झापा, ३१ जेठ । लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सालाई अनुमोदन गर्न आज प्रतिनिधिसभाको मतदानमा २५८ जना सांसद्ले मतदान गरे । २७५ सदस्यीय सभामा अनुपस्थित १६ जना कता थिए ?
स्रोतका अनुसार समाजबादी पार्टीकी सांसद् सरिता गिरी संविधान संशोधन प्रस्तावको विपक्षमा थिइन् । उनले संसद्मा दर्ता गरेको नेपालको नयाँ नक्सा विरुद्धको प्रस्ताव अस्वीकृत भइसकेको थियो ।
गिरी बैठकमा सहभागी थिइन्, तर उनको प्रस्ताव अस्वीकृत भएपछि संसद्बाट बाहिरिएकी थिइन् ।
तर उनी जस्तै १२ जना सांसद् आफ्नो मताधिकार हुँदाहुँदै संसद्मा अनुपस्थित रहेका थिए । अनुपस्थितिको खास कारण सार्वजनिक भएको छैन । उनीहरुको अनुपस्थितिको कारण अरु नै हुनसक्ने अनुमान छ ।
चारजना सांसदहरु बिजयकुमार गच्छदार, मोहम्म्द आफ्तम आलम, हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका कारण अनुपस्थित भएका हुन् ।
बैठकमा नजाने र मतदान प्रक्रियामा सहभागी नहुने सांसदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना छन् । गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल अनुपस्थित भएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तीन सांसद अनुपस्थित रहे । नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञान कुमारी छन्त्याल मतदानमा अनुपस्थित रहे ।
यस्तै राष्ट्रिय जनता पार्टीका अमृतादेवी अग्रहरी, प्रमोद शाह र दुलारीदेवी खत्वेनी तथा समाजवादी पार्टीका सूर्यनारायण यादव उनुपस्थित रहे ।
सभामुख अग्नी सापकोटालाई बराबरीमा बाहेक मत दिने अधिकार हुँदैन ।