आज प्रथम झापा गोल्डकपको फाइनल प्रतिष्पर्धा हुँदैछ । राजधानी बाहिर सर्वाधिक पुरस्कार राशी अर्थात बिजेतालाई ६ लाख र उपबिजेताले ३ लाख नगद पुरस्कार आज डोमालाल राजबंशी रङ्गशाला बिर्तामोडमा वितरण गरिदैँछ ।
त्यस्तै अर्को अबको पाँच दिन पछि अर्थात २०७३ बैशाख २ गतेदेखि झापाकै दुवागढीस्थित धाइजन मोडमा नेपालको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । जुन प्रतियोगितामा बिजेताले ३ लाख १५ हजार नगद पुरस्कार पाउने भएका छन् ।
यो एउटा सङ्केत हो कि झापामा खेल गतिविधिले कति महत्व पाउने गरेको छ । झापाको खेल गतिविधिलाई पछि फर्केर हेर्दा खास गरी फुटबलमा झापाले आफ्नै पहिचान बनाएको छ भने पछिल्ला बर्षहरूमा व्रिmकेट र भलिबलमा महिला तथा पुरुष दुवै समूहमा झापाको शीर उचोँ भएको छ ।
महिला व्रिmकेटको राष्ट्रिय नेतृत्व अर्थात कप्तान रुबिना क्षेत्री नै झापाली हुनुले पनि झापाका महिलाहरू खेल क्षेत्रमा पनि अगुवाई गरिरहेको पुष्टि हुन्छ । फुटबलमा त झन् झापाले कैयौँ कुशल खेलाडी उत्पादन गरी राष्ट्रलाई हस्तान्तरण गरिसकेको छ । आजको दिनमा फुटबलमा नेपालका चर्चित क्लब र विभागीय टिममा थुप्रै झापाली खेलाडीले महत्वपूर्ण स्थान ओगटेका छन् ।
खेल कौशल बढाउन लगानी अत्यावश्क कुरा हो । लगानीका हिसाबले पनि झापा अग्रस्थानमा नै छ । खेल क्षेत्रमा राज्यले नगन्य मात्र रकम खर्च गरेको तुलनामा झापाली समाज खेलकुदको विकासका लागि मन खोलेर लागी परेको देखिन्छ । त्यसको सकारात्मक प्रभाव नै मान्नु पर्छ आज झापाली भूमिमा हुने खेलकुदका पुरस्कार राशीले सबैको ध्यान झापातिर मोडिएको छ ।
जनस्तरबाट यति धेरै लगानीमा झापाले खेलकुद गतिविधि सञ्चालन गरिरहँदा भने राज्यले खासै भरपर्दो जिम्मेवारी निर्वाह गरेको देखिदैँन । एकातिर राज्यको उदासिनता छ भने अर्कोतर्फ मुलुक कै उच्च कोटीको मैदानका रुपमा परिचित बिर्तामोडस्थित डोमालाल राजबंशी रङ्गशाला भएको जग्गा भू–माफियाले आफ्नो नाममा राख्न सफल हुनुले खेलकुद विकासमा झापाले थुप्रै चुनौतीको सामना गरिरहेको प्रष्ट हुन्छ ।
खेलाडीको सम्मान र खेलको विकासका लागि अग्रणी मानिएको झापामा त भू–माफिया यो तहसम्म लागि परेका छन् भने अन्य जिल्लाको अवस्था सहजै अनुमान गर्न सकिन्छ । जे जस्तो भए पनि सम्पूर्ण व्यवधानलाई पाखा लगाउँदै झापाली नागरिक खेलकुदको विकास र बिस्तारमा एकताबद्ध भएर लाग्नु नै सकारात्मक मान्नु पर्छ ।
जारी झापा गोल्डकपको सफलताले पनि झापा फुटबलको उर्वरभूमि भएको फेरि एकपटक प्रमाणित गरेको छ । त्यस्तै दुवागढीमा हुने भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न पनि अब सम्पूर्ण झापालीले आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव राख्नु जरुरी छ । सँगैका दुई प्रतियोगितामा फुटबल सफल हुँदै गर्दा राष्ट्रिय भलिबल प्रतियोगिता भने असफल भयो भने त्यसले झापालीको गौरवमाथि दुनियाँले प्रश्न गर्ने अवस्था बन्न सक्छ । त्यसैले सर्वाधिक राशीको फुटबल प्रतियोगिता त झापाले भब्य रुपमा सम्पन्न ग¥यो अब सबैको ध्यान राष्ट्रिय भलिबल प्रतियोगितामा जान सकोस् शुभकामना ।