गौरीगञ्ज, २९ साउन । भारतसँगको सीमाना जोगिएको गौरीगञ्ज बजारमा आज समुदायस्तरमा ५३ जना सर्वसाधारणको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ ।
यो परीक्षण गौरीगञ्जको उद्योग वाणिज्य संघले निजी पहलमा गरेको हो । भीटीएमको सबै खर्च धान्नका लागि संघले सर्वसाधारणबाट जनही अढाई सय रुपैयाँ र व्यापारीसँग जनही पाँच सय रुपैयाँ लिएको छ ।
सरकारले लक्षण नभएका सर्वसाधारणको स्वाव संकलन नगर्ने भएको हुँदा उद्योग वाणिज्य संघले स्थानीयको हितका लागि सामान्य शुल्क लिएर कोरोना जाँच्ने अभियान ल्याएको हो ।
गौरीगंज गाउँपालिकाले पनि यस अभियानमा सहकार्य गरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले नै स्वाव संकलनको शुभारम्भ गरेका थिए ।
संकलित स्वाव परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको गौरीगज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।
सरकारले पीसीआर परीक्षण निजीस्तरमा गर्दा कम्तिमा १५ हजार रूपैयाँ लिन मिल्ने बताउँदै आएको छ । तर यहाँ सर्वसाधारणले सहजै धान्न सक्ने सस्तो शुल्क लगाइएको छ ।
स्वाव संकलन कार्यमा स्वास्थ्यकर्मीलाई गाउँपालिकाले खटाएको थियो भने भीटीएमको व्यवस्थापन वाणिज्य संघले गर्ने संघका अध्यक्ष मखन महतोले बताएका छन् ।