समृद्धिका सारथीहरु

  प्रकाशित मिति
१२ आश्विन २०७४, बिहीबार १७:२२


durga» दूरदर्शी दुर्गा

विश्व सम्राटको लक्ष्य बोकेका नेपोलियन बोनापार्टले ‘असम्भव भन्ने शब्द मेरो शब्दकोशमा छैन’ भनेका थिए । यो भनाइ प्रखर युवा दुर्गा प्रसाइँको जीवनगाथामा ठ्याक्कै मेल खान्छ ।

दशक अघिसम्म भैँसी पालन गरेर बसेका उनलाई डा. रामबाबु गिरी लगायतका नातेदारहरुले ‘मेडिकल कलेज’ खोल्ने हुटहुटी जगाइदिए । त्यसबेला पूर्व परराष्ट्र मन्त्री चक्र वाँस्तोला पनि मेडिकल कलेज खोल्ने प्रयासमा थिए ।

कुनै पनि काममा कम्मर कसेर भिड्ने स्वाभाव भएका उनी ओमसाई हस्पिटलका सञ्चालक दिपक पोखरेल र चक्र वाँस्तोलालाई आफ्नो योजना सुनाउन गए । उनको योजना पोखरेल र वाँस्तोलाले पत्याएनन् ।

खासमा कुरा के हो भने उच्च शिक्षा समेत हासिल नगरेको भन्दै दुर्गाको मेडिकल कलेज खोल्ने योजनालाई समाजले पत्याउन गाह्रै भयो । तर ठूलो काम गर्न धेरै शिक्षा आर्जन गरेको सर्टिफिकेटधारीको होइन, दृढ इच्छाशक्ति र आँट भएको दूरदर्शी नेतृत्वको खाँचो हुँदो रहेछ । त्यसकै फलस्वरुप दुर्गाकै दिमाग र पसिनामा सहरको परिचय फेर्ने हैसियत राख्ने ६०० बेडको अत्याधुनिक सुविधायुक्त वीएन्डसी टिचिङ हस्पिटल आज विर्तामोडको वैभव बनेर ठिङ्ग उभिएको छ ।

मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेको वीएन्डसीमा अहिले ६ अर्ब लगानी भइसकेको छ भने यसमा ७२ जना डाक्टर समेत गरी करीव ७ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘मेचीका २५ लाख जनतालाई सुविधा पुर्याउन हस्पिटल खोलिएको हो’, दुर्गा भन्छन्–‘बीएन्डसी युनिभर्सिटी बनोस्, मुटु र किड्नी प्रत्यारोपण भएको आफ्नै आँखाले देख्न पाउँ, मेरो यही चाहना छ ।’

………………………………………..

capten»  जेट उडाउने प्रथम महिला

सानो छँदा उनी राम्रा चित्र कोर्थिन् । सुन्दर हिमाल, फुल र हवाइजहाज उनको चित्रकारितामा प्रतिविम्बित हुन्थे । केटा जस्तो हक्की स्वाभावकी थिइन् रे, आँटी अनि अलिक जिद्धीवाल ।

काठमाडौँको पाइलट परिवारमा हुर्किएकी र हाल विर्तामोड–५ घर भएकी भावना पन्त गिरी जेट विमान उडाउने नेपालकै प्रथम महिला हुन् ।
उनी सौर्य एयरलायन्सको जेट उडाउँछिन् । हरेक दिन भद्रपुर विमानस्थलमा अवतरण गर्ने जेटको ककपिटमा उनलाई देख्न सकिन्छ ।

१० हजार भन्दा बढी पटक विमान उडाएको अनुभव भएकी भावना नेपालकै तेस्रो महिला पाइलट पनि हुन् ।

सामाजिक सेवा र व्यवसायमा लागेका विर्तामोडका आशिष गिरीसँग उनको विवाह भएको छ । उनका बुवा बलराम पन्त र भाइ भाष्कर पन्त पनि पाइलट नै छन् ।
रसियाको किभबाट पाइलट कोर्स गरेकी उनले नेकोन एयरबाट सन् १९९७ मा डेब्यू गरेकी थिइन् । त्यसपछि बुद्ध एयरमा ९ वर्ष पाइलट काम गरी हाल सौर्य एयरलायन्समा आएकी छन् ।

‘आत्मविश्वास भए पछि हवाइजहाज उडाउनु कुनै गाह्रो काम हो जस्तो लाग्दैन’, वुवाको प्रेरणाले पाइलट पेशामा लागेको बताउँदै भावना भन्छिन्–‘छोरीमान्छे कमजोर हुन्छन्, साहसी काम गर्न सक्दैनन् भनेर गफ दिनेहरु मलाई देखेपछि जिब्रो टोक्छन्, त्यतिखेर ज्यादै खुशी लाग्छ ।’
………….

dr. rai» सेवामा समर्पित शरदचन्द्र

दुई वर्ष अघि आँखा देख्न छाड्नु भएकी दार्जीलिङकी ८६ वर्षीया एउटी हजुरआमाको शल्यक्रिया काँकरभिट्टाको मेची नेत्रालयमा भएको थियो । ३ महिनापछि लौरो टेकेर फ्लोअपमा आउँदा उनले डा. शरदचन्द्र प्रकाश राईलाई भेटेर ‘आफुलाई संसार हेर्न सक्ने बनाइदिएको’ भन्दै भगवानकै रुपमा प्रशंसा गरेकी थिइन् ।

यसै वर्ष आसामको एक व्यक्तिले उनकी आमाले उपचार क्रममा उच्च सम्मानजनक व्यवहार पाएको भन्दै २ पेज लामो धन्यवाद पत्र डा. राईलाई पठाएका थिए ।

त्यसमा भनिएको थियो–‘मेरी बुढी आमालाई त्यस मेची नेत्रालयमा उपचारका लागि जाँदा गार्डदेखि कर्मचारी, नर्स र डाक्टरसम्मले आमा भनेर सम्बोधन गर्नु भएकोमा ज्यादै हर्षविभोर भएको छु ।’

सबै विरामीको प्रशंसाका पात्र बनेका डा. राई बोलीचाली र व्यवहारमा जति सरल, स्नेही र मिलनसार छन्, उनमा पेशागत दक्षता र योग्यता पनि उत्तिकै प्रखर छ ।
चेन्नाईको शङ्कर नेत्रालयबाट रेटिना विशेषज्ञको डिग्री पाएका उनले मेची नेत्रालयमा मात्र विगत एक दशकमा ५५ हजारको आँखाको शल्यक्रिया गरिसकेका छन् ।

उनका वुवा भारतीय नेभीको इन्जिनियर थिए । बुवासँगै भारतमा पढेका उनले डाक्टरी पढाई सके पछि भने स्वदेशमै सेवा गरिरहेका छन् । दैनिक ४ देखि ८ घण्टासम्म शल्यक्रियामा व्यस्त रहने उनले नै काँकरभिट्टाको गहनाको रुपमा सञ्चालित मेची नेत्रालयको स्थापना गरेका हुन् ।

नेपालमै कहलिएका रेटिना विशेषज्ञ डा. शरदचन्द्र प्रकाश राईले नेत्रालय र दुर्गाचन्द्र मेमोरियल ट्रस्टको नामबाट सामाजिक सेवामा समेत योगदान पुर्याइरहेका छन् ।
एक सफल डाक्टरको रुपमा परिचित डा. राई आफ्नो सफलता बारे भन्छन्–‘काम सबैले गर्छन्, तर मिहेनत महत्वपूर्ण कुरा हो ।

आज मेची नेत्रालयको जुन सफलता छ, यसले समाजमा जुन योगदान पुर्याइरहेको छ, त्यसमा मेरा सबै स्टाफ र टिमको उत्तिकै मिहेनत र परिश्रम मिसिएको छ ।’
…………….

mahendra» सरकार जस्तै सहारा

विर्तामोडको सहारा नेपालले अबको ६ वर्षपछि आफ्ना ५ लाख सदस्यको शतप्रतिशत स्वास्थ्य उपचारको जिम्मेवारी लिदैछ । यसका लागि उसले सदस्यहरुलाई ‘जीवन बरदान’ अभियानमा आवद्ध गराउँदै ५० करोडको स्वास्थ्य कोष निर्माण गरिरहेको छ ।

झापाको आधा जनसङ्ख्याको उपचार दायित्व लिने यस्तो कार्यमा सरकारले पनि आँट गर्न सकेको छैन । सहाराले सदस्यहरुलाई ७ सय ५० भन्दा बढी किसिमका शल्यक्रिया गरिदिने जनाएको छ भने नेपालमा असम्भव उपचार विदेशमा लगेर पनि गराउने बचन दिएको छ ।

यो महान कार्यको अगुवाई गरेका छन्–सहाराका सीइओ महेन्द्र गिरीले । उनकै रचनात्मक ब्रेनको उपज हो–सहारा ।

५ अर्ब ५० करोड रुपैयाँको वासलात भएको सहारा बचत तथा ऋण सहकारी संस्थाको स्थापना २०५३ सालमा महेन्द्रकै परिकल्पनामा भएको थियो । गाउँका महाजनले चर्को व्याजमा ऋण दिने गरेको र एक हजार रुपैयाँको खुद्रा साट्न पनि विर्तामोड नै धाउनु पर्ने बाध्यताबाट उनमुक्ति खोज्ने सिलसिलामा सहाराको जन्म भएको उनी बताउँछन् ।

महेन्द्रकै नेतृत्वमा सहाराले गरिरहेको लोककल्याणकारी गतिविधि देख्दा लाग्छ–सहारा भनेको कतै सरकार नै त होइन ! केही वर्षभित्रै ५० वटा मन्टेश्वरी स्कुल खोल्ने र हजारौँलाई रोजगारी दिलाउने गरी सहाराकै सदस्यहरुलाई उद्योग खोल्न लगाउने नयाँ योजना उनले कार्यान्वयनमा लगिसकेका छन् ।

सहाराकै अभियानबाट कनकाईमा अढाई करोडको लागतमा समर्पण सामुदायिक भवन बनेको छ । सर्पदंश उपचार केन्द्र सञचालनमा आएको छ ।
सदस्यहरुको जीवनमा नसोचेको परिवर्तन ल्याउने समृद्धि योजनाका साथ अघि बढेका सहाराका परिकल्पनाकार महेन्द्र भन्छन्–‘मेरो लक्ष्य राजनीतिक पद होइन, समृद्धि हो ।’

………………….

ramchandra» एनएमसी टाइम

‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’–यो गीतले व्यक्तिको जीवनमा मायाले पार्ने प्रभाव बोध गराउन खोजेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेतीको योगदानलाई सम्मान गर्दै त्यही गीतलाई अलिकति मोडिफाइ गरेर भन्न सकिन्छ–‘एउटा मान्छेको सोचाइले कति फरक पर्दछ समाजमा ।’

मानिसहरु आज सही समय जनाउन ‘एनएमसी टाइम’ भन्न थालेका छन् । तोकिएको समयमा कार्यक्रम सुरु र समापन गर्ने ट्रेन्ड नै बसाएको छ एनएमसीले । काँकरभिट्टामा किराना पसल चलाउँदै गर्दा एनएमसी जन्माउने सोच बनाएका रामचन्द्रले सो संस्थालाई आफ्नो सम्पूर्ण पसिना सिञ्चित गरेर मुलुककै उत्कृष्ट र सफल सहकारीको रुपमा चिनाएका छन् ।

समय, विधि र मिहेनतले संस्था चलायो भने सफल भइन्छ भन्ने मान्यतामा अडिग उनकै अगुवाइमा एनएमसी डेरी उद्योग स्थापना भएको छ । परम्परागत डेरी व्यवसायलाई सहकारीको माध्यमबाट उन्नत व्यावसायिक स्वरुपमा ढाल्न उनले अथक मिहेनत गरिरहेका छन् ।

एनएमसीले नै आगामी ६ वर्षभित्र झापालाई कागतीमा आत्मनिर्भर बनाउने नयाँ अभियान सुरु गरेको छ । पाँच वर्षभित्र १ लाख कागतीका विरुवा रोप्न लगाउने र टमाटर उत्पादन गरे सरह गाउँ गाउँबाट कागती उत्पादन गर्ने एनएमसीको उद्देश्य रहेको छ ।

२०७२ फागुन २४ गते विर्तामोडका नरेश खरेलको छतमा पूर्व गभर्नर डा. युवराज खतिवडाले कागतीको विरुवा रोपेर यो अभियानको सुरुवात गरेका थिए । अहिले अभियान सफल बनाउन एनएमसीका ४२ हजार सदस्य प्रत्यक्ष रुपमा होमिएका छन् ।

(लोकतन्त्र पोस्टको दसैँ म्यागेजिनमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: