सरकारले सौतेलो व्यवहार गरेको आरोप

  प्रकाशित मिति
१७ जेष्ठ २०७५, बिहीबार १२:०९


विर्तामोड । एन प्याब्सनले शिक्षामा अतुलनीय योगदान पुर्याइरहेको निजी विद्यालयहरुप्रति सरकारले सौतेलो व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

एन प्याब्सनको १ नं. प्रदेश कमिटीले झापा जिल्ला प्रशासन कार्यालयमा बुधवार स्मृति पत्र बुझाउँदै राज्यले निजी र सरकारी विद्यालयप्रति समान व्यवहार गर्नु पर्ने माग गरेको छ ।

स्मृति पत्रमा सरकारसँग ७ बुँदे माग गरिएको छ । जसको पहिलो बुँदामा विभिन्न खालका कर बुझाइरहेको अवस्थामा व्यावसायिक कर लिने नीति निर्माण नगर्न माग गरिएको छ ।

दोस्रो बुँदामा प्रक्रिया पूरा गरी नियमानुसार माग भएका कक्षा थप, तह थप र विद्यालय स्थानान्तरण जस्ता कार्यहरु यथाशीघ्र पूरा गर्न माग गरिएको छ ।

तेस्रो बुँदामा बालवालिकाहरुलाई स्वतन्त्रपूर्वक शिक्षा रोज्न पाउने अधिकार हनन नगर्न माग गरिएको छ ।
चौथो बुँदामा निजी विद्यालयका विद्यार्थीलाई समेत सरकारबाट छात्रवृत्ति प्रदान गरियोस् र निजी विद्यालयमा १० प्रतिशतभन्दा बढी छात्रवृत्ति सङ्ख्या नबढाइयोस् भनिएको छ ।

पाँचौ बुँदामा स्थानीय तहको शिक्षा समितिमा एन प्याब्सनको प्रतिनिधि अनिवार्य राख्न र बेग्ला बेग्लै शैक्षिक नियमावली नबनाउन माग गरिएको छ ।

छैठौँ बँुदामा कानूनको अक्षरश पालना गर्दै आएका निजी विद्यालयहरुको मनोबल गिराउने गतिविधि नगर्न र सातौँ बुँदामा निजी विद्यालयमा पढेका विद्यार्थीलाई सरकारी आरक्षण कोटाबाट वञ्चित नगर्न माग गरिएको छ ।

एन प्याब्सन १ नं. प्रदेशले विर्तामोडस्थित हाम्रो नेपाल बचन तथा ऋण सहकारी संस्था लि.को सभाहलमा बुधवार पत्रकार सम्मेलन गरी आफ्ना मागहरु बारे जानकारी दिएको छ ।

प्रदेश कमिटिका अध्यक्ष जयबहादुर श्रेष्ठले सरकारले निजी विद्यालयहरुप्रति सौतेलो व्यवहार देखाएको आरोप लगाए ।
छात्रवृत्ति १० प्रतिशतबाट बढाएर ३० प्रतिशत बनाउने निर्णय फिर्ता लिन एन प्याब्सनले माग गरेको छ ।

एन प्याब्सन झापाका अध्यक्ष सञ्जीव राईले राज्यले निजी विद्यालयबाट मुलुकको शिक्षालाई गुणस्तरीय बनाउन पुगिरहेको योगदानको कहिल्यै मूल्याङ्कन नगरेको गुनासो व्यक्त गरे ।

पत्रकार सम्मेलनमा एन प्याब्सनका केन्द्रीय सदस्य राजेन्द्र गुरुङ, सुनसरीका अध्यक्ष गणेश राई, मोरङका अध्यक्ष सुनिलदत्त अधिकारी, अग्नी कोइराला, भगिरथ राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: