि प्रतिस्पर्धा होस् । सबै दललाई शुभकामना अनि स्वास्थ्य महोत्सवको सफलताको कामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: