समावेशी बन्दै पर्वहरू

  प्रकाशित मिति
२९ मंसिर २०७३, बुधबार १०:५९


udouli

मेचीनगर । एउटा निश्चित जातिको पर्व भएता पनि त्यसमा सहभागिता या त्यसबाट आफ्नो पर्व जस्तै आत्मियता व्यक्त गर्ने सवालमा अरु जातिका मानिसहरू पनि सहभागिता बढ्न थालेको छ । हामीसँग राईले मनाउने साकेला पनि छ । त्यहाँ लिम्बू पनि नाचिरहेका हुन्छन् ।

लिम्बूले नाच्ने धान नाच हुन्छ, त्यसमा च्याबु्रङ बजाउँदै गर्दा बाहुन, दलित जातिका मानिसहरू पनि त्यहाँ झुमिरहेका हुन्छन् । नेवारले मह पुजा गरिरँहदा तामाङ पनि मिसिएका हुन्छन् । तामाङ, गुरुङ तथा शेर्पाले ल्होसार मनाउँदै गर्दा त्यहाँ क्षेत्री, ब्राहमण तथा दलित समुदायका मानिसहरू पनि सहभागि भइरहेका हुन्छन् ।

मङ्गलवार मेचीनगर–८ माङहिम मन्दिरमा यस्तै दृष्य देखियो । जहाँ प्रस्तुत भएको लिम्बू जातिको च्याबु्रुङ नृत्यमा सुनिता दर्जी सहभागि थिइन् । उनी विगत ३ वर्षदेखि च्याबु्रङ नृत्यमा आफुलाई सहभागि गराउँदै आएकी छिन् ।

‘पर्व सबैको साझा बन्नु पर्छ’ उनले भनिन् –‘हामी समाजमा बसेपछि सबै जातजातिले मनाउने पर्वसँग रमाउन सक्यौँ भने मात्र समाजको अस्तित्व हुन्छ ।’

सुनिता मात्र होइन यस च्याबुङ नृत्यमा प्रकाश ढुङ्गेल, अञ्जली राई, फुलमाया राई पनि सहभागि थिए । उनीहरू यस नृत्यका हरेक स्टेपहरूमा आफुलाई सहजै नचाइरहेका देखिन्थे ।

यता राई जातिले नाच्ने गरेको चण्डि नृत्यमा कुमार राउत पनि झ्याम्टा बजाउँदै स्टेज चढे । उनी पनि लामो समयदेखि चण्डि नृत्यमा आफुलाई सहभागि गराउँदै आएका छन् । बाहुनडाँगी– दोकानडाँडाबाट सहभागि भएको उक्त नृत्यमा सपना कार्की, आयुषा शेर्पा पनि चण्डि नृत्य रमाइरहेका देखिन्थे ।

चासोक तङ्नामको अवसरमा आयोजना भएको ३ दिने मेलाको पहिलो दिन प्रस्तुत झाँकीमा देखिएको यो दृष्यले पर्वहरू समावेशी बन्दै गएको ज्वलन्त उदाहरण पेश गरेको देखिन्थ्यो ।

‘पछिल्लो समय हाम्रा चाड पर्वमा समावेशी सहागिता हुन थालेको छ’ किराँत याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलिप सुब्बाले भने –‘हामीले विगत १० वर्षदेखि यस ठाउँमा यो चासोक तङनाम मनाउँदै आएका छौँ जहाँ हरेक वर्ष सबै जातजातिको सहभागिता हुने गरेको छ । अझ यो चासोक तङनाममा यस क्षेत्रमा रहेका सबै जातजातिहरूले सव्रिmय सहभागिता जनाउँदै आएका छन् । यहाँ छेत्री ब्रामहण समुदायको सगिनी नृत्य, मेचे, धिमाल, मुण्डा, राई, तामाङ समुदायका जातिजातिको नृत्य तथा झाँकीहरू प्रस्तुत हुँदै आएका छन् । जसले हाम्रो समाजको एकतालाई बलियो बनाउने गर्छ ।’

चुम्लुङ मेचीनगरका निर्वतमान अध्यक्ष हर्क फ्याकले विभिन्न जातजातिको झाँकी नृत्यमा देखिएको समावेशीताले सबैमा सबै पर्वको महत्व झल्एिको बताए । उनले यसरी नै सबैले आत्मियता देखाउने हो भने जुनसुकै पर्वहरुका बारेमा सबै जानकार हुने बताए ।

नेपालीसँग जुन जातिय, धार्मिक तथा साँस्कृतिक विविधता छ, त्यो वास्तवमै अहिलेको राजनीतिक समावेशीतालाई बल्ल बुझ्दै गरेको बेलामा हाम्रो संस्कारले, हाम्रो संस्कृतिले समावेशता हाम्रो मानसिकतामा भर्दै गएको छ । यसैले सबै पर्वहरु साझा बन्दै गएका छन्, समावेशी बन्दै गएका छन् । हामी एउटाले अर्का जातिको पर्वहरूमा कुनै पानी बाराबार नगरी त्यो पर्वहरूमा आनन्दित हुन लागेका र्छाैँ । त्यसले हाम्रो समाजको अखण्डतालाई, हाम्रो समाजको एकतालाई, हाम्रो राष्ट्रिय मनोवललाई बलियो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: