सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

  प्रकाशित मिति
१४ कार्तिक २०७९, सोमबार ०७:४८


झापा, १४ कात्तिक । मेचीनगर नगरपालिका वडा नं. ७ की सीता खड्काले सम्बन्ध बिच्छेद गरेका पतिको मृत्युसंस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन् ।

उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो ।

गत असोज २९ गते बस्नेतको शब मेचीनगर–१४ दुहागढीस्थित साइला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भएको थियो ।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जलि दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र सोह्र वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाटमा गइन् । त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इटाभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बसिन् ।

दुई दिन अघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्ध बिच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताइन् । उनले आफु सम्बन्ध बिच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध बिच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिइन् ।

एक वर्ष अघि सम्बन्ध बिच्छेद गरेपश्चात बस्नेतले दोस्रो बिवाह गरे तापनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् ।

“मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तैपनि म कहिल्यै सम्बन्ध बिच्छेदको पक्षमा थिइन,” खड्काले भनिन्–“कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनु हुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौंला भन्ने गरेको थिएँ ।”

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गए । असोज ८ गते उनले आत्महत्या गरेको दुःखद् खबर आएको थियो ।
पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफुले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साइला देबरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए तापनि देबर, देउरानी र नन्दहरुले दिएनन् ।

“झगडा हुने भएपछि आफन्तहरुको सल्लाह बमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्ने काम गर्यौं, साइला देवरले अलग्गै बार्नुभयो,” खड्काले भनिन्–“ऐले डिभोर्स दे, भरे डिभोर्स दे भनेर हैरान पारेपछि मैले दिक्क भएर उहाँ (पूर्वपति)ले ल्याएको कागजमा सहीछाप गरेकी हुँ । मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो ।”

उनीहरुको छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन् । सम्बन्ध बिच्छेदपश्चात छोराछोरीको लालनपालन खड्का (आमा)ले नै गरिरहेकी छन् ।

पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्परा बमोजिम गरेकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिने गरेका छन् ।

।। अम्बिका भण्डारी ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: