सहकारीभित्रको पुरुषत्व

  प्रकाशित मिति
१२ जेष्ठ २०७५, शनिबार १३:४५


दामोदर ढुङ्गेल

पुरुष र पुरुषत्व अलग शब्द हुन् । पुरुषत्वले पुरुषमा रहने गुण पुरुषार्थलाई जनाउँछ । हाम्रा सहकारी संस्थाका सदस्य पुरुष र महिला करिब बराबरको अवस्थामा रहको पाइन्छ । तर, नेतृत्वको सन्दर्भमा हेर्ने हो भने महिलाको अवस्था अत्यन्तै न्यून छ । त्यसै विषयमा केन्द्रित यो लेखमा सहकारीमा पुरुष हावी भएको अवस्थालाई पुरुषत्व भनिएको हो । अनि पुरुषत्व नै पुरुषवाद निर्माणको आधार भएकाले पुरुषत्व शब्द प्रयोग गरिएको छ ।

“समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका, एउटा निश्चित भौगोलिक सीमाभित्र बसेका समान कार्यमा संलग्न मानिसहरुले आपसी हितका लागि आर्थिक कारोवार गर्न स्थापना गरेको संस्था नै सहकारी हो ।”

समाजशास्त्रीय दृष्टिकोणले हेर्दा सहकारिता सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्ने साधन हो । साधनको काम साध्य प्राप्त गर्न सहयोग गर्नु हो । सामाजिक साध्य प्राप्त गर्न मानिसले यस्ता साधन प्रयोग गर्दछन् । तर साध्य जतिसुकै पवित्र भए पनि साधनको प्रयोग दुई तरिकाले हुने गर्छ ः एक नीति निर्माण र कार्यान्वयनमा सबैलाई सहभागी गराइ सर्वपक्षीय हितलाई ध्यान दिएर, दुई सर्वपक्षीय हितका नाममा खास वर्ग वा जातिको नेतृत्वमा उनीहरुलाई मात्र फाइदा पुर्याउन ।

सहकारीमार्फत आर्थिक र सामाजिक रुपान्तरणका सन्दर्भमा थुप्रै बहसहरु भए र भइरहेका छन् । यसबाट उत्कृष्ट उपलब्धि पनि प्राप्त भएका छन् । त्यसैले सहकारीलाई अर्थतन्त्रको एउटा महत्त्वपूर्ण स्तम्भका रुपमा स्वीकार गरिएको छ । खासगरी महिलाहरुको सशक्तीकरणका लागि सहकारीले विशिष्ट भूमिका खेलेको छ ।

मानवीय अस्तित्वलाई निरन्तरता दिन महिलाको विशिष्ट प्राकृतिक भूमिका भए पनि पूर्वीय समाजमा महिलाहरुलाई आजपर्यन्त घरभित्रदेखि समाज, र राष्ट्रका महत्त्वपूर्ण जिम्मेवारीमा खासै स्थान दिइएको छैन । त्यति मात्रै होइन उनीहरुको योग्यतालाई नै पत्याइएको छैन ।

महिला सशक्तीकरणका सन्दर्भमा सहकारीको नीति पवित्र छ, यसको कार्यान्वयन पनि नीतिअनुरुप भएको छ । तर, यति हुँदाहुँदै पनि लुप्त रुपमा किनकि कतिपय सन्दर्भमा अज्ञात जस्तो लाग्ने गरी हाम्रो देशका सहकारीमा महिलाको उपस्थितिलाई अध्ययन गर्दा साधनको प्रयोग उल्लिखित दोस्रो प्रतीत हुन्छ । सहकारी संस्थाको नीति निर्माण गर्ने निकाय सञ्चालक समितिमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको छ । कार्यान्वयन पनि भएको छ ।

तर सहकारीको नेतृत्व गर्ने पद अध्यक्ष (महिलाहरुले मात्र सञ्चालन गरेका सहकारी ‘महिला सहकारी’बाहेक) अधिकांशमा भर्खर स्थापना भएकादेखि २५ वर्षको इतिहास बनाएकासम्ममा पनि पुरुष नै रहेका छन् । जिल्लादेखि राष्ट्रिय स्तरका तालिम प्रशिक्षक पनि पुरुष नै रहेका छन् भने अन्तराष्ट्रिय स्तरका तालिममा सहभागी हुने पनि अधिकांश पुरुष नै रहेका छन् ।

यी त केही उदाहरण मात्र हुन् । नेपालमा रहेका ३३ हजारभन्दा बढी सहकारी, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी संघ, नेफ्स्कुन जस्ता सहकारी आबद्ध संस्थाहरुमा महिलाको अवस्था अध्ययन गर्ने हो भने सञ्चालक समितिमा सहभागिता त ३३ प्रतिशत देखिएला तर अन्य व्यवहारिक पक्षमा परिणाम लज्जास्पद भेटिन्छ । मुख्य कारण पुरुषवाद हो ।

हामी कहाँ नारीवाद शब्द बडो प्रचलित छ । समाजको कुनै पनि क्षेत्रमा एउटी महिलाको उपस्थिति हुनेबित्तिकै उनी नारीवादी र उनको व्यवहारलाई पुरुष प्रधान समाजले नारीवाद घोषणा गर्छ । पुरुष प्रधान समाजको दृष्टिमा महिला सामाजिक अभियन्ताहरु नारीवादी हुन्छन् तर उही कार्यमा लागेका पुरुषहरु भने नेता हुन्छन् । विभेद व्यवहारमा मात्र होइन शब्दमै छ । पुरुषवाद शब्द नै प्रचलनमा छैन ।

वास्तवमा पुरुषवाद पुरुषत्व हो । बलियो, आँटी, निडर हुनु पुरुषत्व हो भने लजालु, कोमल, कमजोर महिलाका मात्र गुण हुन् । यी विशेषता सदयौँदेखि बाल्यकालमै बालक र बालिकामा मस्तिष्कमा बिउ उमारे जसरी उमारिएको हुन्छ । जब वयस्क अवस्था हुन्छ अनि ती विशेषता यति जब्बर हुन्छन् कि पुरुष पुरुषत्व देखाउनमा अभ्यस्त हुन्छन् भने महिला कमजोर बन्छन् ।

यस सन्दर्भमा संसारमा पहिलो भन्ने उदाहरण हेरे पुग्छ । चन्द्रमामा पुग्ने, सगरमाथा चढ्ने, आविस्कारकहरु पुरुष छन् । अधिकांश शासन गर्नेहरु, सेना र प्रहरीका उच्च पदमा सबै पुरुष मात्र छन् । त्यति मात्र होइन हिन्दू, मुस्लिम, शिख, जैन, बौद्ध, व्रिmस्चियन सबै धर्मका प्रतिपादक पुरुष छन् । हाम्रो परम्पराले निर्माण गरेको पुरुष र महिलाबिचको सारभूत भिन्नताले हाम्रा सामाजिक संरचना र व्यवहार निर्माण र निर्धारण गरेका छन् । शक्तिशाली हुनु, एकाधिकार कायम राख्नु र प्रभूत्वका लागि सङ्घर्ष गरिरहनु पुरुषत्व हो । पुरुषत्वको रक्षाका लागि निरन्तर भएको सङ्घर्षबाट पुरुषत्व वर्गको रुपमा निर्माण भएको छ । पुरुषका लागि पुरुषत्व पहिचान हो । त्यसैको प्रभाव सहकारी क्षेत्रमा परेको देखिन्छ । जसको उदाहरण उल्लेख भइसकेको छ ।

पुरुषवाद शब्द प्रचलनमा नभए पनि पुरुषत्वले निर्माण गरेको प्रभूत्व हटाउन पुरुष शासक र महिला शासित हुन् भन्ने दृष्टिकोण त्याग्न सक्नुपर्छ । त्यसपछि सहकार्य र समानुभूति निर्माण गरेर अघि बढ्नु पर्छ । समानता निर्माण गर्न समतामूलक कार्यव्रmम ल्याउनु पर्छ । यसका लागि पहिलो सर्त अवसर हो । नेतृत्व गर्ने सन्दर्भमा महिलाहरुलाई निरन्तर पुरुषहरुले सहयोग गर्नुपर्छ र उनीहरुमा आत्मविश्वास सिर्जना गर्नुपर्छ । प्रत्येक सहकारी संस्थाहरुले अब महिलाहरुको नेतृत्व विकासका लागि पुरुषत्व र त्यसले निर्माण गरेको पुरुषवादी सोच हटाएउनु पर्छ । संस्थाको नीति निर्माणमा र नेतृत्वमा उनीहरुलाई स्वीकार गर्न सक्नुपर्छ ।

(मेचीनगर साकोस स्मारिकाबाट साभार गरेर लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
इतिहास अध्ययनमा ‘नीपजन र नेपाल’

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: