मेचीनगर, २८ जेठ । भारतले नेपाली भूमि कब्जा गरेको विषयमा देशद्रोही अभिब्यक्तिका कारण विवादमा परेकी जनता समाजबादी पार्टीकी सांसद् सरिता गिरीले नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएकी छन्।
नयाँ नक्सा जारी गर्दा भारतलाई सोध्नुपर्ने तथा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय भूमि रहेको आशयको देशद्रोही अभिव्यक्ति संसदमै दिँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा नेपालको नक्सालाई संशोधन गर्न बनेको विधेयकविरुद्ध समेत संशोधनको सूचना दर्ता गराएकी हुन्।
संसद सचिवालयमा दिइएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन आग्रह गरिएको छ। उक्त विधेयकको दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी सरकारले विधेयक प्रस्तुत गरिसकेको छ।
उनले संसद सचिवालयमा दर्ता गराएको संशोधनको सूचनामा स्रोत र प्रमाणबिना नेपालको नयाँ नक्सा जारी भएको जिकिर गरेकी छन्।
गिरीले निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक खारेज गर्न मागसहित संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएकी हुन्।
उनको दल जनता समाजवादी भने भारतले हडपेको भूमि समेटिएको नक्सालाई आधिकारिकता दिने गरी सरकारले संसदमा दर्ता भएको संशोधन विधेयकमा समर्थन जनाइसकेको छ।
उनको विवादास्पद अभिव्यक्तिपछि नेकपाकी सांसद गंगा चौधरीले भारतीय चेलीको दादागिरी भन्दै कडा प्रतिक्रिया दिदै आएकी छन् ।
बुधबार मात्रै सत्तारुढ नेकपा र कांग्रेसनिकट भ्रातृ संगठनले सरिता गिरीको अभिव्यक्ति आपत्तिजनक भन्दै उनीमाथि देशद्रोहको मुद्दा चलाउन माग गरेका थिए।