समृद्धिमा छोपिने अपराधीकरण

  प्रकाशित मिति
२० श्रावण २०७५, आईतवार ११:०७


केही दिनअघि मात्र कञ्चनपुर भिमदत्त नगरपालिका–२ की १३ वर्षीया कक्षा आठमा अध्ययनरत् निर्मला पन्त नामकी बालिका ट्युसन सकाएर घर फर्कने क्रममा बलात्कार मात्र भइनन्, उनको ज्यानै समेत लिइयो । यो घटना र यसपछि उत्पन्न परिस्थितिले समाजको अस्तित्व नै अवसान भएको भन्न सकिदैन होला । किनकि बालिकाको शव समेत समाजले उठाउन नदिई निरन्तर न्यायका लागि आवाज उठाएको देखियो । तर, कानुन कार्यान्वयनको पक्ष फितलो र निस्प्रभावी भएको भने देखियो ।
बालिका बेलुकी ८.०० बजेसम्म घर नआए पश्चात परिवारले प्रहरीलाई खबर गर्दा आज रात पर्यो भोलि उज्यालो भएपछि खोजौँला भन्ने प्रहरीको जवाफ आउनु कानुन कार्यान्वयनको कमजोरी अवस्था हो भन्न हिच्किचाउनु पर्दैन । तत्काल प्रहरी बालिका आउने बाटोतर्फ गएको भए उनको मृत्यु हुँदैनथ्यो कि भन्ने सम्मको शङ्काको सुविधा सधैँ रहने भयो । राज्य संयन्त्रले समयमा ध्यान पुर्याउन नसक्दा बालिकाको ज्यान त गयो नै प्रहरी समेतको भूमिकामा प्रश्न उठ्यो ।

विद्वानहरु भन्छन्, ‘मात्र दुई यस्ता तत्वहरु छन् जसका कारण मानिस मानिस हुन्छ नत्र पशु नै हुने हो ।’ समाज र कानुन यी दुई तत्वहरु हुन् जसका कारण मानिस हुन बाध्य भएको हो भन्ने तर्कहरु सुनिन्छ । समाज त्यो हो, जसले मूल्य र मान्यता निर्माण गर्दछ । निर्मित मूल्य र मान्यताको सामाजिकीकरण हुने क्रममा लोक लज्जाका लागि समेत मानिस नियन्त्रणमा हुनुपर्ने अवस्था देखिन्छ । समाजले के भन्ला भन्ने विचार हरेक मानिसमा आउनु यसैको कारण हो । यस्तै अर्को तत्व कानुन हो जसको नियन्त्रणमा मानव समुदाय रहेको हुन्छ । राज्यले बनाएको कानुन बाध्यकारी हुन्छ र त्यसको विपरीत गएमा दण्ड सजाय हुन्छ ।

हिजोआज ६ वर्षदेखिका बालिका ६० वर्ष माथिका महिला बलात्कार हुनु, बलात्कार जस्तो सर्मनाक हर्कत समेत बारम्वार सुनिनु, अझ बलात्कार पश्चात पीडितको ज्यानै लिनुजस्ता व्यवहारले माथि उल्लेख गरिएको समाज र कानुन दुवै तत्वहरुको अवसान हुन लागेको त हैन भन्ने प्रश्न उठ्न थालेको छ । समाजका कारण लज्जा उत्पन्न हुने भएपनि यो अवस्था आउने थिएन र कानुनले आफ्नो भूमिका खेलेको भए समेत यस्ता घटनामा कमी आउने थियो ।

भूमण्डलीकरण कारण आज समाज हामीले भने जस्तो सानो आकारको छैन । विश्वको एक कुनामा भएको कुनै घटना सूचना र सञ्चारको माध्यमबाट क्षणभरमा नै विश्वभरि फैलन्छ, यातायातका कारण रोग यसैगरी एक स्थानबाट अर्को स्थानमा पुग्दछ । फेसन, भोजन, मनोरञ्जनसँगै अपराधका शैलीहरु समेत यसैगरी फैलन्छन् । हामी यो प्रभावबाट पूर्ण रुपमा बाहिर रहने अवस्था हँुदैन । त्यसैले अब सतर्कताको आवश्यकता महसुस गर्ने बेला आएको छ ।

छिटो त अझ छिमेकबाट नै सिक्ने हो । भारतलाई हाम्रो छिमेक या मामाघर वा ससुराल जे भने पनि छिटो प्रभावित हामी त्यतैबाट हुन्छौँ । भारतको विहारमा हालसालै बालिका गृहमा आश्रय लिएको ३४ बालिकाहरु बलात्कार भएको तथ्य पुष्टि भएको छ । बिहारको कायापलट गर्ने नितिश कुमारको सुशासन धुलिसात भएको छ । त्यहाँका विपक्षीहरुले विहार राक्षस राजमा परिणत भएको भन्ने बताएका छन् । बालिकालाई बेहोस हुने औषधिको प्रयोग गरी बलात्कार गर्ने गरिएको पीडितहरुले बयान दिएका छन् । रातभरि केही थाहा नहुने र बिहान मात्र यौनाङ्गको पीडा हुने बालिकाले बतााएका छन् । घटनामा समाज कल्याण मन्त्री मञ्जु बर्माका पति चण्डेश्वर बर्मा समेत जोडिएका छन् ।
सन् २०१७ मा बलात्कारका घटना धेरै भएका १० देशहरुको सूचीमा भारत पाचाँै स्थानमा परेको देख्न सकिन्छ । भारतमा हरेक २० मिनेटमा १ महिलाको बलात्कार हुने गरेको एनसीआरवीको रिपोर्ट छ । त्यस्तै, टाइम्स अफ इन्डियाका अनुसार दैनिक ९३ जना महिला बलात्कार हुने भयावह तथ्य देखाइएको छ । यस्तै, अतिविकसित भनिएका अमेरिका, क्यानाडा, स्वीडेन, संयुक्त अधिराज्य जस्ता देशहरु समेत १० औँ को सूचीभित्र रहेका छन् । सबैभन्दा कम भ्रष्टाचार हुने भनिएको डेनमार्क समेत १० औँ स्थानमा देख्न सकिन्छ । यो अवस्थाले हाम्रो भूमण्डीकरणबाट बनिएको बृहत समाजको अवस्था छर्लङ्ग हुन्छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले भनेको समृद्ध नेपाल र सुखी नेपाली नारा अनुसार समृद्ध नै भए पनि सुख त्यो भन्दा परको विषय हुने देखिन्छ । विकासको उच्च प्रतिफल प्राप्त गरेका मुलुकहरुमा समेत बलात्कार जस्तो सर्मनाक घटना उच्च हुनुले विकास र समृद्धिले सुखानुभूति प्राप्त हँुदैन रहेछ भन्ने यो भन्दा पर्याप्त उदाहरण अर्को छैन । केही मानिसहरुले त समृद्धि र सुखानुभूतिको अनुभव गरेकै छन् । त्यो समृद्धि र सुखानुभूति सामाजिक बन्न सकेको छैन ।

सरकारले लय लियो भने समृद्धि नेपाल बन्न सक्ला । आम नेपाली पनि समृद्ध हुन सक्लान् । तर, आम नेपाली सुखी बन्न सक्दैनन् । किनकि जति–जति हामी समृद्ध हुँदै जान्छौँ हामी सामाजिक भन्दा पनि व्यक्तिवादी हँुदै जान्छौँ । लोकलज्जा समेत समृद्धिमा हराउँदै जान्छ । हालै पनि धनी सम्पन्न व्यक्तिहरुको व्याभिचार कसैले देख्दैन । बरु उसैको व्यवहारको सामाजिकीकरण हुँदै जान्छ । कानुन निर्माण गर्ने विधायकहरु समेत त्यही समाजले छान्ने हुँदा कानुन समेत प्रभावकारी नबन्ने पक्का छ । कानुन बनिहाले पनि त्यसको कार्यान्वयनमा आर्थिक प्रभाव प्रधान हुन्छ । समृद्धिसँगै सामाजिक अपराधका आयामहरु बढ्दै नजालान् भन्ने कुनै आधार देखिँदैन । यस्तो अवस्थामा हाम्रो सुखानुभूति सोम शर्माको कथाभन्दा फरक देखिदैन ।

यो प्रकारको तथ्यमा आधारित भएर विश्लेषण गर्ने हो भने निराशा मात्र देखिन्छ । के हाम्रो भाग्य र भविष्य निराशा मात्रको बाहक हो त ? यदि आशा जगाउने हो भने हाम्रो यात्राको बाटो सही छान्न आवश्यक छ । यदि साँच्चै देशलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने हो भने समाज आदर्श बन्नुपर्छ र काननुको प्रभावकारी उपस्थिति हुनुपर्दछ । यो भनेको दण्ड र पुरस्कारको व्यवस्था प्रभावकारी बन्नु पर्दछ । दण्ड कानुनले निर्धारण गर्दछ भने पुरस्कारको व्यवस्था समाजले गर्दछ ।
समाज समुन्नत भयो भने कानुन समेत समुन्नत भई प्रभावकारी कार्यान्वयन हुनेमा शङ्का गर्नु पर्दैन । तर, दृश्य भन्छ हरेक विमर्श तथ्यमा आधारित नभई आ–आफ्ना दलका मठाधीशहरुका विचारमा आधारित छ, चाहे गोविन्द केसीको सवाल होस् या स्थानीय तहले लगाएको करको सवालमा ।
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: