सवारी व्यवस्थापनमा सकस

  प्रकाशित मिति
३१ श्रावण २०७३, सोमबार १५:०५


dhund 3

विर्तामोड । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र मानिएको विर्तामोडमा व्यवस्थित सवारी पार्किङ बनाउने योजना अझै अघि बढ्न सकेको छैन ।

स्थायी पार्किङ गर्ने व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । अव्यस्थित सवारी चापका कारण दुर्घटनाको सम्भावना पनि उत्तिकै हुने गर्छ । मुक्तिचोक आसपासका क्षेत्रमा पार्किङ निषेध गरिएको छ । तर, पार्किङ गर्ने ठाउँ नहुँदा सडक किनारमै सवारी रोकेर राख्नु पर्ने बाध्यता सवारी चालकलाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक व्यवस्थापन गर्न अस्थायी रुपमा सवारी पार्किङको एरिया तोकेको छ । उत्तरमा शनिश्चरे ट्याक्सी स्टेण्ड, दक्षिणमा भद्रपुर बस स्टेण्ड, पूर्वमा पुरानो इलाम स्टेण्ड र पश्चिममा अधुवा खोला छेउमा मात्र पार्किङ गर्न पाइन्छ । तर, त्यसबाहेक अन्य स्थानमा सवारी रोकेमा ट्राफिक प्रहरीले कारवाही गर्छ । पार्किङ गर्ने निश्चित ठाउँ नहुँदा सवारी व्यवस्थापन गर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले बताए । पार्किङ व्यवस्थापनको काम नगरपालिकाले गर्ने भएकाले यसबारे छलफल भइरहेको उनले बताए । ‘पार्किङका बिषयमा नगरपालिकासँग कुरा भइरहेको छ,’ प्रहरी निरीक्षक गिरीले भने, ‘सम्भवत केही महिनाभित्रमा विर्तामोडमा पार्किङ व्यवस्थापन हुनेछ ।’

dhundiraj 1

विर्तामोड नगरपालिकाले भने सवारी पार्किङ व्यवस्थापन गर्ने जग्गा अहिलेसम्म भेटेको छैन । जग्गाको खोजी गरी सवारी व्यवस्थापन गर्ने सोच भइरहेको नगरपालिकाका प्रशासन प्रमुख मेघराज बाँस्तोलाले बताए । ‘नगरपालिका सवारी पार्किङ व्यवस्थापनमा गम्भीर छ,’ उनले भने, ‘यही बिषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको छ ।’

एकथरिले विर्तामोडको सवारी व्यवस्थापनमा राजनीतिक दलले चासो नदेखाउँदा समस्या भएको बताइरहेका छन् । नगरपालिकाको सर्वपक्षीय बैठकमा पार्किङको विषयमा बारम्बार कुरा उठिरहन्छ । तर, अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन । बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न जनशक्ति अभावमा पनि ट्राफिक प्रहरीले काम गरिहेको छ । ट्राफिकले जिल्लामा सवारी व्यवस्थापन गर्न अभियान नै सुरु गरेको प्रनि गिरीले बताए । उनका अनुसार बिर्तामोडमा सवारी पार्किङ गर्ने स्थान नहुँदा हाललाई अस्थायी रुपमा राजमार्गसँग जोडिएको खाली जग्गामा सवारी व्यवस्थापन गर्ने काम अघि बढाइएको छ । ती स्थानमा सवारी पार्किङ नगर्ने चालकलाई कारवाही गर्ने उनले बताए । सँगसँगै ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरण गर्न जनचेतनामूलक कार्यव्रmम सञ्चालन गरिरहेको छ । कार्यव्रmम अन्तरगत जिल्लाका बढी दुर्घटना हुने स्थानमा होर्डिङ बोर्ड राखिएको छ ।

काँकरभिट्टादेखि मावा खोलासम्मको क्षेत्रमा १५ वटाजति होर्डिङ बोर्ड राखिएको प्रनि गिरीले जानकारी दिए । ‘दुर्घटना न्युनीकरण गर्न जनचेतनामूलक कार्यव्रmम प्रभावकारी देखिएको छ,’ उनले भने, ‘त्यही भएर अभियानलाई निरन्तरता दिइरहेका छौँ ।’

जिल्लामा केही महिनायता सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको तथाङ्कमा उल्लेख छ । सवारी नियम उल्लङ्घन गर्नेबाट जरिवाना लिएर भन्दा पनि जनचेतनामूलक कार्यव्रmम गर्दा दुर्घटनामा कमी आएको गिरीको बुझाइ छ । गत असारमा झापामा १४ वटा सवारी दुर्घटना भएका छन्, त्यसमा ६ जनाको मृत्यु भएको छ । साउन ३० गतेसम्म २५ वटा सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको तुलनामा भने झापामा यो वर्ष सवारी दुर्घटनामा कमी आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: