भद्रपुर, ५ माघ । सशस्त्र प्रहरी बल २ नं.गणको नेतृत्व सम्हालन झापा आइपुगेका सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीले संगठनको जिम्मेवारी इमान्दारका साथ पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।बुधबार आफ्नो कार्य कक्षमा झापाका पत्रकारसित भेटघाट गर्दै गणपति कार्कीले गणमा रहँदा सीमा सुरक्षा, चोरी तस्करी, लागुऔषद नियन्त्रण गर्ने बताए ।
उनले खुला सिमाना रहेको झापामा व्यवस्थित बनाउन चोरी, तस्करी, लागुऔषध कारोवार जस्ता अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरी जनमैत्री वातावरणका लागि काम गर्ने प्रष्ट पार्दै तेस्रो लहरको कोभिड १९ संक्रमण नियन्त्रणका लागि संगठनले पाएको सीमा व्यवस्थापन लगायत स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने जिम्मेवारी पूर्ण पालना गर्ने बताएका छन् ।
कार्कीले निर्माणका चरणमा रहेका ६ वटा बीओपी भवन पूरा गर्ने, भारतसितको १४४ किमी खुला सिमाना व्यवस्थापनमा समेत ध्यान केन्द्रित गर्ने बताए ।
गणपति कार्कीले कचनकवलको जग्गा, गौरीगञ्जको वाल निर्माण र पाठामारीको सीमाका विषयमा भएका विवादलाई भारतसँग बार्ता गरेर समस्या समाधान गरिने बताए ।
कार्की सशस्त्र बलको कैलाली शिक्षालयबाट सरूवा भएर झापा आएका हुन् ।