सरकार र अदालत सट्टापट्टामा लागे : ओली

  प्रकाशित मिति
२८ आश्विन २०७८, बिहीबार १८:२७


।। अर्जुन कार्की ।।

विर्तामोड, २८ असोज । निवर्तमान प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकार पैसा र पदको सट्टापट्टामा चलेको गम्भीर आरोप लगाएका छन् ।

विर्तामोडको सिटी सेन्टरमा आज आयोजित चाडपर्व शुभकामना आदानप्रदानमा बोल्दै ओलीले उहिले पैसा चलन नहुँदा सामान साटफेर गरेझैं अहिले अदालत र सरकार सट्टापट्टामा लागेको बताए ।

उनले सरकारको आलोचना नगर्ने भन्दै भाषण सुरु गरे तापनि सरकारलाई कटाक्ष गर्न छुटाएनन् । तर एमालेबाट अलग भएको नेकपा एकीकृत समाजबादी र अरु दलप्रति भने टिकाटिप्पणी गरेनन् ।

ओलीले तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको भन्दै सरकारको कार्यशैलीको हाँसो उडाए । यसरी ढिलासुस्ती काम गर्ने सरकारले देश र जनताको हितमा कुनै काम गर्न नसक्ने जिकीर गरे ।

दशै लगायतका चाडपर्वले नेपाली समाजलाई एकता र सद्भावमा उन्ने मालाको काम गरिरहेको उनको भनाई थियो ।

सरकारका मुख्य अंगहरु आफ्नो मर्यादामा बस्नु पर्ने बताउदै उनले आफ्ना लागि मात्र होइन देश र जनताका लागि काम गर्नु पर्ने बताए ।

भन्न सजिलो छ तर व्यवहारमा गाहे हुने अध्यक्ष ओलीको भनाइ छ । उनले भने– ‘त्यसैले व्यावहारिक लोकतन्त्रको अभ्यास गर्न यो वडादशैँले सबैलाई सदबुद्वि देओस् ।’

हरेक वर्षको महानवमीका दिन ओलीले २०५० सालदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्दै आएका छन् ।

गत वर्ष कोरोना महामारी र केही वर्ष अघि एकपटक स्वास्थ्यका कारण यस्तो कार्यक्रम रोकिएको थियो ।

प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव बिनोद ढकाल, राष्ट्रिय सभाकी सांसद् कोमल ओली, प्रतिनिधिसभाकी सांसद् विमला बिक, अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल, जनता समाजबादी पार्टी झापाका अध्यक्ष सूर्यनारायण गणेश लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले झापाका इञ्चार्ज तथा केन्द्रीय सदस्य रविन कोइरालाले गरेका थिए । सो अवसरमा राप्रपाकी केन्द्रीय सदस्य माया गुरुङ, संघीय समाजबादी पार्टीका केन्द्रीय सदस्य रामबाबु गिरी लगायतको उपस्थिति थियो ।

प्रदेश नं. ३ का निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाई, केन्द्रीय सदस्य नरेश खरेल, केन्द्रीय सदस्य अग्नि खरेल, सांसद् पवित्रा खरेल, सल्लाहकारहरु यज्ञराज प्रसाई, हरिचरण बानियाँ लगायतको उपस्थिति कार्यक्रममा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: