सर्पदंश उपचारको हब बन्दै झापा

  प्रकाशित मिति
२१ असार २०७६, शनिबार ११:०८


झापा । सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् ।

झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दुई हजारभन्दा बढी विरामीको वर्षेनी ज्यान बचाउने गरिएको छ ।

मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो । सुरुमा सर्पले डसेका सैनिकको उपचार गर्न व्यारेकभित्रै खोलिएको यो केन्द्र वि.सं. २०६२ सालदेखि समुदायले सञ्चालन गर्दै आएको छ ।

सेनाकै प्राविधिक सहयोगमा चल्दै आएको यस केन्द्रमा उपचारका लागि ताप्लेजुङ, पाँचथर, इलाम र भारतको दार्जीलिङदेखि सर्पदंशका विरामीको घुइँचो लाग्ने गरेको छ ।
चालु आर्थिक वर्षमा त्यहाँबाट १ हजार ४ सय ९० जनाले उपचार सेवा लिएको प्राविधिक ऋषिराम पोखरेल बताउँछन् ।

पश्चिम झापाको दमकमा नेपाल रेडक्रस सोसाइटीले सर्पदंश उपचार सेवा सञ्चालन गरेको एक दशकभन्दा बढी भइसक्यो । त्यहाँ चालू आर्थिक वर्षमा ८ सय ९० जना विरामीले सर्पदंश उपचार सेवा लिएको प्राविधिक खेम अधिकारीले जानकारी दिए ।

मध्य झापाको कनकाईमा सहारा नेपाल नामक गैरसरकारी संस्थाले सर्पदंशका विरामीका लागि तीन वर्ष अघिदेखि सुविधा सम्पन्न उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।
कनकाई सहारा सर्पदंश उपचार केन्द्र सुरुङ्गामा विरामीको चाप केही कम छ । प्राविधिक सागर ढुङ्गेलका अनुसार चालु आवमा २ सय ५० जना विरामीले त्यहाँबाट सर्पदंशको उपचार लिएका छन् ।

पूर्वी नेपालको तराईमा गोमन र करेत जस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा उपचार केन्द्र नपुर्याएमा विरामी मृत्युको मुखमा पुग्ने दमकका डा. अमृत पोखरेल बताउँछन् ।

कम विषालु र विष नभएका अन्य थुप्रै प्रजातिका सर्पहरुले पनि डसेपछि मानिसहरु अत्तालिएर उपचार केन्द्र पुग्ने गरेका छन् । गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको पाइन्छ ।

विषालु सर्पले डसेका विरामीले ढिलो उपचार पाएमा पनि सर्पले डसेको अङ्ग काम नलाग्ने गरी घाउँ हुने गरेको चिकित्सकहरु बताउँछन् ।

सर्पदंशको सफल उपचार गरेर वर्षेनी २ हजारभन्दा बढी सर्वसाधारणको ज्यान जोगाउने यस्ता उपचार केन्द्रहरुलाई साधन, स्रोत र आधुनिक सुविधाले सम्पन्न तुल्याउन भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।

निःशुल्क जस्तैमा उपचार हुने समुदायबाट सञ्चालित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटरसहितको आइसीयु सुविधा नहुँदा विषालु सर्पले डसेका गम्भीर प्रकृतिका विरामीहरु बाध्य भएर महङ्गा निजी अस्पतालमा जानु पर्ने अवस्था छ ।

समुदायले सञ्चालन गरेका झापाका सबै सर्पदंश उपचार केन्द्रमा नाम मात्रको शुल्कमा सर्वसाधारणले उपचार सेवा पाउँदै आएका छन् । तर विषालु सर्पले टोकेर ढिलो ल्याइएका विरामीका लागि तत्काल सघन उपचार कक्ष (आइसीयु) र कृत्रिम श्वासप्रश्वास उपकरण (भेन्टिलेटर) मा राखेर उपचार नगराए ज्यान जाने खतरा हुन्छ । आइसीयु र भेन्टिलेटरको व्यवस्था गरिदिने सम्बन्धमा सरकारले तत्काल अग्रसरता देखाउनु पर्ने चारआली सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई बताउँछन् ।

सबैभन्दा बढी विरामीको चाप हुने नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गण परिसरमा सर्वसाधारणको चन्दा, स्थानीय तहका सरकारहरुको अनुदान र केही सांसदहरुको पहलमा विकास कोषबाट रु. ७५ लाखको लगानीमा भेन्टिलेटर सुविधासहितको आइसीयु कक्षका लागि भवन निर्माण गरिसकिएको छ ।

तर आइसीयु र भेन्टिलेटर सुविधाका लागि आग्रह गरिएको धेरै समय भइसक्दा समेत सरकारी तहबाट सहयोग नआएको अध्यक्ष भट्टराई बताउँछन् ।
दमकको सर्पदंश उपचार केन्द्रमा आइसीयु सुविधा छैन । दाताले दिएको पोर्टेबल भेन्टिलेटरले काम चलाइरहेको प्राविधिक खेम अधिकारीले जानकारी दिए ।

कनकाईमा सञ्चालित सहारा सर्पदंश उपचार सेवामा भने सहारा नेपाल नामक गैरसरकारी संस्थाले एकल लगानीमा आइसीयु स्थापना गरिदिएको छ ।
सर्पले डसेर अकालका कसैको ज्यान नजाओस् भनेर सहारा नेपालले आफ्नै लगानीमा आइसीयु स्थापना गरिदिएको संस्थाका कार्यकारी निर्देशक महेन्द्र गिरी बताउँछन् ।
.

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: