झापा । बालिनालीमा ठूलो क्षति पुर्याउने सलह अर्थात ‘डेजर्ट लोकस’ कीरा नेपाल आउने सम्भावना यो वर्षलाई टरेको छ ।
सलह नेपाल आउने सम्भावनालाई लिएर गठित सलह कीरा व्यवस्थापन कार्यदलले यो कीरा भारतबाट नआउने निष्कर्ष निकाल्दै कृषि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।
कार्यदलका संयोजक सहदेव हुमागाईले भने, ‘सलहको निगरानी गर्ने संस्थासँग कुरा गर्दा उहाँहरुले यो वर्ष सलह नेपाल नआउने भन्नुभो । बाँकी प्राविधिक कुराले पनि यही देखाएको छ ।’
अहिले सलहले भारतको राजस्थान र मध्यप्रदेशमा ठूलो क्षति पुर्याइरहेको छ । त्यहाँबाट विहार हुँदै नेपाल प्रवेश गर्नसक्ने अनुमान गरिएको थियो ।
कार्यदलका अनुसार सलह नेपाल आउने सम्भावना टर्नेमा दुईटा कुराले महत्वपूर्ण भूमिका खेल्यो । पहिलो हावाको बहाव । किट वैज्ञानिकहरुका अनुसार सलहको स्वभाव हावा जता बग्यो उतै उड्ने हुन्छ ।
त्यसैले अहिले राजस्थानमा हावाको बहाव पूर्वदेखि दक्षिणतिर मोडिएको छ । सोही अनुसार सलह मध्यप्रदेशको केही भागसम्म आइपुगेको छ ।
संयोजक हुमागाईले नेपालमा अहिले जुन हिसाबले मौसम बदली भइरहेको छ, त्यसले पनि सलह नेपाल आउने सम्भावना टरेको बताए ।
अहिले निसर्ग चक्रवातका कारण नेपालमा मनसुन अलिकति चाँडो सुरु भएको छ । केही दिनअघि पूर्वदेखि पश्चिमसम्म पानी पर्यो ।
हुमागाईं भन्छन्, ‘सलहले पानी र बादल मन पराउँदैन । गर्मी र सुख्खा मौसम रुचाउँछ । नेपालमा अब पानी पर्ने मौसम सुरु भयो । त्यसैले सलह आउने सम्भावना छैन ।’
सलहको निगरानी गरिरहेको संयूक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संस्थाका अनुसार सलह अहिले भारतको राजस्थानमै घुमिरहेको छ ।
केही सलह मध्यप्रदेशसम्म पुगेर फेरि राजस्थान फर्किएको छ । यो संस्थाले अफ्रिका, मध्यपूर्वका एसियाली राष्ट्र र भारतसम्म आउने सलह जस्ता कीराको निगरानी गर्छ ।
सोही संस्थाले पनि सलह नेपाल आउने नसक्ने कार्यदललाई जानकारी दिएको छ ।
संयोजक हुमागाईंले यो वर्ष सलह आउने सम्भावना टरेपनि अर्को वर्ष आउनसक्ने कुरालाई लिएर पूर्व तयारी गर्नुपर्ने बताए । सलह नेपाल आए यसले कृषि क्षेत्रमै ठूलो क्षति पुर्याउँछ ।
राष्ट्रिय कृषि अनुसन्धान केन्द्रका किट वैज्ञानिक डा.नरेश डाँगी भन्छन्, ‘सलहले बालीको सबै भाग खाएर अस्थिपञ्जर मात्र बाँकी राख्छ ।’
(सेतोपाटीबाट)