समय समयको अनुभूति

  प्रकाशित मिति
२२ माघ २०७३, शनिबार १७:४१


devicharanपिता पं. मधुसुदन खतिवडा र माता पवित्रादेवी खतिवडाको कोखबाट वि. सं. २००१ साल वैशाख १ गते शान्तिनगर–४ पानीघट्टा, झापामा जन्मिएका तेजराज खतिवडा नेपाली साहित्यको क्षितिजमा ‘तेराख’ को नामले सुपरिचित छन् । झापामा जन्म भए पनि उनको बाल्यकाल भने इलाम जिल्लाको इरौटार गाविस वडा नं. ९ मा व्यतीत भएको देखिन्छ । इलाम जिल्लाको हरियाली प्राकृतिक वातावरणले उनलाई सानैदेखि भावुक र संवेदनशील बनाएको हुनुपर्छ । प्रकृतिको काखमा लुटपुटिदै बाल्यकाल विताएकाले पनि उनलाई प्रकृति प्रति मोह जागेको हो कि भन्न सकिन्छ । उनका धेरैजसो कृतिहरुमा प्रकृतिजन्य विषयबस्तुहरुलाई पात्रको रुपमा उभ्याइएको छ । नेपाली साहित्याकाशमा आफ्नो विशिष्ट र अलग पहिचान बनाएका तेराख झापाको समकालीन नेपाली साहित्यमा औंलामा गन्न सकिने नाम हो । झापाली साहित्यमा मात्रै होइन, राष्ट्रियस्तरमा पनि उनलाई नचिन्ने र नपढ्ने कमै होलान् भन्न सकिने प्रशस्त आधारहरु छन् ।

वि. सं. २०४६ देखि मेचीनगर नगरपालिका वडा नं. ६, धुलावारी बजारमा स्थायीरुपमा बसोबास गर्दै आएका तेराख लामो समयसम्म धुलावारी मावि. धुलाबारीमा शिक्षण पेशामा संलग्न रहेको र २०५९ सालदेखि सेवा निवृत्त भएका हुन् । शिक्षण पेशामा रहँदा मात्रै हैन बनारसमा अध्ययन गर्दादेखि नै कविता, कथा लगायतका काव्य विधामा कलम चलाउन थालेका तेराख बाल्यकालदेखि नै साहित्य, कृषि, जडिबुटी, कल्पवृक्ष, उद्योग, सङ्गीत, शिक्षा, राजनीति र भ्रमणमा चासो राख्ने गर्दथे । समाज वर्गीय हुन्छ र वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ भन्ने गीतलाई आत्मसात् गर्दै वामपन्थी राजनीतिमा लागे वापत पञ्चायतकालमा जेल जीवन विताएको तीतो अनुभव पनि छ तेराखसँग ।

अग्लो कद, सेतादारी, झट्ट हेर्दा दार्शनिक व्यक्तित्व । जीवनमा जस्तोसुकै परिस्थिति आइपरे पनि डटेर सामना गर्नु पर्छ भन्ने उच्च मनोवल र आत्मविश्वासका धनी । कहिले नथाँक्ने, उमेरले थाके पनि, केश पाके पनि, साहित्य सिर्जना गर्न किञ्चित् नथाँक्ने र आफुलाई सधैं व्यस्त बनाइरहने । सकारात्मक सोच र रचनात्मक कर्म गर्न रुचाउने बानी । नेपाली साहित्यमा नयाँ खोज र अनुसन्धान गर्न रुचाउने र त्यसलाई आफ्नो सिर्जनामा ढाल्ने उनको विशेषता । यही विशेषताले उनलाई आज पर्यन्त सक्रिय र जीवन्त बनाएको देखिन्छ । वि सं २०२६ सालदेखि उनको साहित्यिक यात्राको प्रारम्भ भएको देखिन्छ जव उनको पहिलो कृति प्रिया (काव्य) प्रकाशित भयो २०२६ सालमा । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । एकपछि अर्को गर्दै उनका काव्य कृतिहरु धमाधम प्रकाशित हुन थाले । २०७३ साल कार्तिक महिनासम्म आइपुग्दा उनका १८ वटा कृतिहरु सार्वजनिक भइसकेका छन् । प्रिय शान्तिनगर (काव्य)( २०२८, प्रजातान्त्रिक तरिकाले शिक्षक (पुस्तिका) (२०५३, महिला कार्यकर्ता(पुस्तिका)( २०५३, अझै यहाँ उस्तै छ (उपन्यासमय नाटक)( २०५३, अलपत्रेका फूलहरु (कविता सङ्ग्रह))( २०५३, पश्चिमी हावा (काव्य)( २०५५, सिमीको बोट (कथा सङ्ग्रह)( २०५६, रातको बाह्रबजे (उपन्यास)( २०५६, म, आगो र पानीहरु (निबन्ध सङ्ग्रह) (२०५६, टेष्टट्युव बेबी (उपन्यासमय नाटक)( २०५७, ढाडेको नाकमा घिउ (कथामय निबन्ध संग्रह)( २०५९, सर्वजा (उपन्यास)( २०६०, मयविधाको प्रस्तावना – २०६२, महानन्द दर्पण( २०६५, गोल चिन्तन( २०६७, मनोकामना (छन्द कविता सङ्ग्रह) – २०६९, दिनको बाह्रबजे उपन्यास (छापाखानामा अप्रकाशित)( २०७२ र सवभन्दा पछिल्लो कृति समय समयका अनुभूति (निबन्ध सङ्ग्रह–२०७३) । तेराखका कृतिहरु प्रकाशित भएको श्रृङखलालाई हेर्ने हो भने २०५३ सालमा ४ वटा र २०५६ सालमा ३ वटा कृतिहरु प्रकाशित भएको देखिन्छ । एकवर्षकै अवधिमा २०५३ सालमा ४ वटा र २०५६ मा ३ वटा कृति नेपाली साहित्यमा दिन सक्नु चानचुने कुरा हुँदै होइन । यस हिसावले हेर्दा तेराख निकै प्रतिभावान सिर्जनशील व्यक्तित्वका धनि हुन् भनेर ठोकुवा गर्न सकिन्छ ।

यस परिचयात्मक आलेखमा तेराखको पछिलो कृति ‘समय समयका अनुभूति’को संक्षेपमा चिनारीसम्म दिने प्रयास गरिएको छ । २०७३ साल कार्तिक महिनामा प्रकाशित यस काव्य कृतिभित्र जम्मा २३ वटा निबन्धहरु सङ्ग्रहित छन् । म उच्चतामा रमाउने गर्छु, चाकामा मह भरिएपछि मौरीले चिल्छ, हामी झैं बनस्पति जगत पनि संवेदनशील छन् गोयासरी राजवंशी (प्रेरणाकी स्रोत, झुल बाहिर टिनटिनाईरहेका मच्छरहरु, जीवन रिलेरेस हो, काग र क्याक्टस, बुढेसकालका तीन आवश्यक्ता, मानव जीवनका महत्वपूर्ण तीन आवश्यक्ता, जिजीविषा औसर र खैरे, रङ्गमञ्चीय बिम्बमा हरिदाइ, अध्याँरोसँग मेरो युद्ध जारी छ, मेवाको बोट (जीवन यात्राको खोज, दशगजामा उभिनेहरु र चमेरे युद्धनीति, अँध्यारोमा कीराहरु जन्मन्छन्, जामुनाको बोट (प्रेरणाको स्रोत, स्रष्टा दार्श्निक चिन्तकहरुका आ–आफ्ना स्वभाव, चिनीको बट्टा र कमिलाहरु, अँध्यारोको यात्राबाट पनि प्रकाश पाएको छु, मध्यरातमा मनको छटपटी, म एक्लो अनुभूतिले बाँचिरहेको छु, आऊ मित्रहरु चरा संस्कृतिमा प्रवेश गरौं र अन्तिम निबन्ध रहेको छ ।

तेराखको यस कृतिकमा साहित्यकार तथा मेची बहुमुखी क्याम्पस भद्रपुरका सह प्राध्यापक नेपाली अनुसन्धान विभाग प्रमुख होम सवेदी शुभकामना दिँदै लेख्छन् ‘तेराखले नेपाली साहित्यमा आफ्नो छट्टट्टै पहिचान राख्न प्रयास गरको पाएको छु ।’ नेपाली साहित्यमा उहाँले मानिस सरह पशु–पक्षी, बनस्पतिलाई पनि पात्र बनाउने मानवेत्तर साहित्यको प्रयोग सर्वप्रथम झापाबाट सुरु गर्नुभयो ।

तेराखलाई शुभकामना दिने दोस्रो साहित्यकार रहेका छन् मेची बहुमुखी क्याम्पसकै सह प्राध्यापक नेपाली विभाग प्रमुख चुडामणि वाशिष्ठ । शुभकामनाकै क्रममा कहिल्यै नथाक्ने साहित्यिक यात्री तेराख भन्दै उनी लेख्छन् –‘सामान्य भन्दा सामान्य विषयवस्तुलाई पनि निबन्धमा स्थान दिनु जस्तोसुकै विषयमा पनि तुरुन्त भावुक बन्नु गाउँघर मेलापात लेक बेंसी सुख दुखका सामान्य ठानिएका कुरालाई निबन्धमा स्थान दिनु ठाउँठाउँमा ब्यङग््यको प्रयोग गर्नु गहन विषयको अभिव्यक्ति पनि सरल भाषामै व्यक्त गर्न सक्नु प्रतिकात्मकतामा विशेष जोड दिनु तेराखको निबन्ध सङ्ग्रहका खास खास विशेषता बन्न पुगेका छन् । काँडाहरु भित्रबाट फुलेको रातो गुलावको फूल शीर्षक दिएर अनिल पौडेल भन्छन्–‘मार्क्सवादी दर्शनशास्त्रमा टेकेर आफ्नो मान्यताको बुकुरोमा मय विधाको दार्शनिक झण्डा पनि गाडेका छन् । सेतै फुलेका कपाल र दाह्री जुँगाभित्रको आवरणमा घात प्रतिघातको यायावर बोकेका छन् । सधैं नियतिको पहाड चढेका छन् र आफन्तहरुकै छिर्के लगाइबाट मझेरीमा लडेका छन् । ठूलो ठाउँमा भएको भए यी ठूला मान्छे हुन्थे तर सानो ठाउँमा ठूला मान्छे भएर नपचेका छन् । लेखनको अग्लाई र शारीरिक अग्लाई बिच तादात्म्यता हुन सके उनी सङ्घीयतामा धरहरा हुने थिए ।’

स्वतन्त्र कलम वाहक तेराखलाई हार्दिक शुभकामना भन्दै विद्वान स्रष्टा प्राडा गोविन्दराज भट्टराई लेख्छन् –‘तेराख साहित्यलाई नवीन दृष्टिले हेर्न सक्ने कला र कल्पनाको वरदान प्राप्त प्रतिभा हुनु हुन्छ । निरन्तर झापामा रहेर कविता काव्य लेख निबन्ध नाटक उपन्यास विचार दर्शनमा उहाँले रोपेका नवीन मार्गहरु धेरै छन् ती कुरा दृष्टिविन्दुमा कला विशेष रुपमा सर्वजामा देख्न सकिन्छ । साहित्यिक अभियन्ता तेराखलाई हार्दिक शुभकामना दिंदै पोखराका स्रष्टा प्राडा यमबहादुर क्षेत्री लेख्छन् ‘सुदुर पूर्व मेची अञ्चल झापाबाट उदाएको एक प्रखर साहित्यिक प्रकाश पूर्वबाट नेपाल ढाक्दै पश्चिमाञ्चल नुवाकोट तनहुँ पोखरा पर्वत स्याङ्जा गुल्मीतर्फ छाउँदै गयो ।’
प्राडा. खेम कोइराला थप्छन् –‘तेराख स्थापित पुराना लेखक साहित्यकार उनको अद्भूत कृति विचार उत्तेजक नयाँ र पुरानुको सङ्मम प्रस्तुतिमा नविनता, विषय छनोटमा नविनता, अनौठो लाग्ने निजत्वको आफ्नै ओज, आफ्नै पन छ ।’ मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख कमल गुरागाईंले देशविदेशका उत्कृष्ट लेखक दार्शनिक चिन्तक विचारकहरुबाट रचिएका कृतिहरुको अध्ययन मनन चिन्तनमा घोत्लिनु र त्यसबाट उत्पन्न सारतत्वलाई आफ्नै शब्द र शैलीमा पाठकमा विभिन्न विधा मार्फत् सम्प्रेषण गर्नु पनि साहित्यकार तेराखको अभिष्ट रहेको बताउँछन् ।

सारांशमा साहित्यकार तेराखले साहित्यका विविध विधाहरु कविता कथा नाटक उपन्यास निबन्ध छन्द कविता आदि विषयमा कलम चलाएको पाइन्छ । उनले कलम चलाएका कतिपय कृतिहरुमा नवीनखोज अनुसन्धान गरेर साहित्यमा नयाँ दर्शन दिने प्रयास पनि गरेका छन् । मय विधा गोल चिन्तन मानवेत्तर प्रकृतिजन्य विषयबस्तुलाई पात्र बनाउनु उनको साहित्यिक वैशिष्ट्यता हो र यसलाई विद्वानहरुले स्वीकारेका पनि छन् । उनका सिर्जनाहरु पढ्दैजाँदा पाठकलाई गम्भीर भएर सोच्न वाध्य बनाउँछ । कसरी यस किसिमको स्वैरकल्पना गरे होला भन्ने लाग्छ पाठकलाई । वास्तवमा पाठकलाई जिज्ञासा र कौतुहलता उत्पन्न गराउन सक्नु तेराखको साहित्यिक विशेषता हो । उनका समग्र कृतिहरुको अध्ययन नगरी एक दुईवटा कृतिहरुको अध्ययनले मात्र तेराखलाई बुझ्न र चिन्न सकिदैन ।

साहित्यकार तेराख साहित्य सिर्जनामा मात्र अल्मलिएर बस्तैनन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक सङ्घ संस्थाहरुमा आवद्ध भएर आफ्नो जीवनलाई गतिशील बनाउन चाहान्छन् । स्रष्टा मञ्च, महानन्द स्मृति केन्द्र इरौनटार, इलाम, त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी, युद्धप्रसाद मिश्र प्रतिष्ठान, चेतना प्रकाशन झापा, सासंक प्रतिष्ठान झापा, साहित्यिक कला सङ्गम दमक, जीवन स्मृति प्रतिष्ठान दमक, सुसली साहित्य परिवार काकरभिट्टा, प्रगति लेखक सङघ, प्रतिभा संरक्षण मञ्च धुलाबारी, राम जानकी मन्दिर शान्तिनगर, नेपाल रेडक्रस सोसाइटी, साहित्य साधना, पासाङ ल्हामु स्मृति जेसिस प्रतिष्ठान, पाउ पाथिभरा उत्तरगङगा प्रवेशद्वार पर्यटन चाराली, झापा, गणेश बहादुर प्रसाईं स्मृति प्रतिष्ठान, श्री कृष्ण गुरुकुल वेद विद्याश्रम भद्रपुर, शहिद दशरथ चन्द उच्च मा. वि. चाराली, त्रिदेव बहुमुखी क्याम्पस चाराली, भानु साहित्य प्रतिष्ठान काकरभिट्टा र रामघाट सेवा समिति धुलाबारी लगायतका संस्थाहरुसँगको आबद्धताले उनको सामाजिक सेवा भावनाको प्रतिवद्धतालाई प्रमाणित गर्दछ ।
साहित्यकार तेराख स्थानीय तथा आञ्चलिक रुपमा विभविन्न साहित्यिक तथा सामाजिक सङ्घ संस्थाहरुबाट सम्मानित हुँदै राष्ट्रिय रुपमा पनि सम्मानित तथा पुरस्कृत हुँदै आएको देखिन्छ । उनले हालसम्म ५१ वटा विभन्न साहित्यिक तथा सामाजिक सङघ संस्थाहरुबाट सम्मानित तथा पुरस्कृत भएको देखिन्छ । यति धेरै सङ्घ संस्थाहरुबाट सम्मानित तथा पुरस्कृत हुनु भनेको निश्चय पनि तेराखको निरन्तर साहित्य साधनाको प्रतिफल हो भन्न सकिन्छ । उनीबाट अझै गहन दर्शन र चिन्तनयुक्त कृतिहरु थपिने कुरामा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: