समाचार प्रभाव ः क्षितिजले पाए अपाङ्गताको भत्ता कार्ड पनि

  प्रकाशित मिति
२४ श्रावण २०७७, शनिबार १३:५६


झापा, २४ साउन (रासस) । मेचीनगर नगरपालिका वडा नम्बर–३ दोकान डाँडाका पक्षघातका रोगी १६ बर्षीय क्षितिज राईले ‘क’ वर्गको रातो अपाङ्ग कार्ड र ह्वील चियर पाएका छन् ।

राष्ट्रिय समाचार समितिमा ‘क्षितिजलाई न अपाङ्ग भत्ता न ह्वील चियर’ भन्ने शीर्षकमा समाचार छापिएपछि स्थानीय नगरपालिकाले उनलाई आज रातो कार्ड बनाइदिएको छ भने लायन्स क्लब अफ भद्रपुरले ह्वील चियर प्रदान गरेको हो ।

रातो कार्ड पाएसँगै उनले अब ‘क’ बर्गको अपाङ्गले पाउँदै आएको मासिक रु. तीन हजार भत्ता पाउने भएका छन् । राससमा आएको समाचार विभिन्न पत्रिका, अनलाइन र रेडियोमा समेत प्रसारण भएपछि उनलाई ह्वील चियर प्रदान गर्न धेरैले इच्छा देखाएका थिए ।

लायन्स क्लव आफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल, बिजय डालमिया, गोपाल खनाल र प्रकाश उप्रेती क्षितिजका घरमा ह्वील चियर लिएर पुगेका थिए । मेचीनगर –३ का वडाध्यक्ष हर्क बस्नेतले क्षितिजको घरमै पुगेर उनको जन्म प्रमाणित गर्न आउन हजुरबुबा कुमार लिम्बूलाई आग्रह गरे ।

वडा कार्यालयबाट जन्म प्रमाणित र सरकारी अस्पतालबाट दिइएको स्वास्थ्य प्रतिवेदनको आधारमा आज मेचीनगर नगरपालिकाको अपाङ्ग समन्यव समितिले उनलाई रातो कार्ड उपलब्ध गराएको हो ।

वडाध्यक्ष बस्नेतले अब यही आर्थिक बर्षदेखि उनले ‘क’ वर्गको अपाङ्ग भत्ता वापत मासिक रु. तीन हजार पाउने बताए । १६ बर्षदेखि निरन्तर नातिको हेरचाह गर्दै आएकी हजुरआमा चन्द्रमाया लिम्बूले बर्षौदेखि उल्टो मुडामा बस्दै आएको नातिले ह्वील चियर र परिचयपत्र पाउँदा खुशी व्यक्त गर्दै भनिन्, ‘ह्वीलचियरले अब उसलाई भित्रबाहिर गराउन सजिलो भयो । नातिले भत्ता पनि पाउने भयो ।’

जन्मिएको सात महिनामै बाबु बेपत्ता भएको र आमा समेत रोजगारीको सिलसिलामा कतारमा रहेपछि उनको हेरचाह मावलीकी हजुरआमाले गर्दै आएकी थिइन् । बोली नआउने र हात खुट्टा समेत नचल्ने उनी सात महिनामै निमोनियाको रोगी भएका थिए । त्यही रोगले उनलाई शारीरिक रुपमा अशक्त बनाएको उनकी हजुरआमा चन्द्रमायाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: