।। अर्जुन कार्की ।।
मेचीनगर । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि मेचीपुल आएका नेपाली नागरिकहरुलाई सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्राएको बताएका छन् ।
सिडीओ रानाले सीमा नाकाबाट मेचीपुल आएका नेपाली नागरिकहरुलाई सम्बन्धीत जिल्लाको क्वारेन्टाइनमा बस्ने गरी पत्र थमाएर पठाउने गरिएको बताए ।
भारतका विभिन्न ठाउँबाट सयौँको संख्यामा नेपालीहरु आएर मेचीपुलमा बस्न थालेका छन् ।
स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मीको पहलमा निजी बस तथा माइक्रोहरु मेची पुलमा नै पुगेर उनीहरुलाई सम्बन्धीत जिल्ला पुर्याउन थालिएको छ ।
मेचीनगरमा उनीहरुलाई आरडीटी र पीसीआर टेष्ट गरेर लाने व्यवस्थापन गर्न मुस्किल भएकोले सम्बन्धीत पालिकालाई पत्र लेखेर क्वारेन्टाइनमा राख्न अनुरोध गरिएको सिडीओ रानाको भनाई छ ।
‘भारतबाट आएका नेपालीहरुले आरडीटी र पीसीआर चेकजाँच गर्न पनि मानेका छैनन्’, सिडीओ रानाले भने–‘हामी आफ्नै पालिकामा कोरोना जाँच गछौँ भनेकाले तत्काल मेची पुलबाटै सम्बन्धीत ठाउँ पुर्याइने व्यवस्था गरेका छौँ ।’
मेचीपुलमा अलपत्र परेका करिव ५ सयमध्ये ३ सय जना नेपालीलाई मङ्गलबार साँझसम्म १० वटा बसमा चढाएर सम्बन्धीत जिल्ला पठाइने जनाउको छ । बाँकीलाई काँकरभिट्टा माविको होल्डिङ प्वाइन्टमा राख्ने बुझिएको छ ।
उनका अनुसार संक्रमित हुने सम्भावना सबैलाई छ । तर, गाडीमा सामाजिक दुरी कायम गरेर बस्ने, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई पनि सर्तक भएर काम गर्न भनिएको छ ।
भारतबाट आएका नेपालीहरुलाई स्वास्थ्यकर्मीहरुले मेचीपुल नै पुगेर थर्मलगनबाट सामान्य ज्वरो जाँच गर्ने व्यवस्था मिलाएको छ ।