मेचीनगर, २० साउन । बासको मुडा उभिण्डो पारेर दिनभरि बस्न बाध्य मेचीनगर–३ दोकानडाँडाका १६ वर्षीय शारीरिक अशक्त क्षितिज राईले आज ह्वीलचियर पाएका छन् ।
बाबु वेपत्ता र आमा वैदेशिक रोजगारीमा कतार गएपछि रातोदिन स्याहार्दै आएकी मावली हजुरआमा चन्द्रमाया लिम्बुले नातिले ह्वीलचियर पाएकोमा खुशी व्यक्त गर्दै आँखाबाट हर्षका आँशु खसालेकी छन् ।
‘तपाईहरुले ठूलो कल्याण गरिदिनुभयो, अब मेरो नातिले ह्वीलचियरमा बस्न पाउने भयो’–हजुरआमा चन्द्रमायाले भनिन् ।
क्षितिजलाई भद्रपुरको लायन्स क्लवले आज ह्वीलचियर उपलब्ध गराएको हो । लोकतन्त्र पोस्ट अनलाइनमा क्षितिजको अवस्था बारे छापिएको समाचार पढेपछि ह्वीलचियर दिने सोच आएको भद्रपुर लायन्स क्लवका अध्यक्ष योगेन्द्र पौडेलले बताए ।
अध्यक्ष पौडेल लायन्सका साथीहरु गोपाल खनाल र प्रकाश उप्रेतीलाई लिएर आज अपरान्ह ह्वीलचियर प्रदान गर्न क्षितिजको घर पुगेका थिए ।
लायन्सको टोलीले क्षितिजलाई बासको मुडाबाट बोकेर ह्वीलचियरमा राखेको थिए । क्षितिज बोल्न नसके पनि उनको अनुहारमा खुशी छचल्किएको प्रष्ट देख्न सकिन्थ्यो ।
ह्वीलचियर हस्तान्तरण अवसरमा मेची अभियानका संयोजक बिजय डालमिया, स्थानीय पत्रकार देबु बानियाँ, लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी र छरछिमेकीहरुको उपस्थिति थियो ।