समर्थन भारत कि चीन ?

  प्रकाशित मिति
३२ श्रावण २०७४, बुधबार १३:४६


indrasing

नेपालको दुई ठूला छिमेकी राष्ट्र भारत र चीनबीच युद्धको सशंय कायम छ । दुवै राष्ट्र एक अर्काप्रति आक्रामक देखिएका छन् । दुवै मार हान्नको लागि ‘पर्ख र हेर’ को स्थितिमा छन् । भारत र चीनबीच जारी गतिरोध कहिलेसम्म रहन्छ र यसको अन्त्य कसरी हुन्छ भनेर यतिखेर विश्वको चासो र चिन्ताको विषय बनेको छ । यी दुई महाशक्ति राष्ट्रबीचको गतिरोधमा छिमेकी नेपालको भूूमिका के हुनेछ ? नेपालको लागि कसैको पक्ष लिनु कतिको सहज हुनेछ ? नेपाल र नेपाली जनताभन्दा पनि आपसमा भिड्न लागेका भारत र चीनको दिमागमा खेलिरहेको प्रश्न हो यो । तर, अहिलेसम्म नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छैन । छिमेकी राष्ट्र भारत र चीनले नेपालको मुख ताकिरहेका छन् कि सङ्घर्ष चर्कियो भने नेपालले कसलाई वक–अप गर्नेछ वा रमिते बनेर हेर्नेछ ।

दुई देशबीच युद्ध चर्कियो भने नेकपा माओवादी केन्द्रका विर्तामोड नगर इञ्चार्ज अरुणकुमार श्रेष्ठ भारतको पक्ष लिने बताउँछन् । पत्रकार रञ्जित परियार पनि भारतकै समर्थक हुन् । गैरसरकारी संस्था महासङ्घ झापाका पूर्व अध्यक्ष रुद्र सिटौला भने शक्तिशाली चीनले यसपटक पनि युद्ध जित्ने दाबी गर्छन् । तर, काङ्गे्रस सांसद सुधिरकुमार शिवाकाटी र एमाले सांसद रविन कोइराला दुई छिमेकीबीचको विवादमा तटस्थ बस्नु नै उचित ठान्छन् । असंलग्न परराष्ट्र नीति नेपालले अँगाल्दै आएकाले दुई छिमेकीबीचको विवादमा फस्न नहुने उनीहरुको भनाई छ । यी धारणा विल्कुल निजी र व्यक्तिगत हुन् । दोक्लाम प्रकरणमा केही स्वाभाविक त केही अनावश्यक चर्चाहरुले यतिबेला नेपाल र नेपाली तरङ्गित भएका छन् । थरिथरिका भनाई आएका छन् । कतिपयले हामीले यसमा बोल्नैपर्ने धारणा राखेका छन्, के र किन बोल्नुपर्ने भन्नेमा आफैँ प्रष्ट नभए पनि । अर्कोतर्फ आफ्ना दुई भीमकाय छिमेकीको द्वन्द्व बढेर आफैलाई असर गर्ने हो कि भन्ने त्रास स्वाभाविक हो । दुई ढुङ्गाको तरुलका रूपमा रहेकाले चेपुवामा परिएला कि भन्ने चिन्ता पनि स्वाभाविकै हो ।

सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा नेपालले निर्वाह गरेको भूमिका ६ दशकपछि पनि त्यही हुनेछ, वा नेपाल कसैको पक्षधर हुनेछ ? प्रश्न उठाइएको छ । त्यतिबेला नेपालले कसैको पक्ष लिएको थिएन । टोलमा दुईजना छिमेकीबीच झगडा पर्दा तेस्रो छिमेकीमाथि शङ्का गर्ने चलन जस्तै नेपालको सम्बन्ध कोसँग बढी निकट छ भनेर यतिबेला दुवै छिमेकी देशले कर्के नजरले चियो गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुले नेपाल र चीनबीचको हरेक क्रियाकलापलाई ठूलो चासोका साथ हेरिरहेका छन् । चीनको हेराई पनि त्यस्तै हो । भर्खरै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीनको निमन्त्रणामा ल्हासा गएको घटनाले भारत सरकारलाई छटपटी गराएको छ । भ्रमणका व्रmममा चीनले ओलीलाई आफूसँगको तनावका बारेमा ब्रिफिङ गरेको भारत सरकारको आशंका छ ।

चीन–भारतबीच सन् १९६२ को युद्धमा त्यतिखेर नेपालको तर्फबाट राजाले साँढेको जुधाई बाछाको मिचाइमा नेपाल पर्न चाहँदैन भन्दै दुवै छिमेकीले वार्ताबाट समस्या समाधान गर्न जोड दिऊन् भनेर अपिल गरेका थिए । नेपाल सरकारले तटस्थ नीति अंगीकार गरेको थियो । सन् १९५० को सन्धीलाई मान्ने हो भने नेपालले त्यतिवेला भारतलाई साथ दिनुपर्ने थियो । तर, नेपाल सरकारले पूर्ण रूपमा असंलग्नताको नीतिलाई अंगीकार गर्यो ।

अहिले र सन् १९६२ को भारत–चीन युद्धको मूल कारण पनि सीमा विवाद नै हो । तिब्बतमा सन् १९५९ मा भएको विद्रोहपछि भारतले तिब्बती धार्मिक नेता दलाई लामालाई शरण दियो । यो घटनासँगै भारत–चीनको सीमाक्षेत्रमा हिंस्रक घटनाहरूको एउटा सिलसिला सुरु भयो । भारतले त्यतिखेर म्याकमहोन सीमा रेखासँग जोडिएका क्षेत्रमा सैनिक चौकीहरू स्थापित गरेको थियो । सन् १९१४ मा बेलायत र तिब्बती सरकारबीच सिमला सम्झौताअन्तर्गत कोरिएको सीमारेखालाई म्याकमहोन सीमारेखा भनियो । सन् १९६२ मा भारतले म्याकमहोन रेखालाई आधार मानेर सीमाक्षेत्रमा आफ्ना चौकीहरू स्थापना गरेपछि भारत र चीनबीच सीमायुद्ध भएको थियो ।

२० अक्टोवर १९६२ मा भारतको लद्दाख र म्याकमहोन क्षेत्रमा चीनले एकसाथ हमला सुरु गरेको थियो । चीन त्यतिखेर शक्तिशाली देखिएको थियो र भारतका केही भूभाग उसले कब्जा गरेको थियो । एक महिनापछि चीनले युद्धविरामको घोषणा गरेर विवादित क्षेत्रमध्ये एक ठाउँबाट आफ्ना सेनालाई फिर्ता लगेको थियो । चीन फिर्ता भए पनि भारतका एक दुई ठाउँ चाहिँ यो युद्धपछि सधैँका लागि चीनको नियन्त्रणमा गएको थियो । सन् १९६२ को भारत–चीन युद्ध कठिन परिस्थितिमा भएको लडाइँको रूपमा चिनिन्छ । त्यो युद्धमा धेरैजसो लडाइँहरू १४ हजार फिटभन्दा माथिको अत्याधिक चिसो क्षेत्रमा भएका थिए । युद्धमा चीन र भारत दुवैले नौ सैनिक र वायुसैनिक वलको प्रयोग गरेका थिएनन् । सन् १९६२ को भारत–चीन युद्धमा एक प्रकारले भारतको हार नै भएको थियो ।

रोटी र बेटीको सम्बन्ध बताउने भारतको बारेमा नेपालमा केही टिकाटिप्पणी उठ्ने गरेको छ । नेपालमा महाभूकम्पपछि भारतले लगाएको नाकाबन्दीले उसँगको बर्षौँदेखिको सम्बन्ध पहिला जस्तो छैन । नेपाली जनताले भारतलाई सन्देहको दृष्टिकोणले हेर्न थालेका छन् । अर्कोतर्फ नेपालमा राजतन्त्र अन्त्य भएपछि चीनको उपस्थिति बढेको छ । विगतमा नेपालको हरेक क्रान्ति भारतबाट सञ्चालित हुने गरेकोमा अहिले नेपाली राजनीतिमा चीन एउटा प्लेयरको रुपमा देखिएको छ । नेपालसँग शान्तिपूर्ण समाधान गर्न अपिल गर्नुको विकल्प छैन । थप द्वन्द्व नै चर्किएको स्थितिमा पनि सरकार र आमनागरिकले कुनै देशको पक्षपोषण गर्नु हुँदैन । चीन अहिले विश्वको तेस्रो शक्तिशाली देश अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । भारत विश्वको पाँचौँ शक्तिशाली मुलुक हो । त्यसैले नेपालले कुनै एउटा शक्तिको पछि लागेर अर्को शक्तिशाली मुलुकसँग सम्बन्ध बिगार्न सक्दैन । हाम्रा लागि दुवै छिमेकी मुलुक समान हुन् भन्ने गरी सन्देश दिनुपर्छ । कसैको थोरै नजिक हुने बित्तिकै नेपाल असुरक्षित हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: