सभासद् घिमिरे भारतको बागडोग्रामा मृत फेला

  प्रकाशित मिति
२० फाल्गुन २०७६, मंगलवार १३:२४


भद्रपुर (रासस) । संविधानसभा सदस्य एवम् झापाका पुराना कम्युनिस्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलवार विहानको राति बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्चिम एसियन हाइवेमा उनलाई मृत अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

मेचीनगर–१३ दुहागढी घर भएका उनी विगत ८ वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजिकैको चारआली बजार जान्छु भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए । परिवारले उनको खोजी गरिरहेको थियो ।

उनको शब बागडोग्रा मेडिकल कलेजमा राखिएको र नेपालबाट गएर मृतकका भाइ नरेन्द्र घिमिरेले शब पहिचान गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।

वि.सं. २०२३ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका ७५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं. १ मा तत्कालीन नेकपा माओबादीका तर्फबाट सभासद् निर्वाचित एका थिए । उनले झापा विद्रोहपछि पक्राउ परी ९ वर्ष चरम यातनासहित जेलको सजाय भोगेका थिए भने उनी चर्चित नख्खु जेलब्रेक गर्नेहरुमा एक थिए । पञ्चायती शासकद्वारा उनी प्रधानमन्त्री केपी ओली, नेकपा मालेका महासचिव सीपी मैनालीसँगै जेलमा राखिएका थिए ।

उनी एसियन हाइवेमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै उनको मृत्यु भएको भारतीय प्रहरीबाट जानकारी आएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।

मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् । नेकपा मेचीनगरका अध्यक्ष माधव अर्यालले संविधानसभा सदस्य घिमिरेको असामयिक निधन भएको पुष्टि भएको र शबलाई नेपाल ल्याउन परिवारका सदस्यहरु भारत गइसकेको जानकारी दिएका छन् ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: