सरकारले मलाई हेरेन

  प्रकाशित मिति
३० जेष्ठ २०७३, आईतवार १६:०३


Gopal_Shrestha_Jhapa
विर्तामोड । जनआन्दोलनका घाइते गोपाल श्रेष्ठले सरकारले सहयोग नगरेकोमा गुनासो गरेका छन् । २०६३ को जनआन्दोलनमा देब्रे खुट्टाको तिघ्रामा गोली लागेका धुलावारीका श्रेष्ठ उपचार अभावमा पाकेको घाउ बोकेर बसिरहेका छन् । उनले सरकारबाट अहिलेसम्म २५ हजार रुपैयाँ मात्र पाएको बताए ।
सरकारले जनआन्दोलनकी घाइते सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय गरेको छ । जनआन्दोलनकै व्रmममा चन्द्रगढीमा उप्रेतीको दाहिने हातको कुहिनोमा गोली लागेको थियो । सरकारले उप्रेतीलाई उपचार खर्च दिने निर्णय गरेपछि श्रेष्ठले गुनासो गरेका हुन् ।
त्यो दिनको घटना सम्झदै श्रेष्ठ भन्छन्, ‘नारा लगाउँदै जुलुस चन्द्रगढीमा रहेको महेन्द्रको शालिकतर्फ जाँदै थियो, म पनि त्यही भीडमा नारा लगाइरहेको थिएँ । शालिक नजिकै पुग्न लाग्दा रङ्गशालाभित्रबाट एक्कासी गोली चल्यो । भागदौड मच्चियो । भाग्दाभाग्दै मेरो देब्रे खुट्टामा गोली लाग्यो ।’

उनलाई एउटा मात्र गोली लागेको हो, तर तिघ्राको हड्डी काम नलाग्ने गरी टुव्रिmएको थियो । उनको दुई वर्षसम्म धरान अस्पतालमा उपचार भयो । धरान अस्पतालले थप उपचारका लागि विदेश जानुपर्छ भनेको थियो । गोपाल भन्छन्, ‘तर त्यसपछि मलाई न सरकारले खोज्यो, न झापाका राजनीतिक दलका नेताले ।’

उनी अहिले बल्लतल्ल घरमा भित्र–बाहिर गर्न सक्ने भएका छन् । तर घरबाट बाहिर जान सक्दैनन् । गोपालले सिन्धु उप्रेतीलाई धरान अस्पतालमा उपचारका व्रmममा चिनेका हुन् । उनी सम्झन्छन्, ‘अस्पतालमा हुँदा उहाँ मेरो हात राम्रोसँग चल्ने बनाइदिनु पर्छ भन्नुहुन्थ्यो । एक हप्तापछि उहाँ (सिन्धु)लाई थप उपचारका लागि दिल्ली लगियो ।’

तर गोपालले त्यस्तो अवसर पाएनन् । दुई बर्षसम्म धरान अस्पताल बसे र निको नभइ फर्किए । ‘मेरो अझै अपरेसन गर्नुपर्ने अवस्था छ, तर पैसा नभएर गर्न सकेको छैन,’ गोपालले भने, ‘ जनआन्दोलनका घाइतेले उपचार नपाउने रहेछ ?’

धरानमा उपचार हुन नसकेपछि उनले एकपटक झापा क्षेत्र नम्बर २ का काङ्ग्रेस सांसद सुधीर सिवाकोटीलाई भेटेर गुनासो गरेका थिए । सिवाकोटी जनआन्दोलन समितिका संयोजक थिए ।
‘मैले गुनासो त गरँें तर सुनेनन्, ’ श्रेष्ठ दुखेसो पोख्छन् । उनी भन्छन, ‘मैले जानेसम्म झापामा जनआन्दोलनमा गम्भीर घाइते हुने म मात्रै हुँ । अरु घाइते भएकाहरु हिँड्डुल गर्न सक्छन्, गरिखान सक्छन् । तर म हिँड्डुल गर्न पनि सक्दिन । र पनि सरकारले हेरेन ।’ श्रेष्ठका परिवारमा ७५ वर्षकी आमा, श्रीमती र एक छोरा छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनआन्दोलनका घाइतेलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका थिए । तर उनले २५ हजार रुपैयाँ मात्र पाए । उनले गुनासो गरे, ‘यहीँ झापामा अरुले एक लाखसम्म पाएछन् । सरकारको सुविधा त बोल्ने मान्छेले मात्र पाउने हो कि जस्तो लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: