सबै हाम्रा, सबै राम्रा

  प्रकाशित मिति
२८ आश्विन २०७३, शुक्रबार १५:५२


cover२०७३ सालको दसैँ पनि अब हाम्रा घरआँगनमा आइपुगेको छ । यो चाड नेपालीहरूबिच कतिको महत्त्वको हो भनेर नाप्न यही असोजको दुई–तिन हप्ताका दिनहरूलाई नियाले पुगिहाल्छ । यस बखत काठमाडौँबाट कति मान्छे बाहिरिनु र कति मान्छे काठमाडौँ भित्रिनु गर्छन् ! यातायातका साधनको सञ्चालन कतिको व्यस्तसँग हुन्छ ! पसलहरू, होटेलहरू कतिको चल्ती हुन्छन् ! व्यापार व्यवसायको चल्तीफिर्ती कतिको हुन्छ ! मान्छेको चहल पहल र उनका अनुहारहरू पढे पनि हुन्छ ।

यथार्थमा त चाडबाड भनेका धेरैजसो हुने खानेकै लागि हुन् । गाउँघरमा एउटा भनाइ सर्वथा लोकप्रिय छ–‘आयो दसैँ ढोल बजाइ, गयो दसैँ रिन बोकाइ’ भनेर । अलिक धार्मिक आस्थाका, काटमार मन नपराउनेहरूले–‘दसैँ होइन दसा हो जीव र जन्तुको’ भन्ने सवाइ पनि बनाएकै छन् । केटाकेटी बेलामा कान्छी औँलाबाट औँला भाँच्तै हामी गाउँथ्यौँ–‘दसैँ आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत् पाजी म भिन्नै बसुँला’ । यो गानाले पनि दसैँ खानपिनकै चाड हो भन्ने कुरा चाहिँ जनाउँछ । तर जे भए पनि नेपालमा गरिब होस् या धनी, तल्लो जातको होस् या माथिल्लो जातको सबैसबैको लागि दसैँ साँच्चै नयाँ लुगा बदल्ने जस्तै, मनको एक नासको अवस्थाबाट अर्कोमा बदल्ने, आनन्द लिने कुरासँग जोडिएको छ ।

दसैँ मातृसत्तात्मक युगको सांस्कृतिक अवशेष हो । ‘दुर्गामाता’लाई सर्वशक्तिमान मानेर उनको अगुवाइमा मानवपीडक महिषासुर, शुम्भ–निशुम्भ तथा चण्डमुण्ड नामका दानवहरूको बध गर्ने कथा नै दसैँका नवरथामा पढिने ग्रन्थको कथानक हो । पशुपालन युगमा पालेका पशुहरूको पुजागरी बलि चढाएर प्रसादको रुपमा आहार गर्ने संस्कृतिको, बलिपुजाको जीवन्त दसी पनि हो दसैँ । दशमीका दिन बिहानसम्म पनि पुजा गरेर अनि महिषासुर या शुम्भ निशुम्भ या चण्डमुण्ड आदि दानवउपर विजय हासिल गरेको ठानेर जमरा, टीका आदि लगाई खुसी मान्ने चलन पनि यस चाडको मौलिक विशेषता हो ।

समाजका अधिकांश समुदायको पेशा व्यवसाय अनुसार नै संस्कृति पनि निर्माण हुँदै स्थापित हुँदै जाने गर्दछन् । नेपाली समाज भर्खर केही दशकयता मात्र कृषिप्रधान सामन्तवादी युगबाट पूँजीवादी युगतिर प्रवेश गर्दैछ । हाम्रो देशको कृषिप्रधान समाजको विशेषता भनेको वर्षमा दुई वटा बाली, वर्षे बाली र हिउँदे बालीको खेती गर्ने हो । खेतीपातीको परम्परा, वर्षभरि बदलिरहने मौसम वा ऋतुहरूसँग पनि हाम्रा चाडबाडका कुराहरूलाई मिलाएर हेर्नु पर्छ ।

चैत बैसाखको सुख्खा र चर्कंदो घामको बेलामा हुने अक्षय तृतीया, त्यसपछि साउने सङ्व्रmान्ति, साउन–भदौतिर गाई भैँसी ब्याएर प्रशस्त दुधदही हुने बेलामा हुने तीज, दसैँ, तिहार तथा माघे सङ्व्रmान्ति र यी चाडबाडका बेला खाने गरिएका चिजहरूको र तिनले शरीरलाई दिने ऊर्जाका कुरा पनि बुझ्नु पर्छ साथै बसन्त ऋतुतिर बसन्तउत्सव अथवा फागु पर्वको प्रसङ्ग पनि जान्नु पर्छ ।

विगतका ती कृषिपेशामा आवद्ध मानिसहरूको मनोरञ्जनको साधन के थियो ? के उनीहरू कुनै पर्यटकीय आनन्दमा रमाउन पाउँथे ? के उनीहरूमा कुनै फिल्म या नाटकआदि हेरेर मनोरञ्जन लिने मौका थियो ? के उनीहरू कुनै उपन्यास, कथा आदि अध्ययन गरेर या त धर्मग्रन्थै सही पढेर आनन्द लिने क्षमता राख्तथे ? अहँ कुनै प्रकारको मनोरञ्जनको साधन थिएन या क्षमता पनि थिएन ।

वर्षेबाली लगाई सकेपछि अनि किसानका फुर्सतका दिन पनि आउँछन्, अनि चाडबाड पनि लइन लागेर आउँछन्, अर्थात् ऋषि तर्पणी, तीज आदि आउँछन् । वर्षाको हिलोमैलो सकिएर हिउँदको तीखो जाडो आउनुपूर्व, वर्षे बालीको गोडमेल सकिएको र बाली ढकमक्क फुल्न लाग्दा, बादलले ढाकिरहेको आकास खुलेर प्रकृति नै रमाइलो बनेका बेलामा दसैँ आउँछ । दसैँ त यस्सै तिथिमितिले मात्र आउने होइन, प्रकृति नै दसैँमय भएर पो आउँछ ।

उसो त, चाडबाडमा गरिने तथाकथित परम्परागत ढोङहरूलाई हेरेर जातीय रुपमा वर्गीकरण गरेको पनि पाइन्छ । ऋषितर्पणी पर्वलाई बाहुनको चाड, दसैँलाई छेत्रीको चाड, तिहार अर्थात् लक्ष्मीपुजालाई वैश्यको चाड र फागु पर्वलाई शुद्रको चाड भनेको पनि सुनिन्छ । तर अबको हाम्रो मिश्रित समाज र राज्यमा सबै जातजातिको सहभागिताले र सबै जातजातिका सबैले आफ्नो झुकाव र दख्खल अनुसार सबै पेसा व्यवसाय गर्ने भएकाले जातीय रुपमा चाडबाड पनि रहेनन् र जातीयता छुट्याउने साँधसिमाना पनि भत्किँदै खुइलिँदै गएका छन् । सबैका चाडबाडहरू सबैका साझा हुँदै गएका छन् । अब त जाति, जनजातिका चाडबाडहरू पनि सबैका लागि उतिकै प्रिय, उतिकै रमाइला बनेका छन् । माघे सङ्व्रmान्ति, साउने सङ्व्रmान्ति, उँधौली, उँभौली, गुरुपूर्णिमा, बौद्धपूर्णिमा, छठ, व्रिmसमस, यहाँसम्म कि अब मुस्लिम बहुल क्षेत्रमा इद, बकरिद, रमजान सबैका उतिकै ग्राह्य र प्रिय हुँदै छन् ।

केही स्वार्थी नेताहरूले जातीय सङ्कीर्णतामा मलजल गरेर आफ्नो स्वार्थको रोटी सेक्ने तुच्छ कार्य नगर्ने हो भने नेपाली समाज ‘सप्तकोशीको पानी’ जस्तो बन्दै गएको छ । सप्तकोशीको पानीमा तामाकोसी, सुनकोसी, भोटेकोसी, दुधकोसी, लिखू, अरुण, बरुण, तमोर आदिको पानी मिलित छ । अझ तमोरको पानीमा कावेली, फावाखोला, मेवा खोला, मैवा खोला, इन्द्रावती, हिवा खोला, तीवा खोला, कोया खोलाको पानी छ । आज केही सङ्कीर्ण राजनीतिक स्वार्थीहरूले ‘पहिचान’को तुच्छ कुरा उठाएर अब ‘म त कावेली पो त, म त मैवा खोला पो त’ ‘मेरो कावेलीको पहिचान खोइ ?’, ‘मेरो इन्द्रावती खोलाको पहिचान खोइ ?’ आदि भन्दै सप्तकोशीमा ती नदीको पानीको पहिचान खोज्ने कुरा जस्तो उल्टो गङ्गा बगाउने प्रयत्न गरेका छन् ।

सभ्यताको विकासले कविला युगको जस्तो विशुद्ध जातीय रगत भएको मान्छे आजसम्मको सभ्यताको सामाजिक सम्मिलनको प्रवाहमा कहाँ पुग्यो पुग्यो ! कहाँको जातीय उत्पत्ति भएका बाराक ओबामा आज अमेरिकाको राष्ट्रपति भएका छन् । एउटा नेपाली बाहुन अमेरिकाको एउटा नगरमा मेयर भएका छन्, एउटा नेपाली गुरुङ लन्डनको नगरमा मेयर भएका छन् । एउटा नेपाली केटो अमेरिकाको अन्तरीक्ष वैज्ञानिक अनुसन्धान केन्द्र (नासा)मा अध्ययन गरेर मङ्गलग्रहमा पानी छ भनेर प्रमाणित गर्दैछ ।

दसैँको सर्वग्राह्यताको सबैभन्दा राम्रो पक्ष भनेको यसको प्रसङ्गमा सम्पूर्ण परिवारको पुनर्मिलन, अग्रजबाट शुभआशिर्वाद र अनुजहरूबाट सबैमा आदरसत्कार अभिव्यक्ति हुनु हो । विश्वको पल्लो कुनामा पुगेका छोराबुहारी, छोरीज्वाइँ यही दसैँको अवसर पारेर आफ्ना पुज्य मातापिता, आदरणीय सासूससुरा भेट्न आइपुग्छन् । नजिकै रहेका परिवारजनमा पनि ‘सँगै सुत्दा गोडाले लाग्छ’ झैँ भएर अरिँगाले अरिँगाले भएका छन् भने पनि दसैँको सन्दर्भले धोइफोइ हुन पुग्छन् । दहीअक्षताको टीका त अभिधात्मक मात्रै हो, भावना गाँसिएका लक्षणा, व्यञ्जना त दसंैँका कति हुन् कति !

(लोकतन्त्र पोस्टको दसैँ तिहार विशेषाङ्कबाट)

[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: