रेवतिराज घिमिरे
भद्रपुर । महिलाहरुले घरेलु हिंसाकै कारण सम्बन्ध बिच्छेद गर्ने गरेकोमा पछिल्लो समय झापामा सम्बन्ध विच्छेद गर्ने पुरुषहरुको सङ्ख्या पनि बढेको छ ।
मुलुकी संशोधित आचारसंहिता ऐन २०७४ लागु भएपछि गत भदौ १ गतेदेखि हालसम्म जिल्ला अदालत झापामा दर्ता भएका सम्बन्ध विच्छेदका ३ सय ४५ मुद्धाहरु मध्ये १ सय ६० वटा पुरुष पक्षबाट मुद्धा दर्ता भएका छन् ।
गत भदौ १ गतेदेखि अहिले सम्ममा झापा जिल्ला अदालतमा दर्ता भएका ३ सय ४५ मुद्दाहरु मध्ये १ सय ८५ वटा मुद्धा केटी (महिला) पक्षले दर्ता गराएको अदालतको रेकर्डमा उल्लेख छ ।
नयाँ कानुनले पुरुष पक्षलाई पनि सिधै अदालतमा आएर सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्न पाउने कानुनमा उल्लेख भए बमोेजिम पुरुषको सङ्ख्या बढेको हुनसक्ने जिल्ला अदालत झापाका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताए ।
उनले गत वर्षभन्दा पछिल्लो समय सम्बन्ध बिच्छेद गर्नेहरुको मुद्धा दर्ताको सङ्ख्या उल्लेखनीय बढ्ने गरेपनि पुरुषहरुको सङ्ख्या भने झन्ै बढेको बताए । वैदेशिक रोजगारी तथा घरेलु हिंसाकै कारण सम्बन्ध बिच्छेद गर्नेहरुको सङ्ख्यामा बृद्धि भएको हुनसक्ने श्रेस्तेदारको भनाइ छ ।
झण्डै ५० प्रतिसतको हाराहारीमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्ने गरेको जिल्ला अदालत झापाले जनाएको छ ।
मुलुकी आचारसंहिता ऐन २०७४ लागु हुनभन्दा पहिले स्थानीय तहमै मुद्धा मिलापत्र हुने प्रावधान भए पनि महिलाहरु मात्र अदालत आउने गरेकोमा कानुन कार्यान्वयनसँगै महिला तथा पुरुष अदालतमै आएर मुद्धा दर्ता गर्ने गरेका छन् । वैदेशिक रोजगार तथा विभिन्न घरेलु हिंसाकै कारण श्रीमान् श्रीमती बीच सम्बन्ध बिच्छेद हुने गरेको अदालतको बुझाइ छ ।
………..