सबै मिली उखेलौँ कुप्रथाको जरो

  प्रकाशित मिति
७ चैत्र २०७४, बुधबार १४:१६


प्राणी जगतमा मानव सर्वोत्कृष्ट प्राणी हो । उ सँग ज्ञान छ, विवेक छ, दया छ, माया छ, विचार छ, भावना छ, बुद्धि छ, सीप छ, नयाँ नयाँ कुरा पत्ता लगाउन सक्ने क्षमता छ अर्थात मानिससँग सबैथोक छ । त्यसैको परिणामतः जङ्गली अवस्था हुँदै विभिन्न चरणहरु पार गर्दै मानव जगतले अहिले यो प्रविधियुक्त वैज्ञानिक युगको चमत्कारी जीवन भोग गरिरहेको छ ।
नेपाली समाज पनि यी सबै उपलब्धिबाट अछुतो छैन । यत्रो विशाल क्षमताको धनी मानव जगतमा विद्यमान केही कुरीति एवम् कु–संस्कारहरु ज्ञानशून्य मानिने पशु जगतमा पनि छैन । अर्थात मानव जगतमा जुन प्रकारले शासक, शासित, धनी, गरिब, ठूलो, सानो, रङ्ग, वर्ण, जात र वंशको आधारमा गरिने अमानवीय र भेदभावपूर्ण व्यवहार छ, त्यो अन्यत्र जीवन जगतमा छैन ।

यसर्थ यी र यस्ता कतिपय घटना, परिघटनाले मानव, संसारको सर्वोत्कृष्ट प्राणी भएर पनि उसको ज्ञान, विवेक, क्षमता, विचार आदि समस्त मानव जगतको हितका लागि नभइ सीमित तथा वर्गीय हितको प्रयोगमा लगानी भएको प्रतित हुन्छ ।

मानव जगत जङ्गली युग हुँदै कृषि युगमा रुपान्तरित भएपछि मालिक र दास अनि पूँजीपति र मजदुर वा धनी र दास सँगसँगै विशेषतः हिन्दु जगतमा विविध जातजातिको समेत विकास भई कतिपय पेशा व्यवसायमा आबद्ध मेहनती समुदायका मानिसलाई तल्लो जातिमा मात्र नभई अछुत जातिमा समेत रुपान्तरित गरेको तथ्य पनि हामी सामु छर्लङ्गै छ । हिन्दु जगतमा स्थापित वर्ण व्यवस्था र त्यसको विकासका क्रममा मानव समुदायको एक हिस्साले भोगेको चरम अमानवीय एवम् भेदभावपूर्ण व्यवहारका कथा, व्यथाहरु र त्यसबाट मुक्ति पाउनका लागि नेपाली समाजमा दलितहरुले विभिन्न समयमा गरेका सङ्घर्षको इतिहास रहेको छ ।

नेपाली समाजले सामाजिक, धार्मिक मान्यताको रुपमा विकसित गरेको जातीय विभेद वर्तमान अवस्थाको चरम वैज्ञानिक युगमा समेत आज पर्यन्त कुनै न कुनै रुपमा यसलाई निरन्तरता दिइरहेको पाइन्छ । यद्यपि यो जातजाति वा जाति प्रथाको मान्यतामा हिजोका दिनहरुमा जस्तो कट्टरता अहिले नदेखिए तापनि यसले अद्यावधि हाम्रो समाजको भित्री भागमा नै जरो गाडेर बसिरहेको छ । जसले गर्दा विभिन्न जातजातिका मानिसमा जातीय असमानता तथा भेदभावको स्थिति रहेको हुनाले सामाजिक विकासमा पनि अवरोध उत्पन्न गरिरहेको छ ।

वर्तमान विश्वमा नेपाल एक अविकसित मुलुकका रुपमा विद्यमान छ । अशिक्षा, अज्ञानता, अन्धविश्वासको महाजालमा नेपाली समाज अद्यावधि जेलिइरहेको छ ।

नेपाली समाज धनी र गरिबको वर्गीय दृष्टिकोणका अलवा प्राचीनकालबाटै ठूलो जात र सानो जात तथा छुत अछुत सम्बन्धी धारणा र व्यवहारले पनि जकडिएको छ, जसले गर्दा नेपाली समाजको एकतामा पनि नराम्रो असर परिरहेको छ । नेपाली समाजमा जातीय भेदभावको दृष्य हेर्दा बडो भयावह चित्र प्रकट हुन्छ । यहाँको सामाजिक बनावट र त्यसभित्र रहेका अमानवीय दृष्यले त्यसलाई प्रष्ट पार्दछ ।

नेपाली समाजमा एक कलङ्कका रुपमा विद्यमान जातीय भेदभाव तथा छुवाछुत प्रथा अन्त्य गर्नका लागि धेरै आधारहरु तय गरिनु जरुरी छ । प्रथमतः यो प्रथा नेपाली समाजमा सदियौँदेखि नै विकसित हुँदै आएको कारण यसले नेपाली समाजमा भावनात्मक रुपमै दह्रोसँग जरा गाडेर बसेको छ । यसको अन्त्यका लागि विद्यमान सबै जातजातिका मानिसमा भावनात्मक रुपमा नै यो वास्तविक ‘कुप्रथा’ हो र यसको अन्त्य हुनु जरुरी छ, मानिस सबै एकै हुन् भन्ने भावनाको विकास गराई कार्यान्वयनको तहमा पु¥याउन सक्ने क्षमताको विकास गरिनु पर्दछ । यस कुप्रथाको विरुद्धमा प्रभावशाली कदमहरु चाल्न सक्षम एवम् प्रतिष्ठित व्यक्तिहरु अग्रसर नभएसम्म यसले व्यापकता लिन कठिनाइ देखिन्छ ।

अतः प्राचीन पण्डितहरु, जसले वेदको रचना गरे त्यहाँ कुनै जातीय भेदभाव तथा छुवाछुत प्रथा थिएन । तर, सामन्तबादको विस्तारसँगै विभिन्न पुराण लगायतका ग्रन्थहरुमा पछिल्लो पिँढीका ब्राम्हण÷पण्डितहरुले जातीय भेदभाव तथा छुवाछुत समेतका अवधारणा ल्याए, नियमहरु बनाए । यसरी समाजमा प्रचलनमा ल्याइएको यो कुप्रथा कुनै भगवानले चलाएको चलन होइन भन्ने तथ्यलाई विशेषतः आधुनिक ब्राह्मण÷पण्डितहरु तथा विद्वानहरुले प्रष्ट रुपमा बुझाइदिने हो भने जातीय भेदभाव तथा छुवाछुत प्रथाको रुपमा रहेको यो कुप्रथाको जरो हल्लिन सक्दछ ।

त्यस्तै, यो प्रथा हटाउनका लागि समाजमा यो परम्परा धर्म विरुद्ध छ भन्ने जनमत बढाउनुपर्ने, छुवाछुत प्रथा प्राकृतिक नभएर कृत्रिम विभाजन हो भन्ने मानसिकताको अभिवृद्धि गर्ने, जातीय विभाजन ईश्वरबाट नभइ मानवले नै गरेको हो भन्ने आमधारणाको वृद्धि गराउने, छुवाछुत प्रथा मानिसले नै सुरुवात गरेकाले यसलाई मानिसले नै हटाउनु पर्दछ भन्ने भावनाको विकास गराउनका साथै अभियानकै रुपमा लैजानुपर्ने हुन्छ । साथै, यो मानवअधिकार विरोधी व्यवहार दण्डनीय हुनु पनि त्यत्तिकै आश्वयक छ ।

नेपालको संविधानमा नै छुवाछुत र जातीय भेदभावलाई प्रष्ट रुपमा निषेध गरे पनि व्यवहारिक र मानसिक रुपमा हाम्रो समाज अझै यो रोगबाट मुक्त हुन सकेको छैन । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा समेत समाज परम्परागत सोचबाट मुक्त हुन नसक्नु दुर्भाग्य हो ।

शताब्दीयौँदेखि प्रचलित यो सामाजिक कुप्रथालाई अन्त्य गर्नका लागि राज्यले दण्ड सजाय गर्न पछि हट्नु हुँदैन । अन्ततः जातीय विभेद तथा छुवाछुत प्रथा जस्तो कुप्रथा नेपाली समाजबाट हटी सामाजिक समानता कायम हुन्छ । सामाजिक समानता कायम हुनुले सामाजिक विकास हुन्छ र सामाजिक विकास हुनु भनेको राष्ट्रिय विकास हो । अतः यस कदमलाई सार्थक तुल्याउने महान अभियानमा लाग्नु आम नेपालीको कर्तव्य हो ।

मजचगदबपबलब२िनmबष्।िअयm

………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: