विर्तामोड । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था झापाले जुझारु एवम् क्रियाशील पत्रकार लक्ष्मी उप्रेतीलाई यस वर्षको उत्कष्ट सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
संस्थाको ५ औँ वार्षिक साधारण सभाको अवसर पारेर शनिबार विर्तामोडमा एक समारोहविच सो पुरस्कार प्रदान गरेको हो ।
लामो समयदेखि व्यवसायिक निष्ठाका साथ पत्रकारितामा समर्पित पत्रकार उप्रेती सूर्योदय टेलिभिजन र जनसंसद् दैनिकमा आवद्ध छन् ।
पत्रकारिताको माध्यमबाट सहकारीका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उप्रेतीलाई नगद पुरस्कार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको हो ।
गतवर्ष संस्थाले सहकारीका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरे अनुसार पहिलो पटक उप्रेतीलाई पुरस्कृत गरेको छ ।
सोही अवसरमा उत्कृष्ट बचत कर्ता कमला शिवाकोटी, उत्कृष्ट ऋणी हेमबहादुर कार्की, २०७३ सालको एसईई परीक्षामा सदस्यका सन्तानमध्ये उत्कृष्ट अङ्क ल्याउने सन्देश बस्नेत र ज्येष्ठ सदस्य पुष्पबहादुर बस्नेतलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि व्यवस्थापिका संसद् एवम् अर्थ समिति सदस्य केदारप्रसाद सञ्जेल थिए ।
उनले सम्बोधनको क्रममा मुलुकलाई समृद्ध बनाउने अभिभारा हरेक शिक्षकको काँधमा भएको धारणा व्यक्त गरेका छन् ।
समाजलाई सहि बाटोमा डोहोर्याउने जिम्मेवारी शिक्षकको भएको उल्लेख गर्दै उनले सहकारीको माध्यमबाट शिक्षकहरुले आर्थिक समृद्धिका लागि गरेको प्रयासको सराहना गरे ।
संस्थाका अध्यक्ष नरायणप्रसाद गौतमले कार्यक्रमको सभापतित्व गर्दै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सांसद् हरिबहादुर राजवंशी, क्षेत्रीय सहकारी सङ्घ क्षेत्रनम्बर २ का सदस्य रोहित भट्टराई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका झापा अध्यक्ष कृष्णप्रसाद अधिकारी, सङ्गठनका पूर्व केन्द्रीय सदस्य खोदनाथ चापागाईलगायतले बोलेका थिए ।
उपाध्यक्ष हरिप्रसाद न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य तारादेवी विश्वकर्माले गरेकी थिइन् ।