सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर अभाव

  प्रकाशित मिति
१८ असार २०७६, बुधबार १८:१६


अर्जुन कार्की
चारआली । चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर उपकरणको अभाव देखिएको छ । सर्पले डसेर उपचार गराउन आउने विरामी गम्भीर अवस्थामा भए सघन उपचार कक्ष (आइसीयु) र ज्यानै जानलाग्ने अवस्था भए कृत्रिम श्वासप्रश्वास उपकरण (भेन्टिलेटर)मा राखेर उपचार गर्नु पर्ने हुन्छ ।

मेचीनगर–१३ स्थित नयाँ श्रीनाथ गण चारआलीको परिसरमा रहेको सर्पदंश उपचार केन्द्र सर्पले टोकेका विरामीको उपचार गर्ने पूर्वको सबैभन्दा भरपर्दो उपचार केन्द्र हो । तर भेन्टिलेटर अभावका कारण जोखिममा रहेका विरामीलाई बाध्य भएर निजी अस्पतालमा रेफर गरिदै आएको छ ।

‘भेन्टिलेटरका लागि २०७२ सालदेखि सरकारसँग पहल गरिराखेको छौँ’, सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले लोकतन्त्र पोस्टसँग भने–‘तर, हालसम्म सफल हुन सकेका छैनौँ ।’

उनका अनुसार प्रधानमन्त्री, सङ्घीय सरकार, प्रदेश तथा मन्त्री, सांसद् तथा स्थानीय सरकारलाई पटक पटक जानकारी गराउँदा समेत अहिलेसम्म सर्पदंश उपचार केन्द्रलाई भेन्टिलेटर उपलब्ध हुन सकेको छैन ।

सङ्घीयको स्वास्थ्य मन्त्रालय अन्तरगतको विभागमा भेन्टिलेटरका लागि प्रस्ताव पेश गरिएको भट्टराईले बताए । सरकार फेरिएपछिका मन्त्री तथा कर्मचारीहरुलाई धेरै पटक जानकारी गराउँदा गराउँदा हैरान भइसकेको बताउँदै उनले हालसम्म कतैबाट सुनुवाई नभएको गुनासो गरे ।

भेन्टिलेटर राख्नका लागि आवश्यक पूर्वाधारहरु केन्द्रले निर्माण गरिरहेको जनाएको छ । भवन र कोठा तयार भइसकेको जनाउँदै अध्यक्ष भट्टराईले भने–‘भेन्टिलेटर मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न बाँकी छ ।’ सानो कोठाबाट शुरु गरिएको सर्र्पदंश उपचार केन्द्रलाई अहिले बढाएर ठूलो भवन निर्माण कार्य भइरहेको छ ।

भेन्टिलेटरसहितको भवन आवश्यक भएकोले दुई वटा हलसहितको ७ वटा कोठे भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

आइसीयुसहितको भेन्टिलेटरका लागि करिव एक करोड रुपैयाँ खर्च लाग्छ । अकालमा ज्यान नगुमोस् भन्नाका लागि सरकारले त्यति रकमको व्यवस्था मिलाउनु पर्ने उनको माग छ ।
भेन्टिलेटरका लागि आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय सरकार र सांसद्ले भने सहयोग गरिरहेको उनको भनाई छ ।

२०७२ सालदेखि ७ कोठे भवन बनाउन शुरु गरेको २०७७ सालमा निर्माण सम्पन्न गर्ने सोचमा रहेको अध्यक्ष भट्टराईको भनाई छ ।

सवा करोड लागतमा निर्माण भइरहेको भवनका लागि हालसम्म करिव ७५ लाख रुपैयाँ खर्च भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्थानीय ५ वटा नगरपालिका र गाउँपालिका तथा प्रदेश सांसद्ले केन्द्रको भवन निर्माणका लागि रकम दिएका छन् ।

जस अन्गरगत मेचीनगर नगरपालिकाले ५ लाख, अर्जुनधाराले २ लाख, बिर्तामोडले ३ लाख, भद्रपुर नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै बाह्रदशीले २ लाख र हल्दीबारी गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश सांसद गोपाल बुढाथोकीले गतवर्ष सांसद विकास कोषबाट २ लाख र यसवर्ष ५ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष भट्टराईले बताए । स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र सांसदहरुले थप सहयोग गर्ने आश्वासन दिएको उनको भनाई छ ।

२०६२ सालमा स्थापना भएदेखि हालसम्म १५ हजार १ सय ९६ जना विरामीको उपचार गरेको सर्पदंश उपचार केन्द्र चारआलीका प्राविधिक ऋषिराम पोखरेलले स्थापनाकालदेखि अहिलेसम्म केन्द्रमा ३० जना विरामी उपचारका क्रममा मृत्यु भएको रेकर्ड रहेको जानकारी दिए ।

गतवर्षको साउनदेखि चैत महिनासम्म १ हजार १ सय ५६ जना विरामीले उपचार गरेको केन्द्रले जनाएको छ । जसमा ५ सय ८६ जना महिला र ५ सय ७० जना पुरुष रहेका छन् ।
यसवर्षको बैशाखदेखि असार महिनासम्म ३ सय ३४ जनाले उपचार गराएको प्राविधिक पोखरेलले बताए ।

बैशाखमा ३९ महिलासहित ८२ जना, जेठमा ५६ महिलासहित १ सय ५२ जना र असार महिनाको १७ गतेसम्म ४५ महिलासहित एकसय जनाले सर्पले डसेका विरामीको उपचार गरेको उनले जानकारी दिए ।

ताप्लेजुङ, पाँचथर, भोजपुर, इलाम, भारतको दार्जीलिङ, सिलिगुडी, विहारको डिगलबैङ्क तथा झापाका विभिन्न नगर र गाउँपालिकाबाट सर्पदंशका विरामीहरु उपचार गर्न यहाँ आउने गरेको पोखरेलले बताए ।

उपचार गराउन पहाडी क्षेत्रका विरामी समेत आउने गरेका छन् । प्राविधिक पोखरेलका अनुसार उनीमध्ये कतिपयलाई विषालु सर्पले डसेको हुन्छ । विष फैलिएर गम्भीर अवस्थामा पुगिसकेका विरामीलाई तत्काल आइसीयु र भेन्टिलेटरमा राखेर उपचार नगरे बाँच्ने सम्भावन न्यून हुन्छ । तसर्थ केन्द्रमा आइसीयुसहितको भेन्टिलेटर आवश्यक परको हो ।
पूर्वमा विशालु सर्पमध्ये गोमन, करेत, गुर्वे र हरेयु सर्पले डसेका विरामी उपचारका लागि धेरै सङ्ख्यामा आउने गरेका छन् ।

‘हामीले सक्ने सेवा यहाँबाट दिइरहेका छौँ’,–प्राविधिक पोखरेलले भने–‘भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आए विरामीलाई अन्य अस्पताल रेफर गर्ने गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: