सवारीका सफल सारथी

  प्रकाशित मिति
२८ माघ २०७२, बिहीबार ०४:१६


DSC04366
काँकरभिट्टा । मकवानपुर हटियाका ४५ वर्षिय बाबुराज रेग्मी बुधबार निकै हर्षित देखिन्थे । गाडीको स्टेयरिङमा हात राखेको २८ वर्षपछि पहिलो पटक सम्मानित भएका उनको खुसीको सिमा थिएन् । मेची बस व्यवसायी सङ्घले बुधबार काँकरभिट्टामा उत्कृष्ट चालकको रूपमा सम्मान गरेपछि उनको खुसीको सिमा रहेन । ‘ड्राइभरको पनि मुल्याङकन हुँदो रहेछ’ सम्मानित भएपछि लोकतन्त्र पोष्टसँग रेग्मीले भने–‘आज बल्ल थाहा भयो होसियारका साथ गाडी चलायो भने यात्रु पनि सुरक्षित हुने आफु पनि सम्मानित हुन पाँइदो रहेछ । यो सम्मानले मलाई थप हौषला बढाएको छ ।’

देशको सामाजिक, आर्थिक राजीतिक अस्थिरताका कारण यातायात क्षेत्रले भोग्नु परेका हरेक अफठ्याराका साक्षी हुन् रेग्मी । लाहान काण्ड होस या कोसी बाँध फुटेको समय, मधेशको आन्दोलनदेखि विभिन्न समयमा हुने बन्द र हड्तालका बाबजुत पनि सहज रूपमा यात्रा गरिरहे उनले । ४ महिनाको मधेश आन्दोलनको व्रmममा गाडीको सिसा फुटेपछि टाउकोमा हेल्मेट लगाएर समेत गाडी चलाएका थिए । यो सबै उनलाई समयले दिएको दुःख मान्छन् तर, उनलाई दन्द्धकालका समयमा ठूलो हरन बजाएको आरोपमा भद्रपुरमा आर्मीले आँखा सुनिने गरी कुटेको कहिलै विर्सदैनन् ।

उनी २०४४ सालमा कक्षा ४ मा पढ्दै गर्दा साथीको लहिलहिमा यातायात क्षेत्रमा आएका थिए । शुरूमा ४ वर्ष खलासी गरेका उनी गाडी चलाउन जान्ने भएपछि काठमाडौ हानिएका थिए । आफ्नो गुजारा गर्नका लागि केही वर्ष काठमाडौमा सानो गाडी चलाएका उनले २०५१ सालबाट ठूलो गाडी चलाउन थालको थिए । श्रीमति र २ छोराछोरीका अभिभावक रेग्मीले आफुले समयमा पढ्न नपाए पनि छोराछोरीलाई नजिकैको बोर्डिङ स्कुलमा पढाएका छन् । ‘आफुले त नपढेर दुःख पाइयो’ उनले भने –‘मेरो जस्तो दुःख छोराछोरीले भोग्नु नपरोस भनेर बोर्डिङमा पढाएको छु । यहि कमाइबाट परिवार चलाउनलाई पनि सजिलो भएको छ ।’

यति लामो यात्राको व्रmममा उनले अहिलेसम्म कुनै पनि दुर्घटना गरेका छैनन् । उनी यातायात क्षेत्रका पुराना र अनुभवी चालकको रूपमा समेत परिचित छन् । उनी काँकरभिट्टादेखि काठमाडौँ चल्ने मेट्रो गाडी चलाउँछन् ।

रेग्मीसँगै खुसी बाढ्ने अर्का चालक हुन झापा शनिअर्जुनका केदार कार्की ।भैरहवा चल्ने मुनाल यातायातका चालक कार्की १६ वर्षदेखि यहि क्षेत्रमा रमाएका छन् । सङ्घले उनलाई पनि उत्कृष्ट चालकको रूपमा सम्मान गरेको छ । उनी पनि रेग्मी जस्तै साथीको पछि लागेर यो क्षेत्रमा प्रवेश गरेका हुन् । शनिश्चरे उच्च माविमा कक्षा ८ मा पढ्दै गरेका उनी गाडीमा काम गर्दा पैसा कमाइन्छ भनेको सुनेपछि विर्तामोडतिर लागे । शुरुमा विर्तामोडमै खलासीको रूपमा काम गरेका उनी कृषि सामाग्री संस्था विर्तामोडको सवारी चालकको रूपमा कम गर्न थाले । तर, उनी बीचमै काम छोडेर विदेशतिर हानिए । ४ वर्ष विदेशको भुमिमा गाडी नै चलाएर राम्रो अनुभव बोटुलेका उनले नेपाल आएर पनि गाडी नै चलाउन थाले । ‘गर्न सक्दा नेपालमै पनि कमाइने रहेछ’ उनले भने–‘यो क्षेत्रमा राम्रो काम ग¥यो भने नेपालमै पनि पैसा कमाउन सकिन्दो रहेछ । यहि पनि मासिक २५ देखि ३० हजारसम्म कमाउन सकिन्छ ।’ आफुले पाएको यो सम्मान समग्र सवारी चालकले पाएको भन्दै उनले आफुमा थप जिम्मेवारी र हौषला थपिएको बताए ।

१ श्रीमतिसहित शनिश्चरेमा बस्दै आएका कार्कीले यहि कमाइबाट २ छोराछोरीलाई बाल्मिकी एजुकेशन फाउण्डेशनमा पढाइरहेका छन् । उनी गाडीमा काम गर्ने मानिसलाई हेर्ने दष्टिकोण परिवर्तन हुनु पर्ने बताउँछन् । ‘हामी पनि मान्छे नै हो’ कार्कीले भने–‘पहिले पहिले गाडी चलाउनेलाई गुरूजी भन्ने गरिन्थ्यो । तर, अहिले ओ ड्राइभर भनेर तल्लो दर्जाको मान्छे जस्तो गरिन्छ ।’

काठमाडौं नैकापका गणेश श्रेष्ठ १८ वर्षदेखि यातायात क्षेत्रमा छन् । मकालु यातायात चलाउँदै आएका उनी पनि बुधबार उत्कृष्ट चालकका रूपमा सम्मानित भए । उनी पनि शुरुमा खलासी बनेर मात्र ड्राइभर भएका हुन् रे । सम्मान भएपछि आफ्नो विगतलाई सम्झदै श्रेष्ठले भने –‘अनेकन समास्याहरूकाबीच परिवार पाल्नलाई गाडी चलाइयो, इन्धन अभाव, बन्द हड्तालमा पनि कहिलै बिचलित भइएन । जसरी होस यात्रुलाई सही गन्तव्यमा पु¥याउनु आफ्नो मुख्य कर्तव्य सम्झेर काम गरियो । जसको प्रतिफल आज प्राप्त भएको छ ।

कक्षा ८ पढ्दा पढ्दै छोडेका उनले छोराछोरी भने कहिलै पनि पढ्नबाट बञ्चित गराएनन् । उनको जेठो छोरा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत छन् भने २ जनालाई बोर्डिङमै पढाउँदै आएका छन् । उनले पनि मधेश आन्दोलनलाई नजिकबाटै नियालेका छन् । ‘बन्द सधैँलाई बन्द भइदिए हुन्थ्यो’ ४४ वर्षिय श्रेष्ठले भने–‘कतिञ्जेल बन्दको मारमा पर्ने ? सवारी चालक कहिले बन्दकारीमा मारमा परिन्छ कहिले सरकारको मारमा । जहाँबाट भए पनि हामीलाई नै मार्ने काम भइरहेको छ ।’
उनी आफुहरुलाई स्वतन्त्र रुपमा गाडी चलाउने वातावरण सृजना गरिदिनका लागि सरकारसँग आग्रह गर्छन् ।

यता काँकरभिट्टाका ३३ वर्षिय राम राईको कथा भिन्न छ । सानैमा बुबा आमाको निधन भएकाले एक्लो भएका उनी कहिलै पनि विद्यालय जान पाएनन् । आफ्नो गुजारा चलाउनका लागि सानैदेखि यो क्षेत्रमा लागेका उनी शुरूमा काँकरभिट्टामा गाडी धुने काम ग¥थे । निकै समय गाडी धुने काम गरेका उनी विस्तारै गाडीको ढोकामा बसरे यात्रा गर्न थाले रे । विस्तारै चालक बन्नतिर लागेका उनी अन्नत ः एक सफल चालक भए । १६ वर्षदेखि निरन्तर यहि क्षेत्रमा काम गर्दे आएका राई अहिले नारायणघाट चल्ने गाडी चलाउँछन् । तारापुञ्ज बोर्डिङ स्कुलबाट एसएसली गराएका जेठो छोरा अहिले काँकरभिट्टा उच्च माविमा कक्षा १२ र कान्छो छोरा तारापुञ्जमै कक्षा ८ मा पढ्दैछन् । ‘ म अति खुसी छु’ राईले भने–‘आमा बुबा नभएकाले आफुले विद्याल नै नदेखे पनि छोरालाई आज बोर्डिङ पढाउन पाएको छु । उनीहरूले उच्च शिक्षासम्म पढाउने छु ।’

उनलाई चालकको विना गल्ती सजायको भागेदार हुनु पर्दा दुःख लाग्ने गरेको बताउँछन् । ‘गर्दै नगरेको गल्तीमा सजाय भोग्नु पर्छ ’ उनी भन्छन् –‘आफ्नै गतिमा गइरहेको गाढीमा मोटरसाइकल, साना गाढी आएर ठोकिए भने पनि हामी ठुलो गाढी चलाउनेकै गल्ति देख्ने गरिन्छ । यसको अन्त्य हुनु पर्छ । जसको गल्ति छ उसले सजाय पाउनु पर्छ ।’

काँकरभिट्टाका अर्का चालक राजु खड्का पनि उत्कृष्ट चालकको रूपमा सम्मानित भएका छन् । ३२ वर्षिय खड्का विर्तामोड चल्ने म्याजिक चलाउँछन् । उनी यो क्षेत्रमा बाध्यताले आएका रे । भन्छन्–‘आर्थिक अवस्थाका कारण पढ्न सकिएन । पढ्दा पढदै गाडीतिर लाग्यो ।’ उनी काँकरभिट्टा उच्च माविमा कक्षा ११ मा पढ्दै गर्दा आर्थिक अवस्थाका कारण पढ्न नसक्ने भएपछि यो क्षेत्रलाई रोजेका थिए । यसो त बीचमा उनी कतार पनि गए । ५ वर्ष विदेश बसेका उनी भनेजस्तो कमाइ हुन नसकेपछि नेपाल आए । पुनः विदेश जाने तयारी गरे पनि मेनपावरले पासपोर्ट नदिएपछि उनी यहि क्षेत्रमा लागे । उनले पनि छोरीलाई बोर्डिङ नै पढाएका छन् ।

आफ्नो जीवनलाई नै धरापमा राखेर दिन, रात, भोक, तिर्खाको कुनै प्रवाह नगरी यातायात चलाउने चालकहरूको हौषला बढाउनका लागि हरेक वर्ष सम्मान गर्ने गरिएको मेची वस व्यवसायी सङ्घका उपाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।सवारीका सफल सारथीलाई सम्मान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: