सर्प किन घरभित्र घुस्छ ?

  प्रकाशित मिति
१४ श्रावण २०७९, शनिबार १६:३५


मेचीनगर, १४ साउन । गर्मी मौसममा तराईमा सर्पको बिगबिगी नै हुने गर्छ । विषालु सर्पको डसाईबाट अकालमै ज्यान जान्छ ।

विहीवार राति मेचीनगर वडा नं. ११ निवासी स्वास्थ्य स्वयम्सेविका रुपा मैनालीको सर्पको टोकाइबाट मृत्यु भएपछि धेरैलाई झस्काएको हुनुपर्छ ।

राति ९ः३० बजेतिर घरभित्रै ४५ वर्षीया मैनालीलाई सर्पले डसेको थियो । तत्काल उपचारका लागि चारआलीस्थित सर्पदंश उपचार केन्द्र पुर्याइयो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बीएन्डसी हस्पिटल लैजाँदा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

शुक्रवार विहान गाउँलेले घरभित्र सर्च गर्दा फ्रिज राखिएको कुनामा गुजुल्टिएर गोमन सर्प बसिरहेको भेटियो । स्थानीयले सर्प मारिदिए ।

सर्प किन घरभित्र घुस्छ ?

विज्ञहरुका अनुसार करीव ६ महिने गुप्तबासपछि गर्मी याममा सर्पहरु सतहमा निस्किन्छन् । भ्यागुता, मुसा आदि उनीहरुको मुख्य आहारा भएकाले त्यसको खोजी गर्दै सर्प घरभित्रै घुस्छन् ।

साउन महिनामा भ्यागुताका चुलबुले बच्चाहरु उफ्रिदै घरभित्र डुलिरहेका हुन्छन् । तिनैलाई पछ्याउँदै सर्प घरमा आउँछन् ।

सर्प आक्रामक हुँदैन । तर छेउमा खतरा आइलागेको अनुभूति गर्यो भने सर्पले जेसुकैलाई पनि डस्छ । मानिस आफ्नो काम विशेषले घरभित्र ओहोरदोहोर गर्दा सर्पलाई आक्रमण हुन लागेको जस्तो भान पर्छ र मानिसलाई डस्छ भन्ने विज्ञहरुको भनाई छ ।

त्यहीकारण रातिको समयमा घरभित्रै उताउता हिँड्दा र दिसापिसाब फेर्न बाहिर निस्कदा उज्यालो (टर्च) नलिई हिँड्नु जोखिमपूर्ण हुन्छ । राम्ररी हेरेर मात्र हिँड्नु पर्छ । ताकि सर्प रहेछ भनेर जोगिन सकियोस् ।

कसरी जोगिने ?

अर्को कुरा, घर वरिपरि घाँस जंगल बढ्न दिनु हुँदैन । काठ, ढुंगा र लुगाकपडाहरु जथाभावी थुपार्नु हुँदैन । त्यसैमा सर्प लुकेर बस्छ । परालको कुन्यू र मुसाको दुलोमा सर्प लुकेर बस्ने गर्दछ । त्यहाँ जथाभावी हात घुसार्नु हुँदैन ।

अँध्यारो बेलामा हिँडडुल गर्नै पर्यो भने टर्चलाइट र लौरो बोकेर हिँड्नु पर्दछ । लौरोले अगाडि ठ्याक् ठ्याक् पार्दै हिँडियो भने सर्प भाग्छन् ।

कथम्कदाचित सर्पले डसिहाल्यो भने तुरुन्त सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजानु पर्दछ ।

के के नगर्ने ?

धामीझाक्री लगाउने, खुर्सानी खुवाउने, झारफुक गर्ने, सिन्दुर र झारमउरो दल्ने, पूजापाठ गर्ने, घाउ चिर्ने लगायतका हर्कत गर्नु हुँदैन ।

सर्पले डसेको स्थानबाट मानिसको रगतमा विष फैलिने भएकाले उपचारमा ढिलो लगियो भने ज्यान जाने बढी जोखिम हुन्छ ।

रबर, डोरी र कपडाले डसेको ठाउँ छेउमा टन्टनी बाँधेर बिरामीलाई झन् सास्ती दिलाउने कार्य पनि राम्रो होइन भन्छन् डाक्टरहरु ।

अस्पताल बिरामी लैजाँदा हिँडाएर र दौडाएर लानु हुँदैन । त्यसो गर्दा छिटो छिटो रक्तसञ्चार भई बिरामीको शरीरमा विष छिटो फैलिन्छ ।

एम्बुलेन्स वा सवारी साधनमा सुताएर र टोकेको अंग नचलमलाइकन अस्पताल लैजानु राम्रो हुन्छ । भरसक आफै मोटरसाइकल वा साइकल हाँकेर पनि जानु हुँदैन । अर्काले चलाएको बाइक वा साइकलमा पछाडि बसेर जानुपर्छ ।

विज्ञहरुका अनुसार सर्पले डसेको बिरामीको मृत्यु विष फैलिएर भन्दा छिटो आत्तिएर हुने गर्दछ । बढी डरायो भने हर्ट एट्याक हुने र रक्तसञ्चार छिटो हुने जोखिम हुन्छ ।

कहाँ हुन्छ उपचार ?

झापामा सबैभन्दा धेरै सर्पदंशका बिरामीको उपचार मेचीनगर वडा नं. १३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा हुने गर्दछ ।

त्यहाँ नेपाली सेनाको प्राविधिक टोलीले उपचार गर्ने भएकाले धेरैको विश्वास रहेको पाइन्छ ।

दमकस्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा पनि सर्पदंश उपचार सेवा सञ्चालित छ ।

कचनकबलको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सर्पदंश उपचार सेवा केन्द्र रहेको छ ।

यी बाहेक झापाका सबै अस्पतालमा सर्पदंशको उपचार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: